गाजामा रहेका २० लाखभन्दा बढी प्यालेस्टाइनीहरूको भाग्य अनिश्चित बनेको छ । ठूलो संख्यामा मानिसहरु भग्नावशेषहरूबीच बाँच्न बाध्य छन् ।
कायरो — हमासले इजरायलमा ७ अक्टुबर २०२३ मा झन्डै १२ सय सर्वसाधारणको ज्यान जानेगरी घातक आक्रमण गरेको थियो । त्यसको भोलिपल्टै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासविरुद्ध युद्ध घोषणा गरे ।
यसले हमास नियन्त्रित प्यालेस्टाइनको गाजा क्षेत्रमा एउटा नयाँ युद्धको शृंखला सुरु भयो । बिहीबार गाजामा युद्ध सुरु भएको १ हजार दिन भयो । र, यसको मूल्य सर्वसाधारणले चुकाउनुपरेको छ । यस अवधिमा पटक–पटक दुबै पक्षले युद्धविराम गरेपनि त्यसको कुनै प्रभाव देखिएको छैन ।
गाजामा रहेका २० लाखभन्दा बढी प्यालेस्टाइनीहरूको भाग्य अनिश्चित बनेको छ । ठूलो संख्यामा मानिसहरु भग्नावशेषहरूबीच बाँच्न बाध्य छन् । बिस्थापित हुनेहरुको संख्या पनि ठूलो छ । पछिल्लोपटक १० अक्टोबर २०२५ मा इजिप्ट र अमेरिकाको मध्यस्थतामा हमास र इजरायलबीच वार्ता भएको थियो ।
त्यसबेला हमासले हतियार त्याग्ने र इजरायलले कब्जामा लिएर भूभागबाट सेना फिर्ता गर्ने सहमति भएको थियो । त्यसैगरी, इजरायलले बन्दी बनाएका प्यालेस्टिनी र हमासले बन्दी बनाएका इजरायलीलाई रिहा गर्ने सहमति पनि भएको थियो । गाजापट्टीमा मानवीय सहयोग बढाउने विषयमा पनि दुई पक्षबीच सहमति भयो ।
त्यसैगरी, गाजाको पुननिर्माणका लागि योजना बनाउने सहमति पनि भएको थियो । तर, बन्दी आदनप्रदान र गाजाको पुननिर्माणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा बोर्ड गठनबाहेक अन्य शर्तहरु पालना भएनन् ।
गाजामा झन्डै आधा भूभाग आफ्नो नियन्त्रणमा लिइसकेको इजरायली सेनाले त्यसलाई निरन्तर बिस्तार गरिरहेको छ । झन्डै ७० प्रतिशत भूभाग कब्जामा लिने उसको लक्ष्य छ ।
गाजामा थोरै मानिसमात्र भित्र आउन वा बाहिर जान सक्छन् । ‘गाजालाई सामान्य अवस्थामा फर्काउनका लागि धेरै काम गर्न बाँकी छ । तर, अहिले हामी त्यो अवस्थामा पुगिसकेका छैनौं,’रेडक्रसको अन्तर्राष्ट्रिय समितिका क्षेत्रीय निर्देशक निकोलस भोन अर्कसले यसै साता भनेका थिए ।
युद्धविराम लागू भएदेखि इजरायली आक्रमणहरू घटेका छन् । तर, रोकिएका छैनन् । झन्डै दैनिक रुपमै आक्रमण चलेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता गत मंगलबारसम्म १,०५३ प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।
३५० भन्दा बढी महिला र बालबालिको नाम यस सुचीमा समावेश छ । केही दिनअघिमात्रै विद्यालय जाँदै गरेकी एक किशोरी र आफ्नी १ वर्षकी छोरीसँगै एक आमाको आक्रमणमा मृत्यु भयो ।
‘उनीहरूले बारम्बार भनेको युद्धविराम कहाँ छ ? उनीहरूलाई लाज लाग्नुपर्छ,’ एक प्यालेस्टाइनी महिला, विसाल अबु खातेरले भनिन् । उनले गाजाका जनतालाई सहयोग गर्नुको साटो अरब देशहरु विश्वकप फुटबलका खेल हेर्न व्यस्त रहेको बताइन् ।
मन्त्रालयका अनुसार युद्धविराम भएयता ३,४०० भन्दा बढी मानिस घाइते भएका छन् । यस मन्त्रालय हमासको नेतृत्वको नियन्त्रणमा सञ्चालित छ र यसले राख्ने अभिलेखलाई संयुक्त राष्ट्र संघका एजेन्सीहरू र स्वतन्त्र विज्ञहरूले सामान्यतया विश्वसनीय मान्ने गरेका छन् ।
मन्त्रालयले सर्वसाधारण र लडाकुहरूको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्दैन । तर ज्यान गुमाउनेहरूमध्ये मृतकमध्ये ठूलो संख्या महिला र बालबालिका रहेको जनाएको छ ।
इजरायली सेनाले आफूले हमास र अन्य लडाकुहरूलाई निशाना बनाउने दाबी गर्दै आएको छ । अक्टोबर ७, २०२३ मा हमासको नेतृत्वमा दक्षिणी इजरायलमा १२ सयजनाको मृत्यु हुनेगरी भएको आक्रमणमा करिब २५१ जनालाई बन्धक बनाइएको थियो । युद्धविरामपछि दुबै पक्षले बन्दीहरुलाई रिहा गरेका छन् ।
मृतकको शव पनि हस्तान्तरण गरिसकेका छन् । केही बन्धकहरूले आफूमाथि भएका दुव्र्यवहारहरूको विवरण सार्वजनिक गरेका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलको जवाफी कारबाहीमा २०२३ देखि गत मंगलबारसम्म कुल ७३,०६६ प्यालेस्टाइनीहरूको मृत्यु भइसकेको छ ।
युद्धविरामको रेखदेख गरिरहेका शीर्ष कूटनीतिज्ञ निकोले म्लादेनोभका अनुसार हमासको निशस्त्रीकरणजस्ता जटिल मुद्दाका कारण युद्धविरामको समय भएका सम्झौताहरुको कार्यान्वयन ठप्प छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १७ जनवरी २०२६ मा आफ्नो नेतृत्वमा गाजामा ‘बोर्ड अफ पिस’ गठन गरेका थिए । अर्बौंको लगानी ल्याएर गाजामा अत्याधुनिक शहर निर्माण गर्ने यस बोर्डको लक्ष्य छ । तर इजरायल–हमासबीचको तनाव जारी रहेकाले यसको कार्यान्वयन अनिश्चित बनेको छ । पछिल्लोपटक यस बोर्डले कुनै पनि कार्यक्रम सार्वजनिक गरेको छैन ।
हमासको निशस्त्रीकरणपछि गाजामा नयाँ प्रशासन गठन गरिने, सुरक्षा तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय सुरक्षा फौज परिचालन गरिनेलगायत विषय युद्धविराम सम्झौतामा उल्लेख थियो ।
हमासले निशस्त्रीकरणलाई पूर्ण रूपमा अस्वीकार गरेको छैन । तर, केही हतियारहरू आफूसँगै राख्न चाहेको संकेत गरेको छ ।
गाजा र त्यसपछि पश्चिम एसियामा जारी युद्धहरुका कारण इजरायल आफैं पनि समस्यामा छ । पछिल्ला दिनहरुमा लेबनानको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह, यमनको इरान समर्थित हुथी विद्रोही र इरान आफैंले पनि इरायललाई निशानामा राखेको छ ।
इरानका सशस्त्र छद्म समुहहरुले प्यालेस्टाइनीहरूसँग ऐक्यबद्धता जनाउँदै आएका छन् । नेतान्याहुले फेब्रुअरी २८ मा अमेरिकासँग मिलेर इरानमाथि संयुक्त रूपमा आक्रमण गरेको थियो । त्यसपछि लेबनानको हिजबुल्लाहले पनि इजरायलमाथि आक्रमण ग¥यो । यसले लेबनानमा द्वन्द्वलाई फेरि ब्युँताइदियो । अहिले इजरायली सेनाले लेबनानमा ठूलो भूभाग कब्जा गरेको छ । तर, कुनै पनि मोर्चा पूर्ण रूपमा शान्त छैन ।
इजरायली सैनिकहरूको बढ्दो मृत्यु, लेबनानसँगको इजरायली सीमामा जारी आक्रमणहरू, गाजामाथि गरिएको आक्रमणको अन्तर्राष्ट्रिय विरोधलगायतले नेतान्याहुको छविमै दाग लागेको छ । यसै वर्ष अक्टुबरको अन्त्यमा इजरायलमा संसदीय चुनाव हुँदैछ ।
सर्वेक्षणहरुका अनुसार ६० प्रतिशत जनताहरु प्रधानमन्त्रीमा नेतान्याहू दोहोरिएको हेर्न चाहर्दैनन् । नेतान्याहू सरकारको कमजोरीकै कारण ७ अक्टुबरमा आक्रमण भएको, सुरक्षा कमजोरीबारे छाविन गर्न सरकारले आयोग समेत गठन नगरेको र नेतान्याहूका उग्र दक्षिणपन्थी सत्ता साझेदारहरुले उपभोग गरिरहेको सेवा–सुविधा र छुटले जनताहरु आक्रोशित भएका छन् ।
गाजाका प्यालेस्टाइनीहरू आफ्नो सहनशीलता अन्तिम अवस्थामा पुगिसकेको बताउँछन् । उनीहरुमध्ये कोही आधारभूत सुविधाहरू समेत नभएका त्रिपालमुनी बसिकेका छन् । कोही बमले ध्वस्त भएका भवनका भग्नावशेषमै आश्रय लिइरहेका छन् । यससँगै दैनिक रुपमा उनीहरुले इजरायली ड्रोनको आवाज र आक्रमणको त्रस खेपिरहेका छन् ।
औषधि र इन्धनजस्ता मानवीय सहायताका सामाग्रीमा युद्धपछि व्यापक वृद्धि हुने अनुमान लगाइएको थियो । तर, सहायता समूहहरू र अन्य सरोकारवालाहरू त्यस्तो अवस्था अहिले नरहेको बताउँछन् । गाजाका सबै सीमा–नाकाहरू अझै पनि इजरायलले कडा रूपमा नियन्त्रण गरेको छ । कतिपय अवस्थामा ती पूर्ण रूपमा बन्द समेत गरिन्छन् । १७ वटा अस्पतालहरू अझै सञ्चालनमा आउन नसकेको गत महिना संयुक्त राष्ट्र संघले जनाएको थियो ।
इजरायलको झन्झटिलो स्वीकृति र भन्सार प्रक्रियाहरूले महत्वपूर्ण सामाग्रीहरु गाजामा पठाउन कठिन भएको संयुक्त राष्ट्र संघका मानवीय मामिला प्रमुख टम फ्लेचरले बताएका छन् ।
गत वर्षको अगस्टमा गाजा सहरमा अनिकाल घोषणा गरिएको थियो, तर खाद्य सुरक्षा विज्ञहरूले युद्धविरामपछि त्यस अवस्थामा सुधार भएको बताएका छन् ।
त्यसैगरी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले प्यालेस्टिनी शरणार्थीहरुका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको निकाय (युएनआरडब्ल्युए) को वित्तिय अभाव पूर्ति गर्नका लागि १० करोड डलर सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग गत मंगलबार आग्रह गरेका छन् ।
बजेट अभावका कारण लाखौं मानिसहरुको जीवन संकटमा परेको उनले बताए । सन् १९४८ मा इजरायल स्थापना हुँदा आफ्ना घरबार छोड्न बाध्य भएका प्यालेस्टिनीहरुलाई मानवीय सहयोग गर्ने लक्ष्यसहित राष्ट्रसंघको बैठकले १९४९ मा युनएनआरडब्ल्युए गठन गरिएको थियो । यस संस्थाले गाजा, वेस्ट बैंक, पूर्वी जेरुसलेम, लेबनान, जोर्डन र सिरियामा शिक्षा, स्वास्थ्य र सामाजिक सहयोग गर्दै आएको छ । झन्डै २६ लाख प्यालेस्टिनीय शरणार्थीलाई यसले आश्रय उपलब्ध गराएको छ ।
पछिल्लोपटक ६ महिनाअघि मात्रै राष्ट्रसंघको महासभाले अधिकांश सदस्य राष्ट्रको समर्थनमा यस निकायलाई नवीकरण गर्ने निर्णय गरेको थियो । तर बजेट अभावका कारण आफ्ना सेवाहरु कटौती गर्न यो निकाय बाध्य छ ।
