डब्ल्यूएचओले मंगलबार जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार हाल ३८७ जना बिरामीहरूले उपचार प्राप्त गरिरहेका छन् भने ११५ जना निको भएका छन् ।
काठमाडौँ — डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) मा एक हजार ९४ जनामा इबोलाको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । डब्ल्युएचओका अनुसार २७७ जनाको मृत्यु भइसकेको छ ।
डब्ल्यूएचओले मङ्गलबार जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार हाल ३८७ जना बिरामीहरूले उपचार प्राप्त गरिरहेका छन् भने ११५ जना निको भएका छन् । त्यस्तै ४४ जना व्यक्तीको मृत्यु शंकास्पद रहेको र १३१ वटा घटनाहरु पनि पुष्टि हुन बाँकी रहेको कंगोका अधिकारीहरुले बताएका छन् ।
डब्लुएचओको 'हेल्थ इमर्जेन्सी अलर्ट एन्ड रेस्पोन्स अपरेसन' का निर्देशक अब्दिराहमान महामुदले रोगको फैलावट र विस्तार तिव्र गतिमा भइरहेको मंगलबार स्विचरल्यान्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बताए ।
दुई हप्तामा उपचार क्षमता पनि बढाइएको उनले बताए । '१९ वटा स्वास्थ्य क्षेत्रहरूबाट उपाचार सेवा बढाएर ५०० भन्दा बढी सैयासहित सेवा गर्न सक्ने अवस्थामा पुर्याइएको छ,' उनले भने ।
प्रयोगशाला क्षमता पनि तीव्र रूपमा विस्तार गरिएको उनले बताए । प्रकोपको सुरुमा राजधानी किन्शासामा प्रति दिन लगभग ३० जनामा परीक्षण हुँदै आएकोमा हाल इटुरी, उत्तरी किवु र दक्षिण किवु प्रान्तहरूमा आठ विकेन्द्रीकृत प्रयोगशालाहरूको सञ्जाल मार्फत प्रति दिन दुई हजार जना भन्दा बढीको परीक्षण सम्भव भएको उनले बताए ।
