पश्चिमी अस्ट्रेलियाको एस्पेरेन्समा प्रवासी ब्राउन स्कुआ चरामा बर्डफ्लु देखिएसँगै विश्वका सबै महादेशमा यो संक्रमण पुष्टि भएको छ ।
What you should know
काठमाडौँ — अस्ट्रेलियामा पहिलोपटक बर्डफ्लु (एच फाइन एन वान) पुष्टि भएको छ । पश्चिमी अस्ट्रेलियाको एस्पेरेन्स सहर नजिक पर्ने केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्री किनारमा ‘ब्राउन स्कुआ’ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको हो ।
ब्राउन स्कुआ ठूलो आकारको समुद्री चरा हो । यो चराले मुख्यत अन्टार्कटिका क्षेत्रहरूमा प्रजनन गर्छ । प्रजनन अवधि समाप्त भएपछि खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रसम्म बसाइँ सर्छ । यसलाई अन्टार्टिक स्कुआ, दक्षिणी स्कुआ वा सब-अन्टार्कटिक स्कुआ नामले पनि चिनिन्छ ।
यसअघि अस्ट्रेलियामा बर्डफ्लु देखिएको थिएन । यससँगै विश्वका सबै महादेशमा बर्डफ्लु संक्रमण देखिएको पुष्टि भएको छ।
अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सले शनिबार पत्रकार सम्मेलनमा यसबारे जानकारी गराउँदै भनिन्, 'अस्ट्रेलिया बर्डफ्लुबाट सधैं मुक्त रहन सक्दैन भन्ने हामीलाई थाहा थियो ।' एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको ‘साउदर्न पेट्रेल’ नामक चरामा पनि बर्डफ्लुको आशंका गरिएको उनले जानकारी दिइन् । 'यद्यपि हालसम्म ठूलो संख्यामा चराहरू मरेको प्रमाण भने भेटिएको छैन,' उनले भनिन् ।
गतवर्ष अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड र म्याकडोनाल्ड टापुमा पनि बर्डफ्लु देखिएको थियो । तर यी टापुहरू दक्षिणी हिन्द महासागरमा अवस्थित छन् ।
यसै साता सार्वजनिक एक अध्ययनअनुसार हर्ड टापुमा रहेका करिब १७ हजार 'बेबी सिल'मध्ये झन्डै १३ हजार बर्डफ्लुकै कारण गत अगस्टमा मरेका थिए । अध्ययनले त्यहाँका पेन्गुइनहरूको मृत्युदर पनि अपेक्षाभन्दा बढी रहेको देखाएको छ ।
बर्डफ्लु पहिलोपटक सन् १९९० को दशकको अन्त्यतिर चीनमा देखापरेको थियो । चराहरूको मौसमी बसाइँसराइका कारण यो भाइरस घरपालुवा पन्छी तथा चराहरूमा फैलिएको पाइएको छ । संक्रमित चरा वा जनावरसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा पनि यो संक्रमण देखिएको छ ।
