अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर, यी हुन् मुख्य प्रावधान

ट्रम्पले जी ७ सम्मेलनका दौरान फ्रान्सको भर्साइल्स दरबारमा आयोजित रात्रिभोजमा सम्झौतामा हस्ताक्षर गरे

असार ४, २०८३

एपी

US and Iran sign peace deal, these are the main provisions

पेरिस — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजेश्कियनले बुधबार शान्ति सम्झौतामा  बेग्‍ला-बेग्लै हस्ताक्षर गरेका छन् । 

यसअघि स्विचरल्यान्डको जेनेभामा सम्झौतामा हस्ताक्षर हुने दाबी दुबै पक्षले गरेका थिए । तर, ट्रम्पले जी ७ सम्मेलनका दौरान फ्रान्सको भर्साइल्स दरबारमा आयोजित रात्रिभोजमा सम्झौतामा डिजिटल हस्ताक्षर गरे । त्यसपछि पेजेश्कियनले तेहरानबाट यसमा हस्ताक्षर गरे । 

'संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीचको इस्लामावाद समझदारी' नाम दिइएको उक्त सम्झौतामा तेहरानले आफ्नो उच्च स्तरमा संवर्धित युरेनियमको भण्डारलाई घटाउने र जवाफमा अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गर्ने उल्लेख छ ।

दुवै देशद्वारा सार्वजनिक गरिएका विवरणहरू अनुसार, यसले इरानलाई तत्कालै आफ्नो तेल स्वतन्त्र रूपमा बिक्री गर्न अनुमति दिएको छ। हालको सम्झौताका सबै शर्तहरू पूरा भएमा, आगामी ६० दिनभित्र हुने विस्तृत वार्ताले इरानमाथिका सबै प्रतिबन्धहरू अन्त्य गर्नेगरी अन्तिम सम्झौता  गर्ने लक्ष्य राखेको छ ।

यो सम्झौताले इरानलाई धेरै फाइदाहरू दिएको देखिन्छ । यससँगै शुक्रबार जेनेभामा आयोजना हुने भनिएको औपचारिक समारोह अनिश्चित बनेको छ ।

भर्साइल त्यही दरबार हो जहाँ शताब्दीयौंदेखि युद्ध वा क्षेत्रीय विवादहरू अन्त्य गर्न धेरै ऐतिहासिक सम्झौताहरूमा हस्ताक्षर भइसकेका छन् ।ह्वाइट हाउसका एक सहयोगीले अनलाइनमा पोस्ट गरेको भिडियोमा, ट्रम्पले फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँको छेउमा बसेर सम्झौताको कागजको प्रतिलिपिमा हस्ताक्षर गरिरहेको देख्न सकिन्छ । त्यसपछि ट्रम्पले कागजात र कलम अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई हस्तान्तरण गरे । अनि कोठामा उपस्थित भएकाहरूले ताली बजाए । रात्रिभोजबाट बाहिरिदैं गर्दा ट्रम्पले सम्झौतामा हस्ताक्षर भइसकेको पुष्टि गरे । 

इरानको सरकारी समाचार संस्था इरनाले जनाएअनुसार  राष्ट्रपति मसुद पेजेस्कियानले इरानको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् । इरनाले पेजेश्कियन र ट्रम्पको हस्ताक्षरसहितको सम्झौता पत्र पनि सार्वजनिक गरेको छ ।

अमेरिकी पक्षले सम्झौताको आधिकारिक पाठ अझै सार्वजनिक गरेका छैनन् । तर अमेरिकी अधिकारीहरुले नाम उल्लेख नगर्ने सर्तमा  सञ्चारमाध्यमहरूसँगै सम्झौताको विवरण बताएका छन् । 

इरानी सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको पाठ अमेरिकीहरूले बताएको विवरणसँग धेरै हदसम्म मेल खान्छ । यस १४ बुँदे सम्झौताले युद्ध अन्त्य र आगामी वार्ताहरुका लागि ढोका खोलेको छ । 

यसमा दुई देशीय शत्रुताको अन्त्य, आणविक हतियार नबनाउने इरानको प्रतिबद्धता, हर्मुज जलमार्ग पुन सुचारु गर्ने विषय उल्लेख छन् ।  

मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सम्झौता हुनसाथ हर्मुजको जलमार्ग खुला भएको दाबी गरेका छन् ।

सम्झौताअनुसार जलमार्ग प्रयोग गरेबापत् दुई महिनासम्म इरानले कुनै सम्झौता लिने छैन । तर भविष्यमा शुल्क लिने सम्भावनालाई भने नकार्न सकिँदैन । अमेरिकाले इरानमाथि लगाइएका केही प्रतिबन्धहरूलाई केही समयका लागि स्थगित गर्नेछन् । 

सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य हुने उल्लेख छ । जबकि, इजरायलले आफ्नो कब्जामा रहेका लेबनानी क्षेत्रबाट सेना नफर्कने दाबी गरिरहेको छ । 

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा आक्रमण गरेपछि इरानमा युद्ध सुरु भएको थियो । ट्रम्पले इरानको आणविक हतियार रोक्नु, सत्ता परिवर्तन गर्नु, हिजबुल्लाह र अन्य सहयोगी हतियारधारी विद्रोहीहरुलाई इरानले उपलब्ध गराउँदै आएको सहयोग बन्द गर्नु अमेरिकाको लक्ष्य रहेको बताएका थिए । 

ती सबै यो पूरा गर्न यो सम्झौता असफल भएको छ ।  तर पनि ट्रम्पले यसलाई "धेरै बलियो" भन्दै प्रशंसा गरेका छन्।

सम्झौतामा के छ ?

सम्झौता १४ बुँदाको छ । यसमा इरानलाई तत्कालै स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिने र अन्ततः सबै प्रतिबन्धहरू हटाउने विषय उल्लेख छ । आर्थिक रुपमा कमजोर भइसकेको इरानका लागि यो ठूलो राहत हो । 

सन् २०१५ मा विश्व शक्ति राष्ट्रहरुसँग आणविक हतियार कार्यक्रम अन्त्यका विषयमा इरानले गरेको सम्झौताभन्दा पनि धेरै छुटहरु इरानले यस सम्झौतामार्फत पाएको छ ।

ट्रम्पले बाराक ओबामा राष्ट्रपति छँदा भएको उक्त सम्झौतालाई अहिलेसम्मकै सबैभन्दा खराब सम्झौता भनेका थिए । आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौताबाट बाहिरिएको घोषणा गर्दै उनले इरानमाथि प्रतिबन्धहरु थोपरेका थिए ।

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । तर, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का अनुसार आणविक हतियार नबनाउने राष्ट्रमध्ये इरानसँग सबैभन्दा उच्चस्तरको युरेनियम छ । इरानको सम्वर्द्धित युरेनियम ६० प्रतिशत शुद्ध छ ।

जबकि, ओबामाकालमा भएको सम्झौतामा आफ्नो युरेनियमको शुद्धतालाई ३.६७ प्रतिशतमा सिमित राख्‍न इरान तयार भएको थियो । अहिलेको सम्झौताअनुसार इरानले युरेनियम सम्वर्दधनको गुणस्तर घटाउनेछ र आइएइएले यसको निगरानी गर्नेछ । यद्यपी, यसबारे बिस्तृत विवरण आइसकेको छैन र ६० दिनभित्र हुने अर्को चरणको वार्ताले यसको टुंगो लगाउनेछ ।

इरानको २४ अर्ब डलर बराबरको विदेशमा रोक्का रहेको सम्पत्ति फुकुवा गर्ने सम्झौता पनि अमेरिकाले गरेको छ । त्यस्तै, ३ सय अर्ब बराबरको रकम इरानको पुनर्निर्माणका लागि उपलब्ध गराउन पनि सहमत भएको छ ।

खाडी राष्ट्रहरुले उक्त रकम इरानलाई उपलब्ध गराउने दाबी अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गरेका छन् । तर, त्यसका लागि इरानले वार्ताका शर्तहरु पालनसँग गरेको सुनिश्चित गर्नुपर्छ । 

सहमतिका १४ बुँदा : अमेरिकी सञ्चारमाध्यम सीएनएनले सम्झौताको मस्यौदा प्राप्त भएको जनाएको छ । यसअघि नै इरानी सञ्चारमाध्यमहरुले सम्झौता सार्वजनिक गरेका थिए । यो सम्झौता यस्तो छ :

सम्झौताका १४ बुँदाको सारांश 

१. सैन्य कारबाहीको अन्त्य: लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने ।

२. सार्वभौमसत्ता: एकअर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने  प्रतिबद्धता जनाउनेछन् । 

३. अन्तिम सम्झौताको समयसीमा: अधिकतम ६० दिनभित्र वार्ता गरी बिस्तृत सम्झौता गर्ने । आपसी सहमतिमा समयसीमा थप गर्न सकिने ।

४. जहाजहरुको आवागमन : सम्झौतालगत्तै अमेरिकाको इरानका बन्दरगाहहरुमा लगाएको अवरोध खोल्न थाल्नेछ । ३० दिनभित्र पूर्ण रुपमा नाकाबन्दी खुला हुनेछ । यस अवधिमा इरानले युद्धपर्वकै अवस्थामा जहाजहरुको आवागमन सुनिश्चित गर्नेछ । अन्तिम सम्झौता भएको ३० दिनपछि अमेरिकाले आफ्ना सेना इरान आसपासबाट फिर्ता गर्नेछ । 

५. हर्मुज जलमार्ग: पर्सियन खाडीबाट ओमानको समुद्रसम्म ६० दिनसम्म बिना शुल्क व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने । प्राविधिक तथा सैन्य अवरोध ३० दिनभित्र हटाइने । इरानले ओमान र अन्य तटीय देशहरुसँग संवाद गरेर अन्तर्राष्ट्रिय कानुनअनुसार हर्मुज जलमार्गमा भविष्यको प्रशासनिक सञ्चालन तय गर्ने । 

६. पुनर्निर्माण योजना: इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलरको निश्चित योजना विकास गर्ने ।

७. प्रतिबन्धको पूर्ण अन्त्य: संयुक्त राष्ट्रसंघका प्रस्तावसहित अमेरिकाले  इरानविरुद्धका सबै प्रकारका प्रतिबन्धहरू चरणबद्ध रुपमा अन्त्य गर्ने ।

८. आणविक हतियार निषेध: इरानले आणविक हतियार खरिद वा विकास नगर्ने प्रतिबद्धताको पुनः गर्ने । युरेनियम भण्डारणको व्यवस्थापन अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको निगरानीमा गरिने । 

९. यथास्थिति कायम: अन्तिम सम्झौता नभएसम्म इरानले आणविक कार्यक्रम यथास्थितिमा राख्नेछ ।  अमेरिकाले कुनै नयाँ प्रतिबन्ध लगाउने छैन । थप सैनिक पश्चिम एसिया क्षेत्रमा परिचालन गर्ने छैन । 

१०. निर्यात र बैंकिङ छुट: इरानी कच्चा तेल, पेट्रोलियम पदार्थ र सम्बद्ध बैंकिङ/बिमा सेवाहरूका लागि अमेरिकी प्रतिबन्ध फुकुवा गर्ने ।

११. रोक्का सम्पत्ति फुकुवा: यो समझदारी पत्रको कार्यान्वयनसँगै इरानको रोक्का रहेका सम्पूर्ण कोष र सम्पत्तिहरू प्रयोगका लागि उपलब्ध गराउने । यसको प्रयोग सम्बन्धी प्रक्रिया आगामी वार्ताले तय गर्नेछ ।

१२. अनुगमन संयन्त्र: समझदारी पत्रको कार्यान्वयन र भविष्यको सम्झौताको पालना सुनिश्चित गर्न एक कार्यकारी संयन्त्र स्थापना गर्ने ।

१३. वार्ताको निरन्तरता : यो समझदारीपत्रमा हस्ताक्षर भएपछि बुँदा १, ४, ५, १० र ११ को कार्यान्वयन सुरु हुनेछ । यसको निरन्तर कार्यान्वयन हुने शर्तसहित बाँकी बुँदाहरुमा मात्रै केन्द्रित रहेर अमेरिका र इरानले अन्तिम सम्झौतासम्बन्धी वार्ता सुरु गर्नेछन् । 

१४. अन्तर्राष्ट्रिय मान्यता: अन्तिम सम्झौतालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‍मार्फत अनुमोदन गराउने ।

एपी

Link copied successfully