बहराइन र कुवेतका अमेरिकी अखडामा इरानको आक्रमण

हर्मुज जलमार्गमा तीनवटा तेल ट्याङ्करहरूमा प्रहार भएपछि अमेरिकी सेनाले मंगलबार इरानविरुद्ध नयाँ चरणको हवाई आक्रमण सुरु गरेको थियो । जवाफमा इरानले अमेरिकी सेनाका अखडालाई निशाना बनाएको हो ।

असार २४, २०८३

एजेन्सी

Iran attacks US bases in Bahrain and Kuwait

वासिङटन — इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले बुधबार बहराइन र कुवेतमा रहेका दर्जनौँ अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरेको दाबी गरेको छ । इरानीको सरकारी सञ्चारमाध्यम आईआरआईबीमार्फत जारी गरिएको विज्ञप्तिमा अमेरिकी सैन्य प्रहारको जवाफमा आक्रमण गरिएको उल्लेख छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, 'यस सैन्य कदमको प्रारम्भिक प्रतिक्रिया स्वरूप, आईआरजीसीको जलसेना र एयरोस्पेस फोर्सले संयुक्त मिसाइल र ड्रोन अपरेसनमार्फत ती दुई देशमा रहेका ८५ वटा महत्त्वपूर्ण अमेरिकी सैन्य सुविधाहरूमा प्रहार गरेका छन् ।' यसका साथै इरानले एउटा अमेरिकी एमक्यू–९  ड्रोन समेत खसालिएको जनाएको छ ।

हर्मुज जलमार्गमा तीनवटा तेल ट्याङ्करहरूमा प्रहार भएपछि अमेरिकी सेनाले मंगलबार इरानविरुद्ध नयाँ चरणको हवाई आक्रमण सुरु गरेको थियो । त्यस्तै, अमेरिकाले इरानलाई तेल बिक्री गर्न दिइएको सहुलियत समेत रद्द गरिदिएको थियो । यस कदमले दुई देशबीचको पहिलेदेखि नै कमजोर रहेको युद्धविरामलाई थप संकटमा पारेको छ ।

इरानका हत्या गरिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शोक मनाउन पवित्र सहर कोममा विशाल जनसागर उर्लिएकै दिन अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानका ८० भन्दा बढी स्थानमा आक्रमण गरेको थियो। अमेरिकाले यस आक्रमणको उद्देश्य इरानलाई 'ठूलो मूल्य चुकाउन' बाध्य पार्नु रहेको बताएको छ ।

अमेरिकी सैन्य कमाण्डले व्यापारिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर बनाउन इस्लामिक रिभोलुसनरी गार्ड्सका ६० भन्दा बढी साना डुङ्गाहरूमाथि प्रहार गरेको जनाएको छ ।

एजेन्सी

Link copied successfully