लेबनानी सेनाले दक्षिणका तीन क्षेत्रको सुरक्षा जिम्मा लिदैं

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो उपलब्धिलाई गत साता इटलीको रोममा इजरायल र लेबनानबीच भएको छलफलको प्रत्यक्ष परिणामका रूपमा व्याख्या गरिएको छ।

श्रावण ५, २०८३

एजेन्सी

Lebanese army takes over security in three southern regions

बेरुत — लेबनानको सेनाले दक्षिण लेबनानका तीनवटा गाउँहरूमा सुरक्षाको पूर्ण जिम्मेवारी सम्हाल्ने तयारी गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले सोमबार पहिलो चरणमा फ्रौन, श्रीफा र जावतार अल-घर्बिया गाउँहरूमा अमेरिकाको मध्यस्थतामा बनेको फ्रेमवर्क सम्झौता कार्यान्वयन गरिने जनाएको थियो । 

नयाँ योजनाअनुसार इजरायली सेनाले दक्षिण लेबनानका आफूले कब्जा गरेका क्षेत्रहरूबाट चरणबद्ध रूपमा पछि हट्ने तयारी गरेको छ।

इजरायली फौज फर्किएपछि लेबनानी सेनाले त्यस क्षेत्रको सुरक्षा व्यवस्था आफ्नो हातमा लिनेछ । त्यस्तै, सशस्त्र समूह हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने कार्यको समेत रेखदेख गर्नेछ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो उपलब्धिलाई गत साता इटलीको रोममा इजरायल र लेबनानबीच भएको छलफलको प्रत्यक्ष परिणामका रूपमा व्याख्या गरिएको छ।

त्यस्तै, अमेरिकाले यो सम्झौतालाई सफल निष्कर्षमा पुर्‍याउन दुवै पक्षसँग नजिक रहेर काम गरिरहने प्रतिबद्धता समेत जनाएको छ।

इजरायलले पनि यो पाइलट कार्यक्रम सुरु भएको पुष्टि गर्दै आफ्नो सेनाले अमेरिका र लेबनानसँग समन्वय गरिरहेको जनाएको छ।

लेबनान, इजरायल र अमेरिकाबीच ६ चरणको प्रत्यक्ष वार्ता पछि गत जुन २६ मा यो सम्झौताको ढाँचा तय भएको थियो।

तर सम्झौताका बाबजुद सीमा क्षेत्रमा तनाव भने अझै पूर्ण रूपमा साम्य भइसकेको छैन।

इजरायलले लेबनानमा आफ्ना सैन्य आक्रमणहरू जारी राखेको छ भने हिजबुल्लाहले पनि उत्तरी इजरायललाई लक्षित गरी रकेट प्रहार गरिरहेको छ।

इरानको समर्थन पाएको हिजबुल्लाहले लेबनान र इजरायलबीचको पछिल्लो यो सम्झौतालाई अस्वीकार गरको छ। इजरायलले कुनै पनि शर्त बिना लेबनान नै छाड्नुपर्ने  अडान उसले राख्दै आएको छ ।सहमतिअनुसार लेबनानी सशस्त्र बलले इजरायलले खाली गरेका क्षेत्रहरूको सुरक्षा जिम्मा सम्हाल्दै ती स्थानहरू हिजबुल्लाहका हतियार तथा सैन्य पूर्वाधारमुक्त भइसकेको प्रमाणित गर्नुपर्नेछ।

एजेन्सी

Link copied successfully