भेनेजुएला भूकम्प : कम्तीमा १४३० को मृत्यु, उद्धार प्रयास जारी

३२ घण्टासम्म भग्नावशेषमा पुरिएका १८ दिने एक शिशुको सकुशल उद्धार

असार १४, २०८३

एजेन्सी

Venezuela earthquake: At least 1,430 dead, rescue efforts underway

काराकास — भेनेजुएलामा बुधबार गएको विनाशकारी भूकम्पमा परी कम्तीमा १४३० जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा ६८ हजार ९०० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

स्थानीय समयअनुसार साँझ ६ बजे राजधानी काराकासबाट पश्चिममा रहेको युमारे सहरलाई केन्द्र बनाएर ७.२ र ७.५ म्याग्निच्युडका दुई वटा भूकम्प गएको थियो । 

सबैभन्दा धेरै विनाश भएको ला गुइरा राज्यमा ट्राफिक जामका कारण खोजी कार्यमा बाधा पुगेपछि अधिकारीहरूले शुक्रबार रातिदेखि अनुमति पास भएकाहरूलाई मात्रै उक्त क्षेत्रमा छिर्न दिने निर्णय गरेका छन् ।

भेनेजुएलाकी कार्यवहाक राष्ट्रपति डेल्सी रोड्रिगेजले १४ हजार सेना तथा प्रहरीले उक्त क्षेत्रमा गस्ती गरिरहेको बताएकी छिन् । तर, विपद् क्षेत्रका स्थानीयहरुले सरकारी उपस्थिति निकै कमजोर रहेको गुनासो गरेका छन् ।

ला गुइरास्थित भग्नावशेषमा परिणत भएको एक भवनमा स्थानीयहरूले हतौडा र इलेक्ट्रिक औजारहरूको प्रयोग गरी कङ्क्रिटका ठूला टुक्राहरू काट्ने प्रयास गरिरहेका थिए । नजिकै आफ्ना प्रियजनको काँधमा टाउको राखेर नासरेथ जिमेनेज रोइरहेकी थिइन् । 

उद्धारकर्मीहरुले भग्‍नावशेषमा पुरिएकाहरुलाई जीवितै उद्धार गर्ने प्रयास जारी राखेका छन् । यसैक्रममा ३२ घण्टासम्म भग्नावशेषमा पुरिएका १८ दिने एक शिशुको सकुशल उद्धार भएको छ । 

विपद्ले सबैभन्दा ठूलो प्रभाव पारेको ला गुएरा क्षेत्रमा शिशुलाई उद्धार गरिएको १९ मिनेटपछि उनकी आमालाई पनि भग्नावशेषबाट निकालियो । उनीहरु सामान्य घाइते रहेको उद्धारकर्मीले जनाएका छन् । आफ्नो बच्चालाई देख्न पाउँदा शिशुका पिता खुसीले रोएका थिए ।

भेनेजुएलाकी कार्यवहाक राष्ट्रपति डेल्सी रोड्रिगेजले यस घटनाले विपद्मा पनि आशाको सञ्चार गराएको बताएकी छिन् । अर्को एक भिडियो फुटेजमा ला गुएरामै २४ घण्टाभित्र भग्नावशेषमा फसेका एक चार वर्षीय बालकको सफल उद्धार भएको देखिन्छ । यी बच्चाका आमा–बाबुलाई पनि सफल उद्धार गरिएको थियो । 

अमेरिकाको खोजी तथा उद्धार टोली (भर्जिनिया टास्क फोर्स वान) ले सार्वजनिक गरेको अर्को एक भिडियोमा नौ महिनाका बालकलाई भग्नावशेषबाट निकालिएको देख्न सकिन्छ । यी बालककी आमालाई पनि सकुशल उद्धार गरिएको र आमा-बच्चा दुबै सामान्य घाइते रहेको उद्धारकर्मीहरुले जनाएका छन् । 

‘असम्भवजस्तो लाग्ने अवस्थामा पनि आशा रहन्छ । हरेक जीवन बचाउनु एक विजय हो,’ टोलीले लेखेको छ । 

एजेन्सी

Link copied successfully