मुख्य भूकम्पपछि हालसम्म २१४ वटा पराकम्पन महसुस गरिएको छ ।
What you should know
काठमाडौँ — भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुगेको छ । भूकम्पमा अन्य ३ हजार ३६० जना घाइते भएका छन् भने कम्तीमा १७२ जना अझै बेपत्ता रहेको अनुमान गरिएको छ ।
राष्ट्रिय सभाका प्रमुख होर्खे रोड्रिगेजले शुक्रबार सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् ।
राजधानी काराकाससहित देशको उत्तरी क्षेत्रमा दुईवटा शक्तिशाली भूकम्पले दर्जनौं भवन ध्वस्त बनाएको छ । प्रभावित क्षेत्रमा घाइतेहरूको अस्थायी स्वास्थ्य शिविरमा उपचार भइरहेको छ ।
अधिकारीहरूका अनुसार राजधानीको उत्तरमा रहेको ला ग्वाइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ । उक्त क्षेत्रमा देशका प्रमुख बन्दरगाहमध्ये एक तथा मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल अवस्थित छ ।
सरकारका एक वरिष्ठ अधिकारीका अनुसार सयौं अन्तर्राष्ट्रिय उद्धारकर्मी भेनेजुएला पुगेका छन् भने थप टोली आउने क्रममा छ । ला ग्वाइरामा मात्रै हालसम्म २४३ जनाको सकुशल उद्धार गरिएको छ ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले दर्जनौं व्यक्तिलाई जीवितै उद्धार गरिएको र उनीहरूलाई परिवारसँग पुनर्मिलन गराउन सफल भएको बताइन् । उनका अनुसार मुख्य भूकम्पपछि हालसम्म २१४ वटा पराकम्पन महसुस गरिएको छ ।
होर्खे रोड्रिगेजका अनुसार सयौं भवन क्षतिग्रस्त वा ध्वस्त भएका छन् । क्षतिग्रस्त संरचनामा अस्पताल, सपिङ सेन्टरसहित कम्तीमा एक हजार अन्य पूर्वाधार रहेका छन् ।
बुधबार केही सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पमध्ये दोस्रोको तीव्रता ७.५ म्याग्निच्युड मापन गरिएको थियो । यो पछिल्लो एक शताब्दीमा भेनेजुएलामा गएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ ।
विदेशी नागरिकको पनि मृत्यु
यसैबीच, भूकम्पमा विभिन्न देशका नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ । पोर्चुगलले १५, चीनले सात, स्पेनले कम्तीमा पाँच, ब्राजिलले दुई तथा इटालीले एक नागरिकको मृत्यु भएको जनाएको छ ।
स्पेनले भूकम्प प्रभावितका लागि १० लाख युरो राहत सहयोग घोषणा गरेको छ ।
