यसअघि ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको थियो
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तत्काल वार्तामा फर्कन चेतावनी दिएका छन् । वार्तामा नआए आगामी साता इरानका पुल र विद्युत गृहहरूमा आक्रमण गर्ने धम्की दिएका छन् ।
दुई देशबीच लगातार चौथो दिन पनि गोलाबारी जारी रहेका बेला फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पको यस्तो चेतावनी दिएका हुन् ।
यसअघि ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको थियो । 'आगामी साता उनीहरूका लागि निकै खराब हुनेछ । यदि उनीहरू वार्ताको टेबलमा आउँदैनन् भने हामी उनीहरूका सबै विद्युत गृह र पुलहरू ध्वस्त पारिदिनेछौँ ।'
राष्ट्रपति ट्रम्पले यसअघि गत अप्रिलमा पनि इरानका नागरिक पूर्वाधार, पुल र विद्युत गृहहरूमा बमबारी गर्ने धम्की दिएका थिए ।
ट्रम्पको उक्त धम्कीप्रति तत्कालै कडा प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले सर्वसाधारण र नागरिक पूर्वाधारहरूमाथि जानाजानी आक्रमण गर्नु युद्ध अपराध हुने चेतावनी दिएका थिए ।
सन् १९४९ को जेनेभा महासन्धिले पनि सर्वसाधारणका लागि अत्यावश्यक मानिने भौतिक संरचनाहरूमाथि आक्रमण गर्न पूर्ण रूपमा निषेध गरेको छ ।
मङ्गलबार राति फक्स न्युजबाट प्रसारण भएको 'स्पेशल रिपोर्ट विथ ब्रेट बायर' कार्यक्रममा बोल्दै ट्रम्पले थपे, 'म ऊर्जा केन्द्रहरूलाई अन्तिम प्राथमिकतामा राख्नेछु, तर अन्ततः हामी ती ऊर्जा केन्द्रहरूमा आक्रमण गरेरै छाड्नेछौँ ।' यस विषयमा मंगलबार साँझ इरानी पक्षलाई अमेरिकी मध्यस्थकर्ताहरुले जानकारी पनि दिइसकेको उनले बताए ।
