इरानका विदेशमन्त्री अब्बास अराग्चीले भने,'हर्मुजको जलमार्ग आगामी ३० दिनसम्म इरानको पूर्ण निगरानी र व्यवस्थापनमा रहनेछ । सबै अवरोधहरु हटाइसकेपछि यस जलमार्गलाई पूर्ण क्षमताअनुसार सञ्चालन गरिनेछ ।’
तेहरान — इरानका विदेशमन्त्री अब्बास अराग्चीले हर्मुज जलमार्गमा आगामी ३० दिनसम्म इरानको पूर्ण नियन्त्रण कायमै रहने बताएका छन् । इराक भ्रमणका क्रममा उनले यस्तो बताएका हुन् ।
‘मैले आफ्ना समकक्षीलाई इरानमाथि लादिएको युद्धको पछिल्लो परिणामबारे बताएको छु । त्यस्तै इरान र अमेरिकाबीचको पछिल्लो समझदारीबारे पनि बताएको छु,’ इराकी विदेशमन्त्री फुआद हुसैनसँगको भेटपछि अराग्चीले भने,‘हर्मुजको जलमार्ग आगामी ३० दिनसम्म इरानको पूर्ण निगरानी र व्यवस्थापनमा रहनेछ । सबै अवरोधहरु हटाइसकेपछि यस जलमार्गलाई पूर्ण क्षमताअनुसार सञ्चालन गरिनेछ ।’
यसअघि इरान र अमेरिकाबीच भएको १४ बुँदे सम्झौतामा अमेरिकाले ३० दिनभित्र हर्मुज इरानी बन्दरगाहहरुमा लगाएको नाकाबन्दी खुलाउने र इरानले युद्धपूर्वकै अवस्थामा आवागमन सुनिश्चित गर्ने उल्लेख थियो ।
इरान–अमेरिकाबीच शुक्रबारदेखि लगातार आक्रमण–प्रत्याक्रमण चलिरहेको छ । जसकारण, सम्झौता कार्यान्वयनको विषय पेचिलो बनेको छ । सम्झौतापछि संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) सँग समन्वय गरेर ओमानको जलक्षेत्रअन्तर्गत पर्ने दक्षिण कोरिडोर हुँदै जहाजहरु बाहिरिएको भएपनि पछिल्लो समय इरानले यसमा रोक लगाएको छ ।
बिहीबार इरानले हर्मुज जलमार्ग हुँदै बाहिरिने जहाजहरुलाई इरानी जलक्षेत्रको उत्तरी कोरिडोरमात्रै प्रयोग गर्न निर्देशन दिएको थियो । यस कोरिडोर हुँदै अघि बढ्ने जहाजसँग इरानले शुल्क उठाउँदै आएको छ ।
ओमानको जलक्षेत्र हुँदै अघि बढेका केही जहाज इरानको चेतावनीपछि उक्त दिन फर्किएर दक्षिणी कोरिडोरमै आएका थिए । शुक्रबार दक्षिण कोरिडोर हुँदै अघि बढेको सिंगापुरको ध्वजावहाक एभर लभ्ली जहाजलाई इरानले ड्रोन आक्रमण गरेको थियो । त्यसपछि आईएमओले जहाजहरुलाई बाहिर ल्याउन संयोजन गर्ने काम स्थगित ग¥यो । शनिबार पानामाको ध्वजावहाक एमटी किकु जहाजमाथि पनि इरानले आक्रमण गरेको थियो ।
चेतावनी आक्रमणपछि हर्मुजबाट बाहिरिने जहाजहरुको संख्या क्रमशः घटेको छ । बुधबार ७० जहाजले हर्मुज पार गरेका थिए । बिहीबार इरानको चेतावनीपछि ५४ जहाजमात्रै बाहिरिए । शनिबार यो संख्या घटेर ४० मा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सिंगापुरको जहाजमाथि भएको आक्रमणको विरोधस्वरुप शुक्रबार र शनिबार अमेरिकी सेनाले इरानको समुद्री क्षेत्र र मिसाइल केन्द्रहरुमा आक्रमण गरेको छ । जवाफमा इरानले पनि कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य ठेगानाहरुमा प्रत्याक्रमण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बढ्दो आक्रमणले उसलाई राम्रो नगर्ने चेतावनी दिएका छन् । ‘यदी अमेरिकालाई युद्ध पुन सुरु गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा रहने छैन,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
