बंगलादेशमा बाढीपहिरोले ५१ जनाको मृत्यु, १० लाखभन्दा धेरै प्रभावित

सबैभन्दा ठूलो प्रभाव कक्स बजार क्षेत्रमा देखिएको छ। त्यहाँ २८ जनाको मृत्यु भएको छ।

असार २९, २०८३

एजेन्सी

51 killed, over 1 million affected by floods and landslides in Bangladesh

ढाका — बंगलादेशमा विगत केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्।  

सबैभन्दा ठूलो प्रभाव कक्स बजार क्षेत्रमा देखिएको छ। त्यहाँ २८ जनाको मृत्यु भएको छ। उक्त क्षेत्र विश्वकै सबैभन्दा ठूलो रोहिङ्गा शरणार्थी शिविर रहेको स्थान हो । 

गत हप्ता कक्स बजारमै बाढीले विद्यालय बगाउँदा विद्यार्थी र शिक्षकसहित केहीको ज्यान गएको थियो ।  त्यस्तै, राजधानी ढाकाका सडकहरूमा घुँडासम्म पानी जमेपछि जनजीवन कष्टकर बनेको छ ।

हजारौं मानिस घरबारविहीन भई सरकारी आश्रयस्थलमा बस्न बाध्य भएका छन् । प्रधानमन्त्री तारिक रहमानले प्रभावित क्षेत्रमा राहत र स्वास्थ्य सेवालाई तीव्रता दिन सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

मौसम पूर्वानुमान केन्द्रका अनुसार दक्षिण-पूर्वी क्षेत्रमा अवस्था सामान्य बन्दै गए पनि उत्तरी र उत्तर-पूर्वी भागमा अझै बाढीको जोखिम कायमै छ।  जलवायु परिवर्तनका कारण मनसुनको वर्षा अघिल्ला वर्षहरूभन्दा तीव्र र अनियन्त्रित बन्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

एजेन्सी

Link copied successfully