पश्चिम बंगालको  पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते

घाइतेको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ

असार १६, २०८३

कान्तिपुर संवाददाता

Fire breaks out at petrochemical plant in West Bengal, 20 injured

कोलकत्ता — भारतको पश्चिम बङ्गालस्थित एक पेट्रोकेमिकल प्लान्टमा आज भएको आगलागीमा कम्तीमा २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आगलागी हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित प्लान्टको नेफ्था पाइपलाइनमा भएको थियो । पश्चिम बङ्गालको पूर्वा मेदिनीपुर जिल्लास्थित उक्त क्षेत्रमा तीव्र रूपमा आगो फैलिएको थियो । प्रहरीका अनुसार आगो नियन्त्रणका लागि १२ वटा दमकल परिचालन गरिएको थियो । 

घाइतेको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइतेमध्ये प्लान्टका कामदार तथा कम्तीमा दुई जना सुरक्षा गार्ड रहेका छन् । घटनास्थलबाट प्राप्त दृश्यमा जलिरहेको पाइपलाइनबाट बाक्लो कालो धुवाँ निस्किएको तथा अग्निनियन्त्रकले पानीको फोहोरा प्रयोग गरी आगो नियन्त्रणमा लिएको देखिएको छ ।

आगलागीको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ । हल्दिया पेट्रोकेमिकल्सले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully