रुसविरुद्ध समर्थन जुटाउन पेरिस पुगे जेलेन्स्की

युक्रेन र उसका युरोपेली समर्थकहरूले युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्ताका लागि दबाब दिादै आएका छन् ।

असार ३०, २०८३

एजेन्सी

Zelensky arrives in Paris to rally support against Russia

पेरिस — युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसविरुद्ध समर्थन जुटाउन सोमबार पेरिस पुगेका छन् । उनले पेरिसमा युरोपेली नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

स्रोतका अनुसार बैठकमा युक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीतिबारे छलफल हुनेछ । पेरिसमा रहँदा उनले रुसको आक्रमणविरुद्ध युक्रेनलाई सहयोग गरिरहेका करिब दुई दर्जन युरोपेली नेताहरूसँग भेटवार्ता गर्नेछन् । गत पाँच वर्षदेखि रुस–युक्रेन युद्ध जारी छ ।

यसैबीच युरोपेली देशका विदेशमन्त्रीहरूबीच पनि ब्रसेल्समा बैठक भइरहेको छ । बैठकमा युक्रेनको आवश्यकता र रुसबाट युरोपलाई उत्पन्न भएको खतराबारे छलफल हुने अपेक्षा गरिएको छ । युक्रेन र उसका युरोपेली समर्थकहरूले युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्ताका लागि दबाब दिँदै आएका छन् । उनीहरूको बुझाइमा ट्रम्प प्रशासनको एक वर्ष लामो शान्ति प्रयासका बाबजुद मस्कोले कुनै समझदारीमा चासो देखाएको छैन ।

विश्लेषकहरू र पश्चिमी अधिकारीहरूका अनुसार पछिल्ला केही महिनामा ड्रोन प्रविधिमा युक्रेनको प्रगतिले युद्धको मोर्चामा उसलाई फाइदा पुगेको छ । युक्रेनी सेनाले विशेष गरी क्रिमियातर्फ जाने आपूर्तिलाई निसाना बनाएको छ । यसबाट ‘ब्ल्याक सी’ क्षेत्रमा इन्धनको ठूलो संकट उत्पन्न भएको छ । रुसले सन् २०१४ मा क्रिमियालाई अवैध रूपमा आफ्नो नियन्त्रणमा लिएको थियो ।

जेलेन्स्कीले युरोपेली मुलुकसँग मिलेर ब्यालिस्टिक मिसाइलबाट बच्ने हवाई सुरक्षा प्रणाली विकास गर्ने योजना अघि सारेका छन् । यो प्रणालीले युक्रेनको विद्युत् संरचनामाथि रुसले गर्ने विनाशकारी आक्रमण रोक्न मद्दत गर्नेछ ।

गत साता युक्रेनलाई नयाँ हवाई सुरक्षा प्रणाली बनाउने अनुमति दिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणालाई किएभका लागि ठूलो सफलता मानिएको छ । तर, विज्ञ र युक्रेनी अधिकारीहरूका अनुसार यो योजनाअनुसार हतियार उत्पादन गर्न भने धेरै वर्ष लाग्न सक्छ ।

पेरिसमा युक्रेनलाई समर्थन गर्ने ३० भन्दा बढी मुलुक सहभागी हुँदै छन् । जहाँ करिब २५ मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरू सहभागी हुँदै छन् । यति ठूलो संख्यामा नेताहरूको उपस्थितिलाई युक्रेनका लागि लामो समयसम्म समर्थन र रुसका लागि चेतावनीको रूपमा हेरिएको छ ।

युक्रेन सरकारमा ठूलो फेरबदल भइरहेका बेला जेलेन्स्की पेरिस पुगेका छन् । युक्रेनी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले आइतबार मात्र पदबाट राजीनामा दिएका थिए ।

एजेन्सी

Link copied successfully