ट्रम्पले यसअघिको अभिव्यक्ति सच्याउँदै समुद्रमा बिछ्याइएको बारुदी सुरुङ हटाउनुपर्ने भएकाले शुक्रबार औपचारिक सम्झौतापछि हर्मुज खुल्ने दाबी गरेका छन् ।
काठमाडौँ — इरान र अमेरिकाबीच शुक्रबार शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ । दुवै पक्षले स्विट्जरल्यान्डको जेनेभामा शान्ति सम्झौतामा हस्ताक्षर पुष्टि गरेका छन् । इरान र अमेरिकाबीच आइतबार युद्ध अन्त्य गर्ने सहमति भएको थियो । तर, जेनेभामा हुने सम्झौताको विस्तृत विवरण औपचारिक रूपमा भने सार्वजनिक भएको छैन ।
इरानी सरकारी सञ्चारमाध्यम मेहर न्युज एजेन्सीले दुई पक्षबीच शुक्रबार हस्ताक्षर हुने १४ बुँदे सम्झौताको मस्यौदा प्राप्त भएको दाबी गरेको छ । तर, एजेन्सीले सार्वजनिक गरेका सम्झौताका केही बुँदा र अमेरिकी अधिकारीहरूका दाबी बाझिएको छ । दुवै पक्षले सम्झौतालगत्तै सबै मोर्चामा युद्ध अन्त्य हुने र ६० दिनको अवधिभित्र महत्त्वपूर्ण विषय समेटेर अन्तिम सम्झौता हुने जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार सहमतिलगत्तै शुल्करहित रूपमा हर्मुज जलमार्ग खुलेको दाबी गरेका थिए । उनले अमेरिकी सेनालाई इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाउन आदेश दिइएको पनि बताएका थिए । तर, बेलायती सञ्चारमाध्यम बीबीसीले हर्मुजमा सोमबार पनि अवरोध कायमै रहेको जनाएको छ ।
ट्रम्पले सोमबार आफ्नो यसअघिको अभिव्यक्ति सच्याउँदै समुद्रमा बिछ्याइएको बारुदी सुरुङ हटाउनुपर्ने भएकाले शुक्रबार औपचारिक सम्झौतापछि हर्मुज खुल्ने दाबी गरेका छन् । ‘यो महान् सहमतिले सम्पूर्ण क्षेत्रमा शान्ति र सुरक्षा ल्याउनेछ । धेरै राष्ट्रपतिहरूले इरानसँग शान्ति कायम गर्न खोजे तर मभन्दा अघि सबै असफल भए । यस क्षेत्रको नेतृत्वले पहिलो पटक त्यस्तो राष्ट्रपति पायो, जसले उनीहरूलाई साँचो शान्तिका लागि सहयोग गर्न सक्छ । त्यहाँ रहेका विस्फोटक पदार्थ हटाउनुपर्ने भएकाले शुक्रबार सम्झौता भएपछि हर्मुज खुल्नेछ । यस क्षेत्रबाट फेरि विश्वमा तेल ओसारपसार हुनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
मेहर न्युज एजेन्सीले प्राप्त गरेको सम्झौतापत्रको मस्यौता ट्रम्पको दाबीसँग बाझिन्छ । अमेरिकी नाकाबन्दी र हर्मुज जलमार्गमा इरानको अवरोध ३० दिनभित्र पूर्ण रूपमा खुलाउने सहमति बनेको उक्त एजेन्सीले उल्लेख गरेको छ । लेबनानसहित सबै मोर्चामा तत्कालै र स्थायी रूपमा युद्ध रोक्ने, ६० दिनको अवधिमा आणविक वार्ता र इरानमाथि लगाइएको प्रतिबन्धका विषयमा विस्तृत सहमतिमा हस्ताक्षर गर्नेलगायत बुँदा सम्झौतामा समेटिएको मेहरले जनाएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार सम्झौतामा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता व्यक्त गर्ने विषयसमेत उल्लेख छ । त्यसका लागि ६० दिनभित्र आणविक वार्ता टुंग्याउन दुवै देश तयार भएका छन् । ट्रम्प प्रशासनले लामो समयदेखि इरानको आणविक गतिविधि पूर्ण रूपमा बन्द हुनुपर्ने माग राख्दै आएको छ । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा मात्रै सीमित रहेको दाबी गर्दै आएको छ । सम्झौताका सर्तहरू सही तरिकाले पालना भए/नभएको अनुगमन गर्नका लागि विशेष संयन्त्र बनाउन पनि दुवै देश सहमत भएका छन् ।
मेहरका अनुसार मस्यौदामा ६० दिने वार्ताको अवधिभर इरानको तेल बिक्री, पेट्रोकेमिकल उत्पादन र विभिन्न उत्पादनमाथि लगाइएका प्रतिबन्धहरू हटाउने उल्लेख छ । त्यस्तै अमेरिकाद्वारा रोक्का गरिएका इरानका २४ अर्ब डलर बराबरका सम्पत्तिहरू ६० दिने अवधिभित्र फुकुवा गरिने पनि मस्यौदामा उल्लेख छ ।
शान्ति सम्झौतालगत्तै आधा रकम (१२ अर्ब) फुकुवा हुने विषय मस्यौदामा उल्लेख रहेको पनि इरानी समाचार एजेन्सीमा उल्लेख छ । मेहरका अनुसार अमेरिका र उसका सहयोगी राष्ट्रहरूले इरानको पुनर्निर्माणका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको योजना प्रस्तुत गर्नेछन् । त्यस्तै अन्तिम सम्झौतालाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावमार्फत आधिकारिक रूपमा अनुमोदन गरिने पनि यसमा उल्लेख छ । यी विषयमा अमेरिकाका तर्फबाट कुनै पनि प्रतिक्रिया सार्वजनिक भएको छैन ।
इरानको अर्को समाचार एजेन्सी तास्निमले एक जानकार स्रोतलाई उद्धृत गर्दै वार्ताको अन्तिम क्षणमा मस्यौदामा केही परिवर्तनहरू गरिएको जनाएको छ । यसमा हर्मुज जलमार्गको प्रशासनिक सञ्चालन इरानले गर्ने दाबी गरिएको छ । जबकि, ट्रम्पले हर्मुजमा शुल्करहित आवागमन सुनिश्चित हुने दाबी गर्दै आएका छन् ।
विभिन्न देशका नेताहरूले युद्ध अन्त्य गर्ने अमेरिका–इरानको सहमतिको स्वागत गरेका छन् । वार्ताको मध्यस्थताका लागि पाकिस्तानसहितका देशहरूले गरेको प्रयासको उनीहरूले प्रशंसा गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफ र सेना प्रमुख आशिम मुनिर यस शान्तिवार्तालाई निष्कर्षमा पुर्याउन लामो समयदेखि सक्रिय छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई बधाई दिएका छन् । ‘यो द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फ एउटा निकै महत्त्वपूर्ण कदम हो,’ महासचिव गुटेरेसले भने, ‘शान्ति सम्झौतासम्म पुग्ने वार्ताको वातावरण निर्माणमा रचनात्मक र सहयोगी भूमिका खेल्ने पाकिस्तान, कतार, इजिप्ट, साउदी अरेबिया, टर्किएलगायतका मुलुकहरूप्रति हार्दिक आभार प्रकट गर्छु ।’
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र विदेशमन्त्री पेनी वोङले पनि संयुक्त विज्ञप्ति जारी गर्दै मध्यस्थताको प्रयास गर्ने पाकिस्तान, कतार, साउदी अरेबिया, टर्किए र अन्य मुलुकहरूको प्रशंसा गरेका छन् । टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सम्झौतालाई क्षेत्रीय शान्ति र स्थिरता स्थापनाका लागि एक महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् । कतारको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै पाकिस्तान र सम्झौतामा योगदान पुर्याउने सबै क्षेत्रीय र अन्तर्राष्ट्रिय पक्षहरूलाई धन्यवाद दिएको छ ।
फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले एक विज्ञप्ति जारी गर्दै सम्झौता थुप्रै साझेदार मुलुकहरूको सामूहिक कूटनीतिक प्रयासको परिणाम भएको उल्लेख गरेका छन् । जापानकी प्रधानमन्त्री साने ताकाइचीले पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने देशहरूको प्रशंसा गरेकी छन् ।जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, बेलायतका प्रधानमन्त्री केर स्टार्मर, न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सलगायतले यस सम्झौताको स्वागत गर्दै पश्चिम एसिया क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने एक महत्त्वपूर्ण कदमका रूपमा यसलाई लिइएको बताए ।
अमेरिकासँग मिलेर २८ फेब्रुअरीमा इरानमाथि संयुक्त आक्रमण गरेको इजरायल भने यस सम्झौतामा सहभागी छैन । पछिल्लो समय लेबनानमा इजरायलले आक्रमण तीव्र बनाएको छ । लेबनानसहितका मोर्चामा युद्ध अन्त्य हुनुपर्ने माग राखेको इरानले यसको निन्दा गर्दै आएको छ ।
आइतबार इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको थियो । त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए,’ ‘इरानसँग हामी शान्ति सम्झौताका लागि यति नजिक रहेका बेला यो विशेष दिनमा आक्रमण गर्न हुँदैन थियो ।’ इजरायलका रक्षामन्त्री इजरायल काट्जले
सोमबार विज्ञप्ति जारी गर्दै लेबनानमा कब्जा
गरेका भूभागबाट आफ्ना सेना पछि नहट्ने बताएका छन् ।
कच्चा तेलको मूल्यमा गिरावट
अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमतिसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट देखिएको छ । सोमबार विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल करिब ८४ डलर हाराहारीमा कारोबार भएको छ । यस्तै, अमेरिकी क्रुडको मूल्य पनि ४.८ प्रतिशतले ओरालो लाग्दै प्रतिब्यारेल ८१ डलरमा कारोबार भएको छ ।
कच्चा तेलको मूल्य युद्ध सुरु गर्नुअघिको प्रतिब्यारेल ७० डलर मूल्यमा झर्न केही समय लाग्ने विज्ञहरूले बताएका छन् । कच्चा तेलको आपूर्तिलाई पुरानै लयमा फर्काउन अझै थुप्रै चुनौतीहरू बाँकी नै रहेको उनीहरूको भनाइ छ ।
हर्मुज जलमार्गमा बिछ्याइएका विस्फोटक पदार्थहरू हटाउनुपर्ने, त्यहाँ जहाजहरूको आवतजावत पूर्ण रूपमा खुला गरिनुपर्ने, पश्चिम एसियाका तेल उत्पादन पुनः सुचारु हुनुपर्ने,
आपत्कालीन पेट्रोलियम भण्डारहरू फेरि
भर्नुपर्ने र युद्धका कारण क्षतिग्रस्त भएका ऊर्जा संरचनाहरूको मर्मतसम्भार गर्नुपर्नेजस्ता ठूला कामहरू बाँकी छन् ।
त्यही कारण कच्चा तेलको मूल्य अझै केही समयसम्म उच्च विन्दुमै रहने आकलन विश्लेषकहरूले गरेका छन् । युद्धका कारण पश्चिम एसियाका अधिकांश तेल खानीहरू बन्द गरिएकाले तिनीहरूलाई पुनः सञ्चालन गरी उत्पादन बढाउन हप्तौं लाग्न सक्ने उनीहरूको विश्लेषण छ ।
‘जबसम्म जहाजहरूले नियमित र सुरक्षित रूपमा आउजाउ सुरु गर्दैनन्, तबसम्म हर्मुज जलमार्ग वास्तवमै खुला भएको कुरामा बजारले आशंका गरिरहने देखिन्छ,’ र्यापिडान इनर्जीका अध्यक्ष बब म्याकनालीले आइतबार एबीसीको ‘दिस विक’ कार्यक्रममा भने, ‘आपूर्तिमा अवरोध लम्बियो र आपत्कालीन भण्डारहरू रित्तिए भने तेलको मूल्य अझै अकासिने जोखिम पनि छ ।’
साउदी अरेबियाको थिंकट्यांक ‘ग्लोबल सेन्टर फर इनर्जी एनालिसिस’ का अध्यक्ष जो म्याकमोनिगलले पनि जलमार्ग खुला भएर जहाजहरू चल्न थालेपछि मात्र बजारको आशंका हट्ने बताए । ‘यदि जलमार्ग खुला भयो भने त्यो राम्रो कुरा हो तर जबसम्म म आफैं जहाजहरूलाई बिनाकुनै अवरोध स्वतन्त्र रूपमा सो जलमार्ग पार गरिरहेको देख्दिनँ, तबसम्म मलाई यसमा पूर्ण विश्वास हुने छैन,’ उनले भने ।
(एजेन्सीको सहयोगमा)
