हमादले सन् २००८ मा सार्वजनिक गरेको भिजन–२०३० कै जगमा कतार तेल निर्यातमा निर्भर अर्थतन्त्रबाट आज विश्वकै समृद्ध अर्थतन्त्र र लगानीको केन्द्र बन्न सफल भएको छ
दोहा — कतारलाई आधुनिकीकरण गर्दै संसारका धनी र प्रभावशाली राष्ट्रहरूको सूचीमा पार्ने कतारका राजा अमिर शेख हमाद बिना खलिफा अल थानीको आइतबार ७४ वर्षको उमेरमा निधन भयो ।
हमाद कतारमा ‘फादर अमिर’ (पिता अमिर) भनेर चिनिन्थे । उनकै कार्यकालमा अरबको सानो मुलुक कतार आर्थिक र कूटनीतिक हिसाबमा विश्वकै केन्द्र बन्न सफल भयो । सन् १९९५ मा सत्ताको बागडोर सम्हालेका उनले २०१३ मा स्वेच्छाले ३३ वर्षीय छोरा शेख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गरेका थिए । अरब दुनियाँमा यसरी शासकले स्वेच्छाले सत्ता त्याग्ने घटना विरलै हुने गर्दछ ।
हमादले बेलायतको रोयल मिलिटरी एकेडेमीबाट १९७१ मा ग्य्राजुएट गरेका थिए । त्यसपछि अमिर बन्नुअघि उनले कतारमा सेनाप्रमुख तथा रक्षामन्त्रीसहितका वरिष्ठ पदहरूमा काम गरे ।
उनी सन् १९८९ मा कतारको योजना आयोगको अध्यक्ष पनि थिए । जसले उनलाई कतारका समस्या र सम्भावनाहरूबारे बुझ्न मद्दत गर्यो । आफ्ना पिता खलिफा बिन हमाद अल थानीलाई रक्तपातविहीन ‘कु’ मार्फत अपदस्थ गरेर सन् १९९५ मा हमादले सत्ता हातमा लिएका थिए ।
उनको १८ वर्षे कार्यकालमा कतारको तरल प्राकृतिक ग्यास उत्पादन (एलएनजी) वार्षिक ७ करोड ७० लाख टन हाराहारी पुगेको थियो । ‘नर्थ फिल्ड’ बाट भएको उत्पादनले सन् २००६ सम्ममा देशलाई तरल प्राकृतिक ग्यास (एलएनजी) को विश्वकै सबैभन्दा ठूलो निर्यातकर्ता बनाएको थियो ।
यसले कतारलाई प्रतिव्यक्ति आयका आधारमा विश्वकै धनी देशहरूमध्ये एक बनायो । उनको शासनकालमा कतारको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २४ गुणाभन्दा बढीले वृद्धि भएको थियो ।
सन् १९९५ मा उनले राज्यसत्ता सम्हाल्दा कतारको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ८ अर्ब डलर मात्र थियो । तर, सन् २०१३ मा आइपुग्दा १ सय ९९ अर्ब डलर पुगिसकेको थियो । यस अवधिमा कतारको आर्थिक विकासको दर विश्वमै उच्च रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार, हमादको शासनकालमा कतार विश्वकै सबैभन्दा उच्च प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन भएका मुलुकमध्ये एक बनेको थियो ।
उनकै कार्यकालमा कतारको प्रतिव्यक्ति आय (क्रयक्षमता आधारमा) ९० हजार अमेरिकी डलरभन्दा माथि पुगेको थियो । यससँगै आवास, शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारी खर्च उल्लेखनीय रूपमा बढाइयो र बेरोजगारी दर अत्यन्त न्यून स्तरमा झर्यो ।
हमादको शासनकालमा कतारको आर्थिक रूपान्तरण तेल र ग्यासको उत्पादन वृद्धि वा त्यसबाट हुने आम्दानीमा मात्रै सीमित रहेन । निर्यातबाट प्राप्त रकमको कुशल व्यवस्थापन पनि भयो । विशेषज्ञहरूका अनुसार आयमा भएको वृद्धि केवल ऊर्जा स्रोतहरूको मूल्य बढेका कारण मात्र नभई, सरकारी लगानी विस्तार तथा ऊर्जा र पूर्वाधार परियोजनासँग सम्बन्धित रोजगारी सिर्जनाका कारण पनि सम्भव भएको थियो । ऊर्जा क्षेत्रमा गरिएको लगानीसँगै कतारले ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने दिशामा पनि अग्रसरता देखायो ।
हमादकै अध्यक्षतामा सन् २०११ मा कतारले आर्थिक मामिला तथा लगानीका लागि सर्वोच्च आयोग गठन गरेको थियो । आयोगले घरेलु तथा विदेशी लगानीलाई विविधीकरण गर्दै कतारको वित्तीय भण्डारलाई अभिवृद्धि गर्ने लक्ष्य राखेको थियो । चार वर्षपछि कतार लगानी प्राधिकरण (क्यूआईए) गठन गरियो ।
तेल र ग्यास निर्यातबाट प्राप्त हुने मुनाफाको व्यवस्थापन गर्न यसको स्थापना गरिएको थियो । स्थापनाको छोटो समयमै प्राधिकरण विश्वका ठूला सार्वभौम पुँजी कोषमध्ये एक बन्यो । विश्वचर्चित कम्पनीमा यसले लगानी गर्यो । कतारको लगानी नीति विस्तार भएर लगभग सबै महादेशमा फैलियो ।
विश्वका ठूला फुटबल क्लबदेखि ठूला वित्तीय संस्थानहरूसम्म कतारको लगानी फैलियो । प्राधिकरणसँग अहिले ५ सय अर्ब डलरभन्दा धेरै सम्पत्ति रहेको सोभरेन वेल्थ फन्ड इन्स्टिच्युटले जनाएको छ । आफ्नो सम्पत्तिलाई कतारले लोक कल्याणमा उपयोग गर्दै आएको छ । विश्व बैंक र आईएमएफका अनुसार शेख हमादको शासनकालमा कतार उच्च प्रतिव्यक्ति आएका भएका मुलुकमध्ये एक बन्यो ।
हमादको कार्यकालमा जनताका लागि आवास, शिक्षा र स्वास्थ्यमा ठूलो धनराशी खर्च गरियो । उनले सत्ता सम्हालेपछि लिइएका प्रारम्भिक विकाससम्बन्धी निर्णयहरूमध्ये एक सन् १९९५ को अगस्टमा कतार फाउन्डेसन फर एजुकेसन, साइन्स एन्ड कम्युनिटी डेभलपमेन्टको स्थापना पनि थियो ।
यसलाई शिक्षा, वैज्ञानिक अनुसन्धान तथा नवप्रवर्तनमा लगानी गर्ने प्रमुख संस्थाका रूपमा विकास गरिएको थियो । पछि कतारले जर्जटाउन विश्वविद्यालय, टेक्सास ए एन्ड एम विश्वविद्यालय र कार्नेगी मेलोन विश्वविद्यालयजस्ता अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूलाई आकर्षित गर्यो । यसलाई तेल तथा ग्यासपछिको युगका लागि देशलाई तयार पार्ने दीर्घकालीन रणनीतिको हिस्सा मानिएको थियो ।
आर्थिक उदारीकरण र क्षेत्रीय वित्तीय तथा व्यापारिक केन्द्रका रूपमा आफ्नो स्थान सुदृढ बनाउने नीतिले राजधानी दोहालाई अन्तर्राष्ट्रिय आर्थिक तथा लगानी सम्मेलनहरूको महŒवपूर्ण केन्द्रका रूपमा स्थापित गर्यो ।
हमादको शासनकालमा ग्यासबाट प्राप्त आम्दानी केवल कतारको बजेट सञ्चालनमा मात्र सीमित रहेन, बरु विशाल पूर्वाधार परियोजनाहरूमा पनि लगानी गरियो । उनकै कार्यकालमा हमाद इन्टरनेसनल एयरपोर्ट, हमाद पोर्ट, लुसेल सिटी, आधुनिक सडक पूर्वाधारलगायत विकास भए ।
यी पूर्वाधारहरूले दोहालाई एउटा सामान्य खाडी सहरबाट विश्वव्यापी केन्द्रमा स्थापित गर्यो । सन् २००८ मा हमादले ‘कतार नेसनल भिजन २०३०’ घोषणा गरेको थियो । यस रणनीतिक योजनाले ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दै भविष्यको पुस्तासम्म पनि समृद्धिलाई निरन्तरता दिने लक्ष्य राखेको छ । आफ्नो प्राकृतिक स्रोतलाई दिगो विकासको आधारका रूपमा उपयोग गर्ने लक्ष्यअनुरूप आर्थिक नीतिहरू तयार गरिएका छन् ।
त्यसकै जगमा आज कतारमा ठूला बहुराष्ट्रिय कम्पनी र ठूलो परिमाणमा विदेशी लगानी भित्रिइरहेको छ । आजसम्म पनि आर्थिक नीतिको मार्गदर्शक दस्तावेजका रूपमा रहेको भिजन २०३० ले प्राकृतिक स्रोतबाट प्राप्त सम्पत्तिलाई दिगो विकासका आधारमा रूपान्तरण गर्ने हमादको नीतिगत दिशालाई प्रतिबिम्बित गर्दछ । त्यही नीतिलाई हमादका छोरा तथा उत्तराधिकारी अमिर शेख तमिम बिन हमाद अल थानीले निरन्तरता दिइरहेका छन् ।
भूराजनीतिक द्वन्द्वमा मध्यस्थकर्ताको पहिचान
हमादलाई नजिकबाट चिन्नेहरूका अनुसार उनले सत्ता सम्हाल्नुअघि नै कतारसँग शक्तिका परम्परागत आवश्यकताहरू सेना वा ठूलो भूगोल नरहेको स्पष्टसँग बुझेका थिए । त्यसैले उनले सौम्य शक्ति (सफ्ट पावर) मा लगानी गर्ने रणनीति लिए ।
उनकै कार्यकालमा पश्चिम एसिया र अरब क्षेत्रमा इरान, साउदी र यूएईले आफ्नो क्षेत्रीय वर्चस्वका लागि प्रतिस्पर्धा गरिरहेका बेला कतारले भूराजनीतिक तनाव घटाउन भूमिका खेल्ने राष्ट्रका रूपमा आफ्नो छवि स्थापित गर्यो ।
सुडानको डार्फर क्षेत्रको द्वन्द्व, लेबनानमा विभिन्न गुटहरूबीचको कलह, प्यालेस्टिनी समूहहरू ‘हमास’ र ‘फताह’ बीचको मनमुटाव सुल्झाउन कतारले मध्यस्थता गरेको थियो । पछिल्लो समय उनकै नीति पछ्याउँदै इरान र अमेरिकाको युद्ध सल्ट्याउन महŒवपूर्ण भूमिका खेलिरहेको छ ।
त्यस्तै सौम्य शक्ति विस्तारमा सञ्चारमाध्यमको अहम् भूमिका हुनेबारे पनि हमाद जानकार थिए । उनकै कार्यकालमा सन् १९९६ मा अलजजिरा नेटवर्क स्थापना भयो । यसले अरब क्षेत्रको राजनीतिक र सामाजिक गतिविधिलाई उनीहरूकै दृष्टिकोणमार्फत बाँकी विश्वमा देखाउन महŒवपूर्ण भूमिका खेल्यो ।
सन् २००१ को अफगानिस्तान युद्ध र सन् २००३ को इराक युद्धबारे गरेको स्थलगत रिपोर्टिङले यस सञ्चारमाध्यमलाई विश्वभर लोकप्रिय बनाइदियो ।
सन् २००२ मा कतारमा अमेरिकी सेनाको सबैभन्दा ठूलो अखडा अल उदइद बेस स्थापना भएपछि क्षेत्रीय राजनीतिमा कतारको भूमिकालाई लिएर धेरै राष्ट्रहरू सशंकित बनेका थिए ।
एकातर्फ, अमेरिकी हस्तक्षेपकारी नीतिको आलोचना गर्दै अलजजिरामा टिप्पणी र अन्तर्वार्ता प्रसारण भइरहेका थिए । अर्कोतर्फ, इराक र अफगानिस्तानमा अल उदइद बेसबाटै बम बोकेर अमेरिकी सेनाका विमान उडिरहेका थिए । साउदी, इजिप्ट र यूएईजस्ता क्षेत्रीय शक्तिहरूले कतारमाथि दोहोरो मापदण्ड अपनाएको आरोप पनि लगाए ।
सन् २०११ मा अरब विद्रोहको समाचारलाई प्राथमिकताका साथ प्रसारण गरेपछि अलजजिरामाथि इजिप्टमा केही समय रोक नै लगाइएको थियो । छिमेकी देशहरूको दबाबका बाबजुद कतारले खुलेर अरब विद्रोहलाई समर्थन गरेको थियो ।
लिबिया द्वन्द्वका बेला कतारले नेटोको सैन्य अभियानलाई समर्थन गर्यो । त्यस्तै, सिरियामा राष्ट्रपति बसर अल असदले आन्दोलनकारीमाथि चरम दमन गरेपछि कतारले दमास्कससँगको कूटनीतिक सम्बन्ध नै तोड्यो । यसले कतारमाथि अमेरिकासँगको स्वार्थमा काम गरेको आरोप पनि लाग्यो ।
अर्कोतर्फ, यही समय हमासको राजनीतिक नेतृत्वलाई शरण दिने र तालिवानको कार्यालय खोल्ने अनुमति दिने काम पनि कतारले गरिरहेको थियो । त्यस्तै, इरानसँग पनि उसले सावधानीपूर्वक सम्बन्ध कायम राख्यो ।
धेरै पक्षहरूको विश्वास जितेर तटस्थ सम्बन्ध कायम राख्न सक्ने खुबीकै कारण कतारले धेरै द्वन्द्वहरूको अन्त्यका लागि मध्यस्थता गर्ने अवसर पायो । जस्तो, कतारमा खोलिएको तालिवानको कार्यालयले नै वासिङ्टन र अफगान समूहबीच वार्ताको वातावरण तयार गर्यो । फलस्वरूप अन्ततः सन् २०२१ मा लामो युद्धपछि अफगानिस्तानबाट नेटो र अमेरिकी सेनाको बहिर्गमन सम्भव भयो ।
प्यालेस्टाइनका दुई पक्ष ‘हमास’ र ‘फताह’ बीच वार्ताको वातावरण बनाउन पनि उसले रचनात्मक भूमिका खेल्यो । यतिमात्रै होइन यमन, सोमालिया, इरिट्रिया र जिबुतीबीचको विवादलाई समाधान गर्दै एक दुर्लभ कूटनीतिक नमुना प्रस्तुत गर्यो ।
सन् २०२२ को फिफा विश्वकप आयोजनाका लागि कतारले सन् २०१० मा उनकै कार्यकालमा प्रस्ताव अघि लगेको थियो र यो प्रस्ताव पारित पनि भयो । चीन र भारतजस्ता विश्वका ठूला जनसंख्याले आयोजना गर्न नपाएको विश्वकप फुटबल केवल ३४ लाख जनसंख्या भएको सानो मुलुकले आयोजना गर्न पाउनु आफैंमा एउटा दुर्लभ घटना थियो ।
विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने अधिकार प्राप्त गरेपछि कतारको पूर्वाधार तथा निर्माण क्षेत्रमा ठूलो उछाल आयो ।
विश्वकपकै लागि कतार सरकारले सडक, रंगशाला, रेलमार्ग, नयाँ अन्तर्राष्ट्रिय विमानस्थल तथा बन्दरगाह निर्माणलगायत पूर्वाधार विकासका लागि २०० अर्ब डलरभन्दा बढी खर्च गर्यो ।
ती पूर्वाधार निर्माणका क्रममा नेपालीलगायत विदेशी कामदारमाथि श्रम शोषण भएको आरोप लागे पनि विश्वकप आयोजनले कतारको अन्तर्राष्ट्रिय छवि भने उजेलियो ।
