अमेरिकाको साल्ट लेक सिटी र बिलिङ्समा १ सय ५० वर्षयताकै उच्च गर्मी

प्रारम्भिक तथ्याङ्कअनुसार, युटा राज्यको राजधानी साल्ट लेक सिटी र मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर बिलिङ्समा तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ

असार २९, २०८३

एजेन्सी

Salt Lake City and Billings in the US experience the hottest temperatures in 150 years

काठमाडौँ — अमेरिकाको मध्यक्षेत्र आइतबार अत्यधिक गर्मीको चपेटामा परेको छ । उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका कीर्तिमान तोडेको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ ।

प्रारम्भिक तथ्याङ्कअनुसार, युटा राज्यको राजधानी साल्ट लेक सिटी र मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर बिलिङ्समा तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ ।

मौसम सेवाका अनुसार विगत १५० वर्षभन्दा बढी समयदेखि अभिलेख राख्‍न सुरु गरिएयता यो अहिलेसम्मकै उच्च तापक्रम हो ।

उच्च तापक्रमका कारण कोलोराडो र युटाका विभिन्न क्षेत्रमा फैलिएका डढेलो नियन्त्रणको प्रयास प्रभावित भएको छ । मौसमविद्हरूले अत्यधिक गर्मी मङ्गलबारसम्म कायम रहने अनुमान गरेका छन् ।

एक साताअघि पूर्वी अमेरिकामा पनि अर्को गर्मीको लहर चलेको थियो । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर अत्यधिक गर्मीका लहरहरू अझ बारम्बार, लामो समयसम्म रहने र तीव्र हुने प्रवृत्ति बढ्दै गएको छ । जीवाश्म इन्धनको दहनबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई यसको मुख्य कारण मानिएको छ ।

यसैबीच, पश्चिमी युरोपले हालसम्मकै सबैभन्दा तातो जुन महिनाको अनुभव गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार त्यहाँको हालैको गर्मीको लहरका कारण एक हजार तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

एजेन्सी

Link copied successfully