शिक्षा मन्त्री प्रधानको राजीनामा आन्दोलनको बटमलाइन रहेको सीजेपीले बताउँदै आएको छ
नयाँ दिल्ली — कक्रोच जनता सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्का र सौरभ दासले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग शुक्रबार उच्चस्तरीय भेटवार्ता गरेका छन् ।
सरकारले नीट परीक्षाका कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थीहरू विरुद्ध कुनै पनि कानुनी कारबाही नगरिने मागमा सैद्धान्तिक सहमति जनाएको उनीहरुले बताए ।
त्यस्तै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागको सम्बन्धमा सरकारले शनिबार दिउँसोसम्मको समय मागेको उनले बताए । योग्यता तथा प्रवेश परीक्षा (नीट) प्रश्नपत्र चुहावटकाण्डलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै र शिक्षा मन्त्री प्रधानको राजीनामाको अडानसहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ।
'मन्त्री प्रधानले राजीनामा दिनुपर्छ वा बर्खास्त हुनुपर्छ,' राङ्काले पत्रकारहरूसँग भने, 'हामीले यसबारे सरकारसँग स्पष्ट कुरा गरेका छौँ । यो मागमा जवाफ दिन सरकारले भोलि दिउँसोसम्मको समय मागेको छ ।' मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिएमा आन्दोलन झनै कडा र विशाल हुने चेतावनी समेत उनले दिएका छन् ।
राङ्काले सरकारले छिट्टै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई बर्खास्त गर्नेमा सीजेपी आशावादी रहेको बताएका छन् । साथै, केन्द्र सरकारसँग अर्को चरणको बैठक शनिबारका दिन तय भएको जानकारी पनि उनले दिएका छन् ।
त्यसैगरी, सीजेपीका संस्थापक अभिजीत दिपकेले सरकारले राति नै प्रदर्शनकारीहरूलाई पक्राउ वा नजरबन्द गर्न सक्ने आशंका व्यक्त गरेका छन् । शनिबार र आइतबार आन्दोलनमा अझ ठूलो जनसमूह सहभागी हुने अपेक्षा गरिएकोले सरकारले त्यसअघि नै नेतृत्वमा रहेकाहरुलाई पक्राउ गर्नसक्ने आशंका उनले गरे ।
सोनम वाङ्चुकको अनशन समाप्त
यसअघि पर्यावरण अभियन्ता सोनम वाङ्चुकले पनि शिक्षा मन्त्री प्रधानले बिहीबार राति १२ बजेपछि आफ्नो २६ दिने आमरण अनशन अन्त्य गरेका थिए । सरकारले नीट प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका विद्यार्थीलाई क्षतिपुर्ति दिने र गत सोमबार ‘संसद् चलो’ मार्चका क्रममा प्रहरीसँग भएको झडपमा संलग्न विद्यार्थीहरूविरुद्ध कानुनी कारबाही नगर्ने लिखित आश्वासन दिएको उनले बताएका छन् ।
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले फास्ट-ट्र्याक कोर्टको स्थापना गरेका थिए । तर शिक्षा मन्त्री प्रधानको राजीनामा आन्दोलनको बटमलाइन रहेको सीजेपीले बताउँदै आएको छ ।
