भेनेजुएलाको भूकम्पमा ठूलो संख्यामा विदेशी नागरिकको मृत्यु

चीन,स्पेन,पोर्चुगल,ब्राजिललगायत देशले भेनेजुएलाको भूकम्पमा परेर आफ्नो देशका नागरिकको मृत्यु भएको जनाएका छन् ।

असार १३, २०८३

एएफपी

Large number of foreigners killed in Venezuela earthquake

काठमाडौँ — भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । ठूलो संख्यामा विदेशी नागरिकको पनि मृत्यु भएको देखिएको छ । 

हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा पोर्चुगिज नागरिक वा पोर्चुगिज मूलका १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । पोर्चुगलको विदेश मन्त्रालयले यसअघि नौ जनाको मृत्यु र ५६ जना बेपत्ता रहेको जनाएको थियो ।

चीनको सरकारी प्रसारक सिसीटिभीले काराकासस्थित चिनियाँ दूतावासलाई उद्धृत गर्दै सात चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ । दूतावासले भेनेजुएलामा रहेका आफ्ना नागरिकलाई पराकम्पन तथा अन्य सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।

स्पेनले पनि आफ्ना कम्तीमा पाँच नागरिकको मृत्यु भएको तथा ११९ जना अझै बेपत्ता रहेको जनाएको छ । भग्नावशेषबाट १४ जनालाई फेला पारिएको स्पेनी अधिकारीहरूले बताएका छन् । स्पेनले राहतका लागि १० लाख युरो सहयोग घोषणा गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार भेनेजुएलामा करिब एक लाख ४७ हजार स्पेनी नागरिक बसोबास गर्दै आएका छन् ।

ब्राजिलको विदेश मन्त्रालयले भूकम्पमा आफ्ना दुई नागरिकको मृत्यु भएको पुष्टि गर्दै उनीहरूका परिवारलाई कन्सुलर सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।

इटालीको विदेश मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रभावित ला गुएरा क्षेत्रमा भवन भत्किँदा काराकासमा जन्मिएका तथा इटालियन र भेनेजुएली दुवै नागरिकता भएका ५० वर्षीय एक पुरुषको मृत्यु भएको छ । इटालीका करिब एक लाख ७० हजार राहदानीवाहक भेनेजुएलामा बसोबास गर्दै आएको अनुमान गरिएको छ । 

एएफपी

Link copied successfully