रुसी राष्ट्रपतिका प्रेस सल्लाहकार दिमित्री पेस्कोभले विश्वव्यापी सुरक्षा प्रणाली क्रमशः कमजोर हुँदै गएको बताए
काठमाडौँ — विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने एकमात्र माध्यम आणविक हतियार रहेको दाबी रुसले गरेको छ । विश्वव्यापी सुरक्षा संरचना कमजोर बन्दै गएको तथा नयाँ बहुराष्ट्रिय हतियार प्रतिस्पर्धाको चिन्ता बढिरहेका बेला रुसले यस्तो धारणा सार्वजनिक गरेको हो ।
रूस रअमेरिकाबीचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि ‘न्यू स्टार्ट’गत फेब्रुअरीमा समाप्त भएपछि विश्वका दुई प्रमुख आणविक शक्तिमाथिका प्रतिबन्ध हटेका छन् । दुवै देशले उच्चस्तरीय सैन्य वार्ता पुनः सञ्चालन गर्ने सहमति जनाए पनि उक्त सन्धिको नवीकरण वा प्रतिस्थापनका विषयमा हालसम्म कुनै ठोस प्रगति भएको छैन ।
मस्कोमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रुसी राष्ट्रपतिका प्रेस सल्लाहकार दिमित्री पेस्कोभले विश्वव्यापी सुरक्षा प्रणाली क्रमशः कमजोर हुँदै गएको बताए । 'आणविक प्रतिरोधबाहेक विश्वसँग अब केही बाँकी छैन । यही एकमात्र तत्व हो, जसले विश्वलाई विश्वयुद्धबाट जोगाइरहेको छ,' उनले भने ।
प्रविधिको तीव्र विकाससँगै भविष्यमा नयाँ प्रकारका गैर–आणविक हतियार विकास हुन सक्ने उनले बताए । विनाशकारी क्षमताका हिसाबले ती हतियार आणविक हतियारसरह हुन सक्ने उनले बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र अमेरिकाबीच नयाँ आणविक नियन्त्रण सन्धि गर्दा चीनलाई पनि समेट्नुपर्ने धारणा राख्दै आएका छन् । यद्यपि, बेइजिङले उक्त प्रस्तावप्रति सार्वजनिक रूपमा असहमति जनाएको छ ।चीनको आणविक भण्डार विस्तार भइरहेको भए पनि त्यो अझै रूस र अमेरिकाको तुलनामा निकै सानो रहेको बताइन्छ ।
रुसले भने चीनसँगै बेलायत र फ्रान्सलाई पनि त्यसमा सहभागी गराइनुपर्ने अडान राखेको छ । सन् २०१० मा हस्ताक्षर भएको ‘न्यू स्टार्ट’ शीतयुद्धपछिका आणविक हतियार नियन्त्रणसम्बन्धी प्रमुख सम्झौतामध्ये अन्तिम सन्धि थियो । उक्त सन्धिले रूस र अमेरिकाले अधिकतम एक हजार ५५० वटा तैनाथ आणविक वारहेड राख्नसक्ने सीमा तोकेको थियो ।
सन्धिको अवधि समाप्त हुनुअघि दुवै देशले एकअर्कामाथि सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाउँदै आएका थिए ।
