योनले जनइच्छाबाट प्रेरित भएर मार्शल ल लगाएको बताउँदै आएका छन् । यद्यपी, अदालतले यसलाई सुनियोजित षड्यन्त्र ठहर गरेको छ ।
सियोल — दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार पूर्व राष्ट्रपति योन सुक यीओलमाथिको ७ वर्षे जेल सजाय सदर गर्ने निर्णय गरेको छ ।
सन् २०२४ मा मार्शल ल घोषणा गरेर लोकतन्त्रलाई कमजोर बनाउने तथा राजनीतिक अस्थिरता सिर्जना गर्ने काम गरेको आरोपमा उनीमाथि यो सजाय तोकिएको थियो ।
'सबै अपिलहरु खारेज गरिएको छ,' एक शीर्ष न्यायाधिसले टेलिभिजन सम्बोधनमा भने । उनले यसअघिको अदालतको आदेशलाई लिएर कानुनी रुपमा कुनै गलत बुझाई नरहेको बताए ।
योनको कानुनी टिमले यस निर्णयले गहिरो पछुतो लागेको जनाएको छ । सर्वोच्च अदालतले पर्याप्त गृहकार्य बिना नै यस्तो निर्णय गरेको निष्कर्ष टोलीले निकालेको छ ।
'हामी यस आदेशलाई संवैधानिक प्रक्रियामार्फत चुनौती दिन्छौं । जसमा संवैधानिक उजूरी पनि समावेश हुनेछ,' योनका एक वकिलले भने ।
यसअघि जनवरीमा एक तल्लो अदालतले उनीमाथि शक्तिको दूरूपयोग गरेको भन्दै ५ वर्षे जेलसँग सजाय सुनाएको थियो । उक्त मुद्दामा पुनरावेदन अदालतले ७ वर्ष सजाय सुनाएको थियो ।
महाभियोग लागेर हटेका यी राष्ट्रपति अहिले हिरासतमा छन् ।
उनले आफुले जनइच्छाबाट प्रेरित भएर मार्शल ल लगाएको बताउँदै आएका छन् । यद्यपी, अदालतले यसलाई सुनियोजित षड्यन्त्र भनेको छ । यसले सामाजिक रुपमा ठूलो क्षति पुर्याएको अदालतको ठहर छ ।
उत्तर कोरियामा ड्रोन पठाएको अर्को एक मुद्दामा योनमाथि ३० वर्षको जेल सजाय छ ।
