इरानमा अमेरिकाको हवाई आक्रमण, बदलामा बहराइन, कुवेत र कतारमा तेहरानको  प्रतिआक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्धविरामको प्रभाव समाप्त भएको संकेत दिएको केही घण्टामै अमेरिकी सेना आक्रमणमा उत्रिएको हो।

असार २५, २०८३

एपी

US airstrike in Iran; in retaliation, Tehran launches counterattacks in Bahrain, Kuwait, and Qatar

What you should know

दुबई, संयुक्त अरब इमिरेट्स — अमेरिकाले बिहीबार बिहान इरानका विभिन्न सैन्य लक्ष्यमा नयाँ हवाई आक्रमण गरेको छ। त्यसको जवाफमा इरानले बहराइन, कुवेत र कतारलाई निशाना बनाएपछि फारसी खाडी क्षेत्रमा तनाव थप चर्किएको छ। घटनाले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्धविरामसमेत संकटमा परेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्धविरामको प्रभाव समाप्त भएको संकेत दिएको केही घण्टामै अमेरिकी सेना आक्रमणमा उत्रिएको हो। यसअघि इरानले ओमानको तट नजिकै व्यापारिक जहाजहरूलाई निशाना बनाएपछि अमेरिकाले बुधबार इरानका सैन्य अड्डा र बन्दरगाहमाथि आक्रमण गरेको थियो।

बिहीबारको आक्रमण थप व्यापक रहेको जनाइएको छ। अमेरिकी नौसेनाको पाँचौं बेडाको मुख्यालय रहेको बहराइनमा कम्तीमा दुई पटक हवाई आक्रमणको साइरन बजाइएको थियो। बहराइन, कुवेत र कतारमा भएको क्षतिको विवरण तत्काल सार्वजनिक गरिएको छैन। कुवेतको सेनाले ड्रोन र क्षेप्यास्त्र अवरोध गरिरहेको जनाएको छ भने इरानको रिभोलुसनरी गार्डले बहराइन र कुवेतमा आक्रमण गरेको दाबी गरेको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानभर करिब ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरिएको जनाएको छ। सेन्टकमका अनुसार अभियान हर्मुज जलमार्गमा जहाजहरूको स्वतन्त्र आवागमनमा खतरा उत्पन्न गर्ने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले सञ्चालन गरिएको हो।

इरानका सरकारी सञ्चारमाध्यमका अनुसार बुसेहर, चाबहार, कोनारक, बन्दर अब्बास र सिरिकलगायत क्षेत्रमा विस्फोट भएका छन्। इरानशहर विमानस्थलमा भएको आक्रमणमा एक अग्निनियन्त्रकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

अप्रिलयता पहिलो पटक अमेरिकी आक्रमणमा इरानका पूर्वाधार पनि निशानामा परेका छन्। सरकारी सञ्चारमाध्यमले गोलिस्तान प्रान्तको रेल पुलमा आक्रमण भएको जनाएका छन्। रिभोलुसनरी गार्डले मशहद जाने मार्गका दुई पुलमा पनि आक्रमण भएको जनाएको छ, जहाँ दिवंगत आयातोल्लाह अली खामेनीको अन्त्येष्टि गर्ने तयारी भइरहेको छ। यी दुई घटनाबीच सम्बन्ध रहेको वा नरहेको स्पष्ट भएको छैन।

नेटो शिखर सम्मेलनबाट फर्किएपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानमा भएका विस्फोटका भिडियो सार्वजनिक गर्दै पछिल्लो आक्रमणलाई इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोध भएको बताएका छन्। उनले फेरि जहाजमाथि आक्रमण भए अझ कडा सैन्य कारबाही हुने चेतावनी पनि दिएका छन्।

ट्रम्पले यसअघि इरानको विद्युत् पूर्वाधार, समुद्री पानी प्रशोधन केन्द्र र खार्ग टापुको तेल उत्पादन केन्द्रलाई पनि निशाना बनाउन सकिने चेतावनी दोहोर्‍याएका छन्।

यता इरानले अस्थायी युद्धविराम सम्झौताले आफूलाई हर्मुज जलमार्गको आवागमन व्यवस्थापन गर्ने अधिकार दिएको दाबी गरेको छ। संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले अमेरिका आक्रमणमा उत्रिए त्यसको प्रतिउत्तर दिइने चेतावनी दिएका छन्।

ट्रम्पले युद्धविराम सम्झौता प्रभावहीन भइसकेको अभिव्यक्ति दिएपछि युद्ध पुनः पूर्ण रूपमा चर्किने आशंका बढेको छ। यद्यपि उनले वार्ता जारी रहने बताएका छन्। उनको अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ।

खामेनीको अन्त्येष्टिपछि स्थायी शान्ति सम्झौताका लागि वार्ता सुरु गर्ने तयारी रहे पनि पछिल्ला सैन्य कारबाहीले वार्ताको भविष्य अन्योलमा परेको छ। प्रस्तावित वार्तामा हर्मुज जलमार्गमध्य पूर्ण रूपमा पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

एपी

Link copied successfully