अमेरिका–इरान वार्ताले अन्तिम सम्झौताका लागि आधार तयार गरेको उपराष्ट्रपति  भान्सको भनाइ 

पाकिस्तान र कतारको मध्यस्थतामा स्विट्जरल्यान्डको बुर्गेनस्टकमा अमेरिका–इरान वार्ता भएको हो।

असार ८, २०८३

रासस/एएफपी

US-Iran talks set the stage for final deal, says Vice President Vance

काठमाडौँ — अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार स्विट्जरल्यान्डमा भएको पहिलो चरणको अमेरिका–इरान वार्ताले अन्तिम सम्झौताका लागि राम्रो आधार तयार पारेको बताएका छन् । 

'हामीले सफल अन्तिम सम्झौताका लागि निकै राम्रो आधार तयार पारेका छौँ,' बुर्गेनस्टक रिसोर्टमा पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भने । यो वार्ता आइतबार सुरु भएको थियो र राति अबेरसम्म चलेको थियो।

उनले भने,'मध्यपूर्वको शान्तिका लागि अन्तिम सम्झौता एउटा पूर्ण संरचना हो भने हामीले स्वीट्जरल्याण्डमा भइरहेको वार्ताबाट यसका लागि जग बसालेका छौँ । राम्रो ठाउँमा पुग्न सफल आधार तयार पारेका छौँ।'

'हामी सबैले कति काम भयो भन्ने कुराको महत्व बुझ्नु आवश्यक छ, तर इमानदारीपूर्वक भन्नुपर्दा अझै धेरै काम बाँकी छ । हामीले आणविक वार्ता, आर्थिक वार्तामा प्रगति गरिरहेका छौँ, जलमार्गहरूबाट विस्फोटक पदार्थ हटाउने काम गरिरहेका छौँ र त्यहाँ यातायातको प्रवाह फेरि बढोस् भन्ने सुनिश्चित गरिरहेका छौँ।'

'धेरै प्रगति भएको छ तर अझै केही काम गर्न बाँकी छ । हामी ठ्याक्कै त्यही गर्न प्रतिबद्ध छौँ ।'

उनले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग ‘खुला रहेको’ बताए । विगतमा रोकिएको लाखौँ ब्यारेल कच्चा तेल र प्राकृतिक ग्यासको ढुवानी अहिले भइरहेको उल्लेख गरे । पाकिस्तान र कतारको मध्यस्थतामा स्विट्जरल्यान्डको बुर्गेनस्टकमा यो अमेरिका–इरान वार्ता भएको हो।

भान्सले पत्रकार सम्मेलनपछि अमेरिका फर्किने बताए । यसैबीच, ‘प्राविधिक स्तरमा’ छलफलहरू आगामी दिन र हप्ताहरूमा बुर्गेनस्टकमै जारी रहने उनले बताए । 

इरानले आतंकवादी समुहहरुमाथि लगानी नगर्ने सुनिश्चित भएपछि अमेरिकाले रोक्का सम्पत्ति फुकुवा पनि गर्नसक्ने उनले बताए ।  उनले स्विट्जरल्यान्डको उक्त रिसोर्टमा भएको वार्ताले यो सुनिश्चित गरेको बताए ।

'यदि इरानी रोक्का सम्पत्तिहरू कहिल्यै फुकुवा भए भने त्यो लगानी अमेरिकी किसानहरूलाई धनी बनाउन र इरानका जनतालाई खाना खुवाउन जाने छ ,' उनले भने । 

रासस/एएफपी

Link copied successfully