सीजेपीको आन्दोलनलाई समर्थन गर्दै पछिल्ला २५ दिनदेखि वाङ्चुक अनशनमा छन् ।
नयाँ दिल्ली — अनशनरतः पर्यावरण तथा सामाजिक अभियन्ता सोनाम वाङ्ग्चुकले केन्द्र सरकारले आफूलाई केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको विषयमा विचार गर्ने आश्वासन दिएको दाबी गरेका छन् ।
आन्दोलनरत विद्यार्थी तथा प्रदर्शनकारीहरूमाथि कुनै पनि प्रकारको कानुनी वा दण्डात्मक कारबाही नगरिने स्पष्ट र लिखित प्रतिबद्धता नआएसम्म आफ्नो आमरण अनसन नरोकिने अडान वाङ्गचुकले कायमै राखेका छन् ।
अस्पतालमा आफ्नो स्वास्थ्य अवस्था बुझ्न पुगेका मन्त्रीहरु जेपी नड्डा र जीतेन्द्र सिंहसँगको भेटमा आफुले नीट प्रश्नपत्र चुहावटबारे जवाफदेहिता माग गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, परीक्षा प्रश्नपत्र चुहावट भएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने विषयमा पनि सरकार गम्भीर बन्ने आश्वासन प्राप्त भएको उनले बताए ।
‘यो आन्दोलनमा सहभागी भएका कुनै पनि युवा प्रदर्शनकारीविरुद्ध कुनै किसिमको दण्डात्मक वा प्रतिशोधात्मक कानुनी कारबाही नगरिने स्पष्ट ग्यारेन्टी दिइयोस् । म सरकारसँग जोडदार आग्रह गर्दछु,’ वाङ्ग्चुकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘ उनीहरूको एकमात्र अपराध भनेको एउटा निष्पक्ष र उत्तरदायी शिक्षा प्रणालीका लागि आवाज उठाउनु मात्रै हो ।’
सीजेपीको आन्दोलनलाई समर्थन गर्दै पछिल्ला २५ दिनदेखि वाङ्चुक अनशनमा छन् । दिल्ली उच्च अदालतको आदेशपछि प्रहरीले उनलाई मेदान्त अस्पतालमा सारेको छ ।
सीजेपीका नेता तथा कार्यकर्ताहरुले उनलाई अनशन फिर्ता लिन आग्रह गरेका छन् । सीजेपीका संस्थापक अभिजित दिपकेले वाङ्चुकलाई अनशन फिर्ता लिन आग्रह गर्दै आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।
