विश्वभरका जहाजहरूको आवतजावत ट्र्याक गर्ने संस्था मरीन ट्राफिकका अनुसार हुथीको घोषणापछि साउदी अरेबियाबाट छुटेका दुईवटा तेल ट्याङ्करहरूले आफ्नो बाटो परिवर्तन गरेका छन् ।
दुबई — युद्ध चर्कदैं जाँदा मंगलबार इरान निकट यमनको सिया विद्रोही समूह हुथीले रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने बाब अल–मन्देब जलमार्गमा नाकाबन्दी घोषणा गरेको छ ।
हुथीका प्रवक्ताले एक भिडियो वक्तव्य जारी गर्दै यमनको राजधानी सानास्थित प्रमुख विमानस्थलमा साउदी अरेबियाले गरेको हवाई आक्रमणको बदलास्वरूप यो कदम चालिएको बताएका छन् ।
विश्वभरका जहाजहरूको आवतजावत ट्र्याक गर्ने संस्था मरीन ट्राफिकका अनुसार हुथीको घोषणापछि साउदी अरेबियाबाट छुटेका दुईवटा तेल ट्याङ्करहरूले आफ्नो बाटो परिवर्तन गरेका छन् ।
यसले लाल सागरमा जोखिम उत्पन्न गराएको मरिन ट्राफिकले जनाएको छ । बाब अल मन्देब जलमार्गले लाल सागरलाई अडेनको खाडी र हिन्द महासागरसँग जोड्छ । व्यापारिक रुपमा यो संसारको चौथो ठूलो जलमार्ग हो ।
यसै महिना उक्त विमानस्थलमा इरानी अधिकारी सवार भएकै बेला साउदीले आक्रमण गरेको हुथीको आरोप छ। हुथी विद्रोहीहरूले साउदी अधिराज्यलाई एक अपराधी शासकको संज्ञा दिएका छन् । साउदीले नाकाबन्दीको कडा शब्दमा भत्सर्ना गरेको छ।
विश्वकै ठूलो तेल उत्पादक देश साउदी अरेबियाले दैनिक लाखौँ ब्यारेल कच्चा तेल निर्यातका लागि यही मार्ग प्रयोग गर्दै आएको छ। अमेरिका–इरान युद्धका कारण हर्मुज जलमार्गमा अवरोध भएपछि साउदीले बाब अल–मन्देब हुँदै आफ्नो तेललाई बाहिरी विश्वमा पठाउँदै आएको छ ।
इरानमा जारी युद्धका कारण विश्व इन्धन बजार पहिले नै अस्थिर बनिरहेका बेला हुथी समूहको यो नाकाबन्दीले उर्जाको मूल्य थप बढाउने निश्चित छ ।
जलमार्गमा बढ्दो तनावबीच साउदी अरेबिया, इराक र संयुक्त अरब इमिरेट्स (यूएई) ले समुद्रको सट्टा सडकबाटै तेल ओसारपसार गर्ने विकल्पमा गृहकार्य सुरु गरेका छन् ।
यसका लागि नयाँ तेल पाइपलाइन निर्माण गर्ने वा भइरहेका पाइपलाइनहरूको क्षमता विस्तार गर्ने विषयमा यी देशहरूबीच छलफल भइरहेको छ । यद्यपि, यस्ता विशाल पाइपलाइन परियोजनाहरू निर्माण सम्पन्न भई सञ्चालनमा आउन वर्षौँ लाग्न सक्ने विज्ञहरू बताउँछन् ।
