प्रधानमन्त्री निवास घेराउमा उत्रिएका राहुल गान्धी र अखिलेश यादवसहितका नेता पक्राउ

मंगलबार दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका गान्धीसहितका नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

श्रावण ५, २०८३

कान्तिपुर संवाददाता

Leaders including Rahul Gandhi and Akhilesh Yadav who surrounded the Prime Minister's residence were arrested

काठमाडौँ — भारतका प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सांसद राहुल गान्धीसहित नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका गान्धीसहितका नेतालाई प्रहरीले पक्राउ गरेको हो । 

सोमबारको प्रदर्शनका क्रममा सरकारले विद्यार्थीहरूमाथि बर्बरतापूर्ण दमन गरेको भन्दै गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेसहितका वरिष्ठ नेताहरू धर्नामा बसेका थिए । त्यस्तै धर्नामा रहेका समाजवादी पार्टीका अध्यक्ष एवं उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव र सांसद डिम्पल यादवसहितका नेताहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गान्धीले सामाजिक सञ्जाल एक्समा समेत लेखेका थिए, 'हिजो युवा विद्यार्थीहरूमाथि गरिएको क्रुर दमनबारे प्रधानमन्त्री मोदीसँग जवाफ माग्न हामीले उहाँको निवासतर्फ मार्च गरेका छौँ । सरकार न त यसको जिम्मेवारी लिन चाहन्छ, न त यस विषयमा संसद्‍मा छलफल गर्न नै तयार छ । भारतका युवाको भविष्य बर्बाद गर्ने प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।' 

गान्धीलाई गिरफ्तार गर्दा लछारपछार गरिएको भिडियो कांग्रेसले सामाजिक सञ्जालमा पोस्ट गरेको छ । कांग्रेस महासचिव रणदीप सुर्जेवालाले सरकारले विद्यार्थीविरुद्ध दमन, गुण्डागर्दी र अश्रुग्यास हानेको बताएका छन् । उनले भनेका छन्,'त्यही दमनको विरोधमा आज राहुल गान्धीसहित कांग्रेस कार्यकर्ताले प्रधानमन्त्री आवास घेराउ गरेका थिए । जुन प्रकारका यातना दिइँदै छन्, त्यसले विद्यार्थीहरूको आवाज रोकिन्छ भन्ने प्रधानमन्त्री नरेन्द्र मोदीले सोचेका छन् भने त्यो भ्रम हो । किनभने यो नयाँ क्रान्तिको सुरुआत हो ।' 

कान्तिपुर

Link copied successfully