मौलिक नेपाली पोसाकमा सजिएका सहभागी, देउडा, झ्याउरे, साकेला, लाखेनाचलगायतका सांस्कृतिक प्रस्तुतिले दर्शकको ध्यानाकर्षित गरेका थिए।
What you should know
एडिनबरा — संयुक्त अधिराज्य स्कटल्यान्डको राजधानी एडिनबराको केन्द्रमा रहेको प्रिन्सेस स्ट्रिट गार्डेनस्थित रोस ब्यान्डस्ट्यान्ड परिसर दोस्रो नेपाली मेलाले सम्पन्न भएको छ । सोमबार नेपाली कला, संस्कृति र परम्पराले भरिएको कार्यक्रमका बीच मेला भएको हो । विश्वप्रसिद्ध एडिनबरा क्यासलको काखमा आयोजित मेलाले दिनभर उक्त क्षेत्रलाई मिनी नेपालको झल्को दिएको थियो ।
कार्यक्रमस्थल नेपाल र स्कटल्यान्डका राष्ट्रिय झण्डाले सजाइएको थियो भने सगरमाथा र गौतम बुद्धका तस्बिरसहितका ब्यानरले नेपालको पहिचान झल्काइरहेका थिए। मौलिक नेपाली पोसाकमा सजिएका सहभागी, देउडा, झ्याउरे, साकेला, लाखेनाचलगायतका सांस्कृतिक प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरेका थिए।
गुल्मीको मुसिकोट नगरपालिका–५, आँपचौरमा जन्मिएका समाजसेवी तथा मेला मूल आयोजक समितिका सदस्य सागर भण्डारी विगत २० वर्षदेखि स्कटल्यान्डलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन्। दोस्रो नेपाली मेलालाई भव्य र सफल बनाउन आयोजक टोलीले दिनरात खटेर तयारी गरेको उनले बताए। मेलामा आफू पनि मौलिक नेवारी पोसाकमा सहभागी हुँदा विशेष गर्वको अनुभूति भएको उनले बताए।
'विदेशमा आयोजना हुने यस्ता कार्यक्रमले हाम्रो भाषा, संस्कृति र पहिचानलाई जोगाइराख्न महत्त्वपूर्ण योगदान पुर्याउँछन्। स्कटल्यान्डमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्न पनि यस्ता कार्यक्रम प्रभावकारी हुन्छन्,' भण्डारीले भने।
स्कटल्यान्डस्थित एक दर्जनभन्दा बढी नेपाली संघसंस्थाको सहकार्यमा लन्डनस्थित नेपाली दूतावास र एनआरएनए स्कटल्यान्डद्वारा संयुक्त रूपमा आयोजित मेलामा करिब तीन हजार नेपाली सहभागी भएको आयोजकले जनाएको छ। मेलामा उल्लेख्य संख्यामा स्कटिस तथा अन्य विदेशी नागरिकको पनि उपस्थिति थियो।
भण्डारीका अनुसार नेपाली मेलाले नेपालको कला, संस्कृति, संगीत, खानपान र आतिथ्यलाई स्कटिस समुदायमाझ चिनाउने अवसर दिएको छ। 'यस्ता कार्यक्रमले नेपाल र स्कटल्यान्डबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक सन्देश दिन्छन्,' उनले भने।
एनआरएनए स्कटल्यान्डका अध्यक्ष शेरबहादुर केसीले यस वर्षको मेलामार्फत नेपालको पर्यटन प्रवर्द्धन, नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन तथा स्कटल्यान्डमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली पहिचानसँग जोड्ने लक्ष्य राखिएको बताए।
नेपाल र स्कटल्यान्डका राष्ट्रिय गानपछि कार्यक्रमको उद्घाटन गरिएको थियो। त्यसपछि स्कटिस पाइपर र नेपाली नौमती बाजासहित सांस्कृतिक परेड निकालिएको थियो। परेडमा सहभागी विभिन्न नेपाली संघसंस्था र समुदायले आफ्ना मौलिक संस्कृति झल्काउने प्रस्तुति दिएका थिए।
परेडपछि स्थानीय कलाकार र समुदायको सहभागितामा भजन–कीर्तन, लोकदोहोरी, झ्याउरे, साकेला, लाखेनाच र देउडालगायतका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए। नेपालबाट आएका कलाकार प्रकाश दुतराज, इन्द्र जीसी, मञ्जु विक, शोभा त्रिपाठी र रमेशराज भट्टराईले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।
