एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

डब्लुएमओले आगामी महिनामा एलनिनो बलियो हुने भन्दै, खडेरी, भारी वर्षा र गर्मीको लहरको जोखिम उल्लेखनीय रूपमा बढ्ने जनाएको छ ।

असार १९, २०८३

रासस/एएफपी

El Nino intensifies, increasing risk of drought and heavy rains

What you should know

जेनेभा — संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले एलनिनो आगामी केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिँदै विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने जनाएको छ । संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ ।

डब्लुएमओको मासिक विश्व मौसमी जलवायु अद्यावधिकअनुसार एलनिनो अवस्था अहिले नै सुरु भइसकेको छ र जुलाइदेखि सेप्टेम्बरसम्म यो ‘बलियो’ स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ । एलनिनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम असामान्य रूपमा बढ्दा उत्पन्न हुने प्राकृतिक जलवायु प्रणाली हो, जसका कारण विश्वभर हावाको बहाव, हावाको चाप तथा वर्षाको ढाँचामा व्यापक परिवर्तन देखापर्छ । यो घटना सामान्यतया २ देखि ७ वर्षको अन्तरालमा देखापर्छ र करिब ९ देखि १२ महिनासम्म सक्रिय रहन्छ । यसको विपरीत अवस्था ‘ला निना’ हो भने यी दुईबीच तटस्थ अवस्था पनि रहने गर्छ ।

डब्लुएमओले एलनिनोलाई कमजोर, मध्यम, बलियो र अत्यन्त बलियो गरी ४ तहमा वर्गीकरण गर्ने गरेको छ । यसपटक जुलाईदेखि सेप्टेम्बरको अवधिमा यो तेस्रो अर्थात् ‘बलियो’ श्रेणीमा पुग्ने अनुमान गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय जलवायु केन्द्रहरूले तयार पारेका मोडेलहरूले मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त क्षेत्रमा समुद्री सतहको तापक्रम निरन्तर बढ्ने देखाएका छन् । प्रमुख अनुगमन क्षेत्रहरूमा समुद्री सतहको तापक्रम औसतभन्दा २ डिग्री सेल्सियसभन्दा बढी रहने अपेक्षा गरिएको छ र यसले पूर्वानुमानप्रति उच्च विश्वसनीयता देखाएको डब्लुएमओले जनाएको छ ।

संगठनका अनुसार एलनिनो उत्तरी गोलार्धको शरद ऋतुमा अझ बलियो हुँदै जानेछ र यसको प्रभाव विश्वका धेरै भागमा फैलिनेछ । साथै भूमध्यरेखीय एटलान्टिक महासागर पनि सामान्यभन्दा बढी तातो रहने अनुमान गरिएको छ । पछिल्लो एल निनोले सन् २०२३ लाई इतिहासकै दोस्रो सबैभन्दा तातो वर्ष र २०२४ लाई पूर्वऔद्योगिक औसतभन्दा १.५५ डिग्री सेल्सियस बढी तापक्रमसहित अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनाउन महत्त्वपूर्ण योगदान दिएको थियो ।

डब्लुएमओका महासचिव सेलेस्टे साउलोले एलनिनोको तीव्रतासँगै धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, स्थल तथा समुद्री गर्मीको लहरको जोखिम बढ्ने बताए । उनले कृषि, स्वास्थ्यलगायत जलवायुसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा प्रारम्भिक चेतावनी प्रणाली र मौसमी पूर्वानुमानलाई अझ प्रभावकारी बनाइँदै आएको उल्लेख गर्दै समयमै सूचना प्रवाहले जनधनको क्षति घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

नयाँ अद्यावधिकले ६० डिग्री दक्षिणदेखि ६० डिग्री उत्तरसम्मका ध्रुवीय क्षेत्रबाहेक अधिकांश जनबसोबास भएका भूभागमा औसतभन्दा बढी तापक्रम रहने सम्भावना देखाएको छ । जुलाईदेखि सेप्टेम्बरसम्म केही क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ भने भारतीय उपमहाद्वीप र अस्ट्रेलियाका धेरै भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।

डब्लुएमओले जलवायु परिवर्तनका कारण एलनिनोको आवृत्ति वा तीव्रता बढेको ठोस प्रमाण नरहेको स्पष्ट पारे पनि तातो समुद्र र वातावरणका कारण गर्मीको लहर, भारी वर्षा तथा अन्य चरम मौसमीय घटनाको प्रभाव भने अझ गम्भीर बन्न सक्ने जनाएको छ ।

साथै उत्तरी गोलार्धको गर्मीयाममा एलनिनोसँग सम्बन्धित न्यानो समुद्री पानीले मध्य तथा पूर्वी प्रशान्त क्षेत्रमा आँधीबेहरीको गतिविधि बढाउन सक्ने तर अटलान्टिक महासागरमा यस्ता प्रणालीको विकासलाई कमजोर पार्न सक्ने डब्लुएमओले जनाएको छ ।

रासस/एएफपी

Link copied successfully