अमेरिकाले इरानमा आक्रमण रोकेसँगै तेलको मूल्यमा भारी गिरावट

इरानमा १३ दिनसम्म आक्रमण गरेपछि अमेरिकाले शुक्रबार सैन्य कारबाही रोकेको थियो ।

श्रावण ११, २०८३

एपी

Oil prices plummet after the US halts attack on Iran

लण्डन — अमेरिकाले इरानमा आक्रमण रोकेसँगै हर्मुज जलमार्ग पुन खुल्ने आशा पलाएको छ । यससँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ ।

सोमबार दुवै ब्रेन्ट कच्चा तेलको मूल्य सात प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल न्यूनतम ९० अमेरिकी डलरभन्दा तल झरेको थियो । यसअघि गत साता  ब्रेन्ट कच्चा तेलको मूल्य मे महिनायता पहिलोपटक प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको थियो । 

इरानमा १३ दिनसम्म आक्रमण गरेपछि अमेरिकाले शुक्रबार सैन्य कारबाही रोकेको थियो । अमेरिकी राष्ट्रपतिका विशेष दूतले राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि केही समय र अवसर दिएको बताएका छन् । 

यसको प्रतिक्रियामा इरानले पनि क्षेत्रीय मुलुकमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ । घटनाक्रमले खाडी क्षेत्रमा पानीजहाजको आवतजावत तथा तेल उद्योगलाई केही राहत दिएको छ ।

इरानले हर्मुजको ओमानी जलक्षेत्र हुँदै जाने पानीजहाजमाथि आक्रमण गरेपछि तनाव थप चर्किएको थियो । त्यसपछि कमजोर युद्धविराम भङ्ग हुँदै यसै महिना अमेरिका र इरानबीच पुनः सैन्य गतिविधि सुरु भएको थियो ।

तनावका कारण वासिङ्टन र तेहरानबीचको कूटनीतिक प्रयास प्रभावित भएको थियो । द्वन्द्व हर्मुजभन्दा बाहिरसमेत फैलिँदा इरान समर्थित हुथी विद्रोहीले लालसागर प्रवेश गर्ने प्रमुख मार्ग बाब अल–मन्देब जलक्षेत्रमा साउदी पानीजहाजमाथि आक्रमण गरेका थिए ।

यद्यपि, लाल सागरमा पानीजहाजको आवतजावत जारी रहेको समाचारले शुक्रबार लगानीकर्ताको चिन्ता केही कम गरेको छ । 

हर्मुजको व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति भएको इरानले आइतबार बताएको छ । 

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीका अनुसार वार्ता दुवै देशको सार्वभौम अधिकारको सम्मान गर्दै हर्मुजबाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने त्यसका लागि संयन्त्र निर्माण गर्ने विषयमा केन्द्रित थियो ।

यसैबीच, चीनको पहलमा पाकिस्तानले अमेरिका–इरानबीच शान्ति वार्ता पुनः सुरु गराउने प्रयास गरिरहेको एक प्रतिवेदनमा उल्लेख छ ।

नेसनल अस्ट्रेलिया बैङ्ककी स्याली अल्डले सप्ताहन्तमा मध्यपूर्वमा देखिएका घटनाक्रम सकारात्मक दिशामा अघि बढेको बताइन् ।

प्रतिब्यारेल १०० डलरभन्दा माथिको तेल मूल्यले दुवै पक्षलाई तनाव कम गर्ने दिशामा अघि बढ्न प्रेरित गर्ने धारणा बलियो बनेको उल्लेख गरिन् । 

तेलको मूल्य घटेसँगै मुद्रास्फीति पुनः बढ्ने तथा ब्याजदरमा थप वृद्धि हुने चिन्ता केही कम भएको छ । यसले अधिकांश एसियाली सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । 

यद्यपि, कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको तीव्र वृद्धि दिगो हुने–नहुने तथा त्यस क्षेत्रमा भइरहेको ठूलो लगानीको प्रतिफलबारे लगानीकर्ताको चिन्ता कायमै छ । प्रविधि कम्पनीका सेयरमा यसको प्रभाव बढी देखिएको छ ।

एपी

Link copied successfully