उनले सामाजिक सञ्जाल एक्समार्फत केन्द्रीय मन्त्री जे.पी. नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनसन तोडेको जानकारी दिएका छन्।
काठमाडौँ — सामाजिक अभियन्ता सोनम वाङ्चुकले २६ दिनपछि आफ्नो अनसन तोडेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत केन्द्रीय मन्त्री जे.पी. नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनसन तोडेको जानकारी दिएका छन्।
वाङ्चुकका अनुसार यसअघि विभिन्न राजनीतिक दलका ६५ सांसदले पत्र लेखेर उनलाई अनसन अन्त्य गर्न आग्रह गरेका थिए। उनले लामो छलफल, केही सर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनसन अन्त्य गर्ने निर्णय गरिएको बताएका छन्।
उनले ती सर्तबारे चाँडै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिने जनाउँदै सबैलाई कुनै पनि प्रकारको हिंसा हुन नदिन र यस विषयमा सतर्क रहन आग्रह गरेका छन्।
नीट–यूजी प्रश्नपत्र चुहावटको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै आएका छन्। यही मागको समर्थनमा वाङ्चुक विगत २६ दिनदेखि अनसनमा बसेका थिए।
