सन् २०२४ को लोकसभा चुनावमा सम्बलपुरबाट भारी बहुमतले विजयी भएका उनी मोदी सरकारको तेस्रो कार्यकालमा पनि शिक्षामन्त्रीको पदमा कायम थिए ।
नयाँ दिल्ली — आज सत्ता र राजीनामाको केन्द्रमा रहेका धर्मेन्द्र प्रधानले नै करिब तीन दशकअगाडि भुवनेश्वरमा प्रश्नपत्र लीकविरुद्धको विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए ।
यो सन् १९९६ ताकाको कुरा हो, जब धर्मेन्द्र प्रधान अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय सचिव थिए । त्यसबेला ओडिशामा कक्षा १२ को बोर्ड परीक्षाको प्रश्नपत्र चुहावट भएको विरोधमा २७ वर्षीय प्रधानको नेतृत्वमा करिब २,००० भन्दा बढी विद्यार्थीहरू सडकमा उत्रिएका थिए ।
तत्कालीन मुख्यमन्त्री जेबी पटनायकको सरकारविरुद्ध भएको उक्त प्रदर्शन हिंसात्मक बनेको थियो । त्यसक्रममा सरकारले खटाएको र्यापिड एक्सन फोर्ससँगको झडपमा प्रधान स्वयंम् गम्भीर घाइते भएका थिए । उनले लामो समय अस्पतालमा बिताए ।
त्यो सडक संघर्षले अन्ततः ओडिशा सरकारलाई परीक्षा समितिमा व्यापक सुधार गर्न बाध्य बनाएको थियो । विद्यार्थी राजनीतिबाट उदाएका प्रधान आरएसएसको पृष्ठभूमिबाट आएका हुन् ।
उनका बुबा देबेंद्र प्रधान पनि अटल बिहारी वाजपेयीको सरकारमा मन्त्री भइसकेका नेता हुन् । चार दशक लामो राजनीतिक यात्रामा प्रधानले विधायक, युवा मोर्चाका राष्ट्रिय अध्यक्ष, लोकसभा सांसद र पेट्रोलियमदेखि शिक्षा मन्त्रालयसम्मको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।
सन् २०२४ को लोकसभा चुनावमा सम्बलपुरबाट भारी बहुमतले विजयी भएका उनी मोदी सरकारको तेस्रो कार्यकालमा पनि शिक्षामन्त्रीको पदमा कायम थिए ।
