डीआरसीको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म इबोलाको पछिल्लो प्रकोपमा दुई हजार ४७३ संक्रमित भएको पुष्टि भएको छ।
काठमाडौँ — प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको पछिल्लो इबोला महामारीबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) का महानिर्देशक जियन कासेयाले बुधबार घानामा आयोजित स्वास्थ्य सम्मेलनमा मे महिनामा इबोला भाइरसको बुण्डिबुग्यो प्रजाति देखा परेपछि हालसम्म एक हजार ३१ जनाको मृत्यु पुष्टि भएको जानकारी दिए।
'यी मानिसहरूको मृत्यु भइरहेको छ,' कासेयाले भने, 'किनकि हामीसँग खोप छैन, औषधि छैन र पर्याप्त आर्थिक स्रोत पनि छैन।' विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार छिमेकी युगान्डामा पनि इबोला भाइरसका कारण दुई जनाको मृत्यु भएको छ
डीआरसीको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म इबोलाको पछिल्लो प्रकोपमा दुई हजार ४७३ संक्रमित भएको पुष्टि भएको छ। हाल कम्तीमा ७३७ जना बिरामीलाई आइसोलेसनमा राखिएको वा अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ
डीआरसीको उत्तरपूर्वी इटुरी प्रान्तमा लगातार केही जनाको मृत्यु भएपछि गत मे १५ मा इबोला प्रकोप घोषणा गरिएको थियो । त्यसयता इबोला निकै तिव्र गतिमा फेलिएको छ ।
सन् २०१३-२०१६ को घातक इबोला महामारीभन्दा पनि यसपटक प्रकोप चाडैं फैलिएको छ । त्यसबेला तीन वर्षे अवधिमा ११ हजार मृत्यु र कम्तिमा २८ हजार संक्रमित भएका थिए । त्यसबेला मृतक संख्या १ हजार पुग्न आठ महिना लागेको थियो ।
यसपटक १० हप्ताभन्दा कम समयमै कंगोमा १ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
