सरकारी उद्धारकर्मीहरु पुग्न नसक्दा कतिपय स्थानमा स्थानीयहरु आफ्ना आफन्त तथा प्रियजनको खोजी कार्यमा एक्लै जुटिरहेका छन् ।
ला गुइरा — भेनेजुएलामा स्थानीय समयअनुसार बुधबार साँझ गएका ७.२ र ७.५ म्याग्निच्युडका दुई विनाशकारी भूकम्पमा ९ सय २० जनाको मृत्यु पुष्टि भएको छ । ३३ सयभन्दा धेरै घाइते छन् । ५१ हजारभन्दा धेरै मानिस बेपत्ता छन् ।
उद्धार तथा सहयोगमा खटिने निकायहरुका अनुसार भूकम्पपछिको पहिलो ४८ देखि ७२ घण्टामा मानिसहरु जीवितै उद्धार हुने संभावना सबैभन्दा धेरै रहन्छ ।
यो संभावनालाई लामो समय कायम राख्न पानी र खाना महत्वपूर्ण हुन्छ । उद्धारकर्मीहरुले भत्किएका घर र भवनका भग्नावशेषहरूमा मानिसहरुको खोजी गरिरहेका छन् ।
सबैभन्दा धेरै विनाश भएको ला गुइरा राज्यमा ट्राफिक जामका कारण खोजी कार्यमा बाधा पुगेपछि अधिकारीहरूले शुक्रबार रातिदेखि अनुमति पास भएकाहरुलाई मात्रै यस क्षेत्रमा छिर्न दिने निर्णय गरेका छन् । तर कसलाई प्रवेश दिइनेछ भन्नेबारे विस्तृत जानकारी सार्वजनिक छैन ।
सरकारी उद्धारकर्मीहरु पुग्न नसक्दा कतिपय स्थानमा स्थानीयहरु आफ्ना आफन्त तथा प्रियजनको खोजी कार्यमा एक्लै जुटिरहेका छन् । उनीहरुले अति प्रभावित क्षेत्रहरुमा उद्धारकर्मीको कमी रहेको गुनासो गरेका छन् ।
‘अहिले प्रत्येक व्यक्तिको उद्धार एक चमत्कार हो,’ भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले भने, ‘हामी यस त्रासदीबारे बिल्कुलै केही लुकाउने छैनौं ।’ भूकम्प गएको लामो समय बितिसक्दा पनि परिवारहरुले आफ्ना प्रियजन तथा आफन्त भेटिने आश कायमै राखेका छन् ।
ला गुइरास्थित भग्नावशेषमा परिणत भएको एक भवनमा स्थानीयहरुले हतौडा र इलेक्ट्रिक औजारहरूको प्रयोग गरी कङ्क्रिटका ठूला टुक्राहरू काट्ने प्रयास गरिरहेका थिए ।
नजिकैबाट यस्तो दृश्य हेर्दै आफ्ना प्रियजनको काँधमा टाउको राखेर नासरेथ जिमेनेज रोइरहेकी थिइन् । आफ्ना भाइबहिनी, भतिजाभतिजी, भान्जाभान्जी र साथीहरू जीवितै निस्कने आशामा पर्खिरहेकी उनी तीव्र छटपटी र चिन्तामा थिइन् ।
‘हे भगवान, हामी उनीहरूलाई त्यहाँबाट कसरी बाहिर निकाल्ने होला ?’ जिमेनेजले सुस्केरा हाल्दै भनिन् । उनले भत्किएका संरचनाहरू हटाउनका लागि ठूला मेसिनरीहरू आवश्यक रहेको बताइन् ।
‘हामी सरकार र विश्वभरका देशहरूलाई सहयोगका लागि अपिल गरिरहेका छौँ । त्यहाँभित्र अझै पनि मानिसहरू जीवितै छन् ।’
सरकारी सुरक्षाकर्मीले ला गुइरामा मानिसहरूलाई खाना र पानी वितरण गरिरहेका छन् । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले मानिसहरूलाई जीवितै उद्धार गर्नका लागि उद्धारकर्मी र सरकारी अधिकारीहरु खटिरहेको बताएकी छिन् ।
उनले अन्तर्राष्ट्रिय उद्धारकर्ता र मानवीय सहायताको आगमनलाई स्वागत गरेकी छिन् । स्थानीय बासिन्दाहरूले भने आवश्यकताअनुसार सहयोग प्राप्त नभएको गुनासो गरिरहेका छन् ।
मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । मानिसहरूले स्वतन्त्र डिजिटल डेटाबेसहरूमा हजारौँ मानिसहरू बेपत्ता भएको रिपोर्ट गरेका छन् ।
मोबाइल फोनको सिग्नल नभएका कारण सम्पर्कविहीन अवस्थामा रहेका मानिसहरू पनि यो तथ्याङ्कमा समावेश हुन सक्छन् । केही विवरण दोहोरिएका पनि हुन सक्छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ६७.६ लाख जति मानिसहरू भूकम्पले प्रभावित हुन सक्ने बताएको छ । राजधानी काराकासमा झन्डै २० लाख मानिस प्रभावित छन् ।
ओमार रेयेसले आफ्ना परिवारका करिब २० जना सदस्यको मृत्यु भएको बताए । आफ्ना दुई छोराहरू पुरिएको भग्नावशेषमा हिँड्दै रेयेसले भने, ‘यो जीवनमा म अब एक्लो भएको छु ।’
अमेरिका क्षेत्रका लागि अन्तर्राष्ट्रिय रेडक्रसकी क्षेत्रीय निर्देशक लोयस पेसले भनिन्, ‘मानिसहरू अझै पनि आफ्ना घरभित्र छिर्न त्रसित छन् ।’ धेरै मानिसहरूले अझै पनि सडकमै रात बिताइरहेका छन् ।
माइकेटिया सहरस्थित सडकमा अव्यवस्था, भीड र सवारीको चर्को आवाजले कतिपय अवस्थामा खोजी कार्यमा बाधा पुर्याइरहेको थियो ।
मेक्सिकन सैनिक र स्वयंसेवकहरूले भग्नावशेषमुनि मानिस चिच्याइरहेको हुनसक्ने भन्दै स्थानीयलाई पटक–पटक शान्त रहन आग्रह गरे । तर यस आग्रहका बाबजुद मोटरसाइकल चालकहरूले इन्जिन बन्द गरेनन् । कतिपयले हर्न पनि बजाइरहे ।
देशको मुख्य विमानस्थल सिमोन बोलिभर इन्टरनेशनल एयरपोर्टबाट झन्डै १० मिनेट दूरीमा रहेको कातिया ला मार शहरस्थित पसलहरूबाट केही मानिसहरूले ट्वाइलेट पेपर र खाद्यान्नजस्ता आधारभूत सामानहरू भटाभट लगिरहेका थिए ।
केही मानिसहरूले रोटी र पानी बाँडिरहेको एउटा पिकअप ट्रकलाई घेरे । त्यसपछि एक सैनिकले त्यहाँ आएर उनीहरुलाई रोक्दै गाडीको सुरक्षा गरे । एउटा औषधि पसलको पार्किङ स्थलमा त्रिपाल टाँगेर अस्थायी शिविरमा खडा गरिएको थियो ।
त्यहाँबाट केही किलोमिटर टाढा २८ वर्षीया युलेइडी काडेनास एउटा भत्किएको सरकारी आवास भवनको पारिपट्टि सडकमा उभिएकी थिइन् । उनी आफ्नो छोरा, आमा र भाइलाई जीवितै बाहिर निकालिनेछ भन्ने आशामा थिइन् । बुधबार एउटा भवन भत्किएको देखेपछि उनी खाली खुट्टा भागेकी थिइन् ।
आफ्नी आमा बस्ने १२ तले अपार्टमेन्ट टावर पनि पूर्ण रूपमा ध्वस्त भएको उनले थाहा पाइन् । ‘म भग्नावशेषमाथि चढेँ। भित्र पुरिएकाहरूलाई आवाज दिन भनेँ । तर कसैले पनि जवाफ दिएनन् : मेरो भाइले, न मेरो छोराले, न त मेरी आमाले नै,’ काडेनासले भनिन् ।
भेनेजुएलाका अधिकारीहरूले शुक्रबार मेक्सिको, अमेरिका, एल साल्भाडोर, स्विट्जरल्याण्ड, कोलम्बिया र अन्य देशहरूबाट ८६१ जना स्वयंसेवकहरू देशमा आइसकेको र अन्य ठाउँहरूबाट अझै आउने क्रममा रहेको बताएका छन् ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मन्त्री मार्को रुबियोसँग कुरा गरेको र उनीहरूले उद्धार टोली तथा सहायता उपकरणहरू पठाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको बताएकी छिन् ।
