इरानका सार्वजनिक सम्पत्तिमा अमेरिकाको आक्रमण, पुल, ऊर्जा केन्द्र र टावरमा क्षति

इरानको स्वास्थ्य मन्‍त्रालयका अनुसार पछिल्ला ६ दिनमा अमेरिकी आक्रमणमा परेर इरानमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ

श्रावण १, २०८३

एजेन्सी

US attacks on public property in Iran, damage to bridges, power plants and towers

काठमाडौँ — अमेरिकाले इरानका सार्वजनिक सम्पत्तिहरुमा आक्रमण बढाएको छ । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म अमेरिकी सेनाले इरानका थप पुलहरू, ऊर्जा केन्द्र र चाहबहार बन्दरगाहस्थित एक टावर ध्वस्त पारेको इरानी सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक जलमार्ग हर्मुजमाथिको इरानी नियन्त्रण खुकुलो पार्न दबाब दिने उद्देश्यले त्यहाँका पूर्वाधारहरूलाई निशाना बनाउने चेतावनी दिएका थिए । 

‘आगामी साता उनीहरुका लागि निकै खराब हुनेछ । यदी उनीहरु वार्ताको टेबलमा आउँदैनन् भने हामी उनीहरुका सबै विद्युत गृह र पुलहरु ध्वस्त पारिदिनेछौं,’ ट्रम्पले मंगलबार राति फक्स न्युजमार्फत भनेका थिए । 

बिहीबार राति हर्मुजान प्रान्तमा कम्तिमा तीनवटा पुलहरुमा आक्रमण भएको इरानको मेहर समाचार एजेन्सीले जनाएको छ ।

त्यस्तै, घटनामा कम्तिमा ७ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् । हर्मुजान र फार्स प्रान्तलाई जोड्ने कोहोरेस्तान पुल आक्रमणमा परेको पनि समाचार उल्लेख छ ।

हर्मुजान प्रान्तको राजधानी बन्दर अब्बास शहरको रेलवे जक्सनमा भएको आक्रमणमा दुईजना घाइते भएको पनि मेहरले जनाएको छ । 

इरानी ऊर्जा मन्त्रालयले शुक्रबार पहिलो पटक अमेरिकी हवाई आक्रमणबाट आफ्ना विद्युतीय पूर्वाधारहरूमा क्षति पुगेको स्वीकार गरेको छ । मन्त्रालयले देशको दक्षिणी प्रान्तका नागरिकहरूलाई विद्युत् खपत कम गर्न अपिल समेत गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ती क्षेत्रहरूले हाल अत्यधिक गर्मी र विद्युत् पूर्वाधारमाथि भएका आक्रमणको दोहोरो सामना गरिरहेका छन् ।’ यद्यपि, आक्रमण पावर प्लान्ट, प्रसारण लाइन वा अन्य कुन उपकरणमा भएको हो भन्नेबारे मन्त्रालयले विस्तृत विवरण खुलाइएको छैन ।

त्यसैगरी, ओमानको खाडीमा अवस्थित इरानको रणनीतिक चाबहार बन्दरगाहमा अमेरिकी आक्रमणबाट एक टावर ध्वस्त भएको छ ।

यो बन्दरगाह भूपरिवेष्ठित छिमेकी मुलुक अफगानिस्तानसँग जोड्ने प्रमुख व्यापारिक मार्ग हो । यस बन्दरगाहलाई इरानको रिभोलुशनरी गार्ड्स कोप्र्सले सैन्य सुरक्षाका लागि पनि प्रयोग गर्छ । 

पछिल्ला ६ दिनमा अमेरिकी आक्रमणमा परेर इरानमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । त्यस्तै, ४०० जनाभन्दा बढी घाइते भएको इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुसेन केर्मानपुरलाई उद्रृत गर्दै इर्ना समाचार एजेन्सीले जनाएको छ ।

अमेरिकाले सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्दा इरानका ९ करोड जनताका लागि आवश्यक खाद्यान्न, उपभोग्य सामग्री तथा सैन्य बन्दोबस्तीका सामानको ओसारपसारमा गम्भीर संकट पैदा हुन सक्नेछ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा एक सम्बोधन गर्दै इरानविरुद्धको युद्ध सही दिशामा अघि बढिरहेको दाबी गरेका छन् । ‘हामीले इरानमा ठूलो सफलता हासिल गरिरहेका छौँ । यस प्रयासको प्रतिफल तपाईंहरूले निकै चाँडै देख्नुहुनेछ,’ ट्रम्पले भने । 

इरानका विदेशमन्‍त्री अब्बास अराग्चीले अमेरिकाले सार्वजनिक सम्पत्तिमा प्रहार गरेर युद्ध अपराध गरिरहेको प्रतिक्रिया दिएका छन् । 

अमेरिकी आक्रमणको जवाफमा इरानले मध्यपूर्वका अमेरिकी साझेदार राष्ट्रहरूमाथि लगातार मिसाइल प्रहार गरेको छ । यस युद्धमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको कतारमाथि पनि इरानले मिसाइल प्रहार गरेको छ ।

आकाशमा इरानी मिसाइलहरूलाई निष्क्रिय पार्न एअर डिफेन्स प्रणाली प्रयोग हुँदा  ठूला विस्फोटका आवाजहरू सुनिएका थिए ।

कतारको गृह मन्त्रालयका अनुसार ध्वस्त पारिएका मिसाइलका अवशेषहरू खस्दा एक बालिका घाइते भएकी छन् । 

पाकिस्तानसँगै कतार पनि इरान युद्ध अन्त्य गराउन प्रयास गरिरहेको एक प्रमुख मध्यस्थकर्ता मुलुक हो ।  इरानले शुक्रबार बिहानै अन्य छिमेकी मुलुकहरू बहराइन, कुवेत र जोर्डनलाई पनि निशाना बनाएको छ । कुवेती अधिकारीहरूका अनुसार इरानले त्यहाँको एक प्रमुख विद्युत् तथा पानी प्रशोधन केन्द्रमा भीषण आक्रमण गरेको छ ।

जसबाट उक्त केन्द्रमा व्यापक क्षति पुगेको छ । कुवेतमा पिउने पानीको झन्डै ९० प्रतिशत आपुर्ति यही प्रशोधन केन्द्रमार्फत हुन्छ । कुवेत सरकारले क्षतिको यकिन विवरण संकलन गर्ने र बन्द भएको केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने कार्य भइरहेको जनाएको छ । त्यसैगरी, जोर्डनको सेनाले शुक्रबार बिहान आफ्नो वायुक्षेत्रमा प्रवेश गरेका इरानद्वारा प्रक्षेपित तीनवटा मिसाइलहरूलाई सफलतापूर्वक आकाशमै निष्क्रिय पारेको जनाएको छ ।

गएको महिना दुवै पक्षबीच भएको अस्थायी युद्धविराम सहमति पूर्ण रूपमा भङ्ग भएको अमेरिकी समाचार एजेन्सी (एशोसिएट प्रेस) एपीले जनाएको छ । । हर्मुजको विषयलाई लिएर अमेरिका र इरानबीच विगत केही दिनदेखि लगातार दोहोरो आक्रमण चलिरहेको छ । 

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त रूपमा युद्ध सुरु गरेलगत्तै इरानले इन्धन ओसारपसारका लागि विश्वकै महत्वपूर्ण मानिने हर्मुज जलमार्गलाई ठप्प पारेको थियो । इरानको यो कदमले विश्व बजारमा कच्चा तेलको मूल्य अत्यधिक बढाउनुका साथै वार्ताहरूमा इरानलाई बलियो ’बार्गेनिङ’ शक्ति प्रदान गरेको थियो ।

१७ जुनमा हस्ताक्षर भएको अन्तरिम सम्झौतामा यस जलमार्गलाई ३० दिनभित्र खोल्ने उल्लेख थियो । तर, दुबै पक्षले सम्झौता पालना गरेनन् । पछिल्लो समय इरानले हर्मुज ठप्प पारेको छ । त्यस्तै, अमेरिकाले पनि यस जलमार्गमा सेना परिचालन गरेर इरानका जहाजहरुमाथि नाकाबन्दी गरेको छ ।

लन्डनस्थित सैन्य विश्लेषक एलेक्स अल्फिराज सिर्सले अल जजिरासँग कुरा गर्दै परम्परागत सैन्य अखडाभन्दा बाहिर गरिएका आक्रमणहरूले अमेरिकी रणनीतिमा ठूलो परिवर्तनको संकेत गरेको बताएका छन्। 'अमेरिकी राष्ट्रपति ट्रम्प निराश र हतास देखिन्छन् । उनले जमिनमा सेना उतार्ने तयारी गरेजस्तो देखिन्छ । अहिलेको आक्रमणलाई त्यसैको प्रारम्भिक चरणका रुपमा लिन सकिन्छ,' उनले भने ।   

पुल, सडक र रेलवे पूर्वाधारमात्रै नभएर पछिल्ला दिनहरुमा खानेपानीका पूर्वाधार, खाद्य भण्डारण स्थल र विद्युत पूर्वाधारहरुमा समेत अमेरिकाले आक्रमण गरेको छ ।

बेलायतस्थित ल्यान्कास्टर विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक साइमन म्याबनले यी शृंखलाबद्ध आक्रमणहरूलाई सैनिक घुसपैठको पूर्वसंकेतका रूपमा व्याख्या गर्न सकिने बताए । उनले इरानलाई दबाब दिएर वार्ताको टेबलमा ल्याउने प्रयासस्वरुप अमेरिकाले यस्तो गरेको हुनसक्ने बताए । इरानमा स्थल सेना उतार्ने योजना विनाशकारी साबित हुने भएकाले त्यस्तो कदम ट्रम्पले चाल्ने संभावना कम रहेको उनले बताए ।

'स्थल सेना परिचालन विनाशकारी हुनेछ । त्यहीकारण त्यस्तो हुँदैन होला,' उनले भने,' इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि दबाब दिन यस्तो गरिएको हुनसक्छ । तर, नागरिक पूर्वाधारहरूमा आक्रमण गर्दा इरानमा अमेरिकाविरोधी भावना थप बलियो हुनेछ ।'

एजेन्सी

Link copied successfully