इरानमा सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरुले ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई मार्नुपर्ने नारा लगाएका थिए ।
दुबई — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रहार गर्नका लागि १ हजारवटा मिसाइलहरु तयारी अवस्थामा राखिएको बताएका छन् । उनले आफ्नो हत्या गर्ने प्रयास भएमा इरानमाथि थप हजारौं मिसाइल प्रहार गर्ने चेतावनी दिएका छन् ।
'१००० मिसाइलहरू लक र लोड गरेर इरानतर्फ लक्षित गरिएका छन् । यदि इरानी सरकारले विश्वका धेरै कुनाहरूमा दाबी गरे जस्तै मलाई!—हत्या गर्ने प्रयास गर्यो तुरुन्तै अरू हजारौं मिसाइलहरू प्रहार गरिनेछन् । आदेशहरू दिइसकिएको छ, र अमेरिकी सेना इरानका सबै क्षेत्रहरूलाई पूर्ण रूपमा ध्वस्त र नष्ट गर्न तयार, इच्छुक र सक्षम छ,' ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन् ।
इरानमा सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरुले ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई मार्नुपर्ने नारा लगाएका थिए । त्यस्तै, टर्कीको अंकारामा आयोजित नेटो शिखर सम्मेलनमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफुमाथि इरानले हत्याको षड्यन्त्र रचेको दाबी गरेका थिए । 'म इरानको हत्या सूचीमा नम्बर १ मा छु । म उनीहरूको हरेक सूचीमा छु । मैले आज बिहान मात्र देखें, म उनीहरूको प्रत्येक सूचीमा परेको छु । र अहिलेसम्म, मलाई लाग्छ म अलिकति भाग्यमानी छु, तर सायद यो अवस्था धेरै लामो समयसम्म टिकिरहँदैन,' उनले भने ।
अमेरिकी सञ्चारमाध्यमहरुमा पनि इरानले ट्रम्पको हत्याको षडयन्त्र बुनेको समाचारले प्राथमिकता पाएको छ । द वाल स्ट्रिट जर्नलमा बिहीबार प्रकाशित लेखअनुसार इजरायली गुप्तचरहरुले यस षड्यन्त्रबारे ट्रम्पलाई जानकारी गराएका थिए ।
लेखमा यस मामिलाका जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै भनिएको छ, 'इजरायली अधिकारीहरूले अमेरिकालाई राष्ट्रपतिविरुद्धको नयाँ खतराको बारेमा चेतावनी दिएका थिए । उनीहरूको नजरमा यो यस्तो खतरा हो जसले इरान र अमेरिकाको पहिलेदेखि नै रहेको तनावलाई थप बढाउनेछ ।'
सीएनएनले पनि दुईवटा स्रोतलाई उद्रृत गर्दै ट्रम्पलाई इजरायलले हत्याको जोखिमबारे जानकारी दिएको जनाएको छ । सीएनएनसँगकै कुराकानीमा एक अमेरिकी अधिकारीले भनेका छन्,' यो नयाँ इजरायली गुप्तचर सूचना ट्रम्पको सोचलाई प्रभावित गर्ने एउटा प्रयास पनि हुन सक्छ । किनकि, अहिले इरानविरुद्ध अमेरिकी सैन्य कारबाही बढाउने वा नबढाउने भन्नेबारे ट्रम्पले विचार गरिरहेका छन् ।'
अन्तरिम सम्झौताकै विषयलाई लिएर केही समयअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र ट्रम्पबीचको तनावपूर्ण बनेको थियो । उनीहरूबीच भएको बिर्सनलायक फोन संवाद पनि भयो । त्यस संवादमा लेबनानमाथि अनावश्यक आक्रमण गरेको भन्दै ट्रम्पले नेतान्याहूलाई गाली गरे । उनले नेतान्याहूलाई 'पागल' समेत भनेका थिए ।
१७ जुनमा युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौतामा हस्ताक्षर गरेका इरान र अमेरिका पछिल्लो एक सातादेखि फेरि आक्रमण र प्रत्याक्रमणमा छन् । जसकारण, यस अन्तरिम सम्झौता संकटमा परेको छ ।
ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भइसकेको दाबी गरेका छन् । यद्यपी, इरानले वार्ताको इच्छा देखाएकाले नयाँ चरणमा छलफल हुने पनि उनले बताएका छन् ।
अमेरिकी वरिष्ठ अधिकारीहरूले इरानसँग हर्मुज जलमार्ग खुला गर्नुपर्ने र यस जलमार्ग हुँदै अघि बढ्ने जहाजहरुमाथि आक्रमण नगर्ने सार्वजनिक प्रतिबद्धता जनाउन माग गरेका छन् । इरानले हर्मुज हुँदै जाने जहाजहरुसँग शुल्क उठाउन पाउनुपर्ने र ती जहाजको प्रशासनित व्यवस्थापन रिभोलुशनरी गार्डस् कोर्प्सले गर्ने पुरानै अडान दोर्याउँदै आएको छ ।
युद्धपूर्व हर्मुज हुँदै विश्वको २० प्रतिशतभन्दा बढी कच्चा तेल र प्राकृतिक ग्याँस पश्चिम एसियाबाट बाहिरिने गरेको थियो । युद्ध सुरू भएलगत्तै यस क्षेत्रमा इरानले गरेको अवरोधले विश्वव्यापी इन्धन संकट निम्तिएको छ ।
पटक-पटक निशानामा ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कम्तिमा ५ पटक निशानामा परिसकेका छन् । पछिल्लोपटक २५ अप्रिल २०२६ मा ह्वाइट हाउस करेस्पोन्डेन्टस् एशोसिएसनको आयोजनामा भएको डिनर कार्यक्रममा एक व्यक्तिले गोली चलाएका थिए ।
यस कार्यक्रममा राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र मन्त्रिपरिषद्का सदस्यहरु सहभागी थिए । गोली चलेपछि उनीहरुलाई गुप्तचरहरुले उद्धार गरेका थिए । त्यस्तै गोली चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सेप्टेम्बर २०२४ फ्लोरिडाको वेस्ट पाम बीचमा गल्फ खेलिरहेका बेला ट्रम्पमाथि एक व्यक्तिले हत्या प्रयास गरेका थिए । तर उक्त प्रयास सफल भएन । त्यसपछि ती व्यक्ति राइफल छाडेर भागे । उनलाई त्यही दिन प्रहरीले पक्राउ गर्यो ।
जुलाई २०२४ पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्यालीमा गोली चल्यो । ट्रम्पले भाषण गरिरहेका बेला उनलाई ताकेर गोली हानिएको थियो । ट्रम्पको कानको माथिल्लो भागमा गोली लाग्यो र उनी घाइते भए ।
उनको कानबाट रगत बगेको थियो । हत्या प्रयासमा संलग्न २० वर्षीय बन्दूकधारीहरुलाई घटनास्थलमै गुप्तचरहरुले गोली हानेर मारेका थिए । ट्रम्पलाई स्टेजबाट सुरक्षित रुपमा बाहिर निकालिएको थियो । यस घटनामा र्यालीमा सहभागी एकजनाको मृत्यु भयो भने दुईजना घाइते भए ।
लास भेगासको एक क्यासिनोमा आयोजित र्यालीमा प्रहरी अधिकारीको बन्दुक खोस्ने प्रयास गरेपछि एक २० वर्षीय बेलायती युवकलाई जेल सजाय सुनाइएको थियो। बयानका क्रममा ती व्यक्तिले तत्कालीन रिपब्लिकन उम्मेदवार (ट्रम्प) लाई मार्ने उद्देश्यले गाडी चलाएर उक्त कार्यक्रममा पुगेको बताएका थिए।
