इरानको एक अदालतले हिजाबबिना गीत गाएको भन्दै गायिका परस्तु अहमदी र कारवान्सराय ‘कन्सर्ट’का आठ अन्य सदस्यलाई ७४ कोर्रा हान्ने सजाय दिएको छ ।
काठमाडौँ — इरानको एक अदालतले हिजाबबिना गीत गाएको भन्दै गायिका परस्तु अहमदी र कारवान्सराय ‘कन्सर्ट’का आठ अन्य सदस्यलाई ७४ कोर्रा हान्ने सजाय दिएको छ ।
साथै उनीहरुविरुद्ध दुई वर्षसम्म देशभन्दा बाहिर जान र दुई वर्षसम्म कलासँग सम्बन्धित क्रियाकलापहरु गर्न प्रतिबन्ध लगाइएको छ ।
इरानको कोम प्रान्तको अदालतले यस्तै फैसला सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम द गार्डियनले जनाएको छ । अदालतले इस्लामिक कानुनका धाराहरुलाई उदृत गर्दै हरेक सदस्यलाई ७४ कोर्रा हान्ने सजाय दिएको छ । साथै उक्त फैसला सञ्चारमाध्यममा छाप्नका लागिसमेत निर्देशन दिइएको छ ।
सजाय सुनाइएका कलाकारहरुविरुद्ध इन्टरनेटमा गलत र अश्लील कन्टेन्ट प्रशारण गरेर समाजको शालीनतामा क्षति पुर्याएको आरोप छ । कारवान्सराय कन्सर्टको भिडियो सन् २०२४ मा गायिका परस्तु अहमदीको युट्युब च्यानलमा अपलोड गरिएको थियो ।
सामाजिक सञ्जालमा यसलाई लिएर ठूलो बहस सिर्जना भएको थियो । उक्त भिडियोमा गायिकाले हिजाबबिना नै गीत गाएको थिइन् ।
युट्युबमा यो भिडियो केही घन्टामै एक लाभन्दा धेरैपटक हेरिएको थियो । सामाजिक सञ्जालमा पनि धेरै साझा गरिएको यस भिडियोमा अहिलेसम्म ३० लाखभन्दा धेरै पटक हेरिएको छ ।
