इरान र अमेरिकाबीच यी विषयमा हुँदैछ शान्ति सम्झौता

सम्झौतामा इरानले आणविक हतियार प्राप्त नगर्ने प्रतिबद्धता उल्लेख रहेको अमेरिकी कूटनीतिज्ञले सीएनएनलाई बताएका छन् ।

जेष्ठ ३१, २०८३

कान्तिपुर संवाददाता

Peace agreement is being reached between Iran and the US on these issues

दुबई — अमेरिका र इरानबीच हुन लागेको शान्ति सम्झौतामा आणविक हतियार कार्यक्रम, हर्मुज जलमार्ग सुचारु गर्ने विषय र इरानी तेलमाथि लगाइएको प्रतिबन्धमा छुटलगायत बुँदाहरू उल्लेख रहेको एक वरिष्ठ इरानी अधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई बताएका छन् । ती अधिकारीका अनुसार सम्झौतामा हस्ताक्षर हुनासाथ इरानले सबै व्यावसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्नेछ । त्यस्तै, अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउनेछ ।

त्यस्तै, दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको ६० दिनभित्र विस्तृत शान्ति सम्झौता हुने पनि उनले बताएका छन्। यस अवधिमा अमेरिकाले इरानमाथि कुनै पनि नयाँ प्रतिबन्ध नलगाउने सहमति गरेको छ । ६० दिनभित्र हुने विस्तृत सम्झौतालगत्तै अमेरिका र संयुक्त राष्ट्रसंघले इरानमाथि लगाएका सबै प्रतिबन्धहरू फुकुवा हुनेछन् ।

‘अमेरिकाले इरानी तेलमाथि लगाएको प्रतिबन्धलाई निश्चित अवधिका लागि हटाउनेछ, जसका कारण इरानले तेल बेच्न र राजस्व संकलन गर्न पाउनेछ । इरानको रोक्का रहेको २५ अर्ब डलर सम्पत्ति पनि अमेरिकाले फुकुवा गर्नेछ । अमेरिकाले क्षेत्रीय सहयोगीहरूसँग मिलेर इरानको पुनर्निर्माण र विकासको योजना तयार गर्नेछ र यस विषयमा ६० दिनभित्र विस्तृत सहमति बन्नेछ,’ रोयटर्सले इरानी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘इरानले आणविक हतियार उत्पादन र हासिल नगर्ने सहमति जनाउनेछ । त्यस्तै, इरानको आणविक कार्यक्रम र उच्च संवद्र्धित युरेनियमको भण्डारण व्यवस्थापन गर्नेबारे ६० दिनभित्र वार्ता गरिनेछ र अन्तिम सम्झौतामार्फत निष्कर्षमा पुर्‍याइनेछ।’

वार्ताबारे जानकार एक अमेरिकी अधिकारीले सीएनएनसँग कुरा गर्दै हर्मुज जलमार्ग पुनः सुचारु हुने र इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नाकाबन्दी हटाइने व्यहोरा सम्झौतामा उल्लेख रहेको बताएका छन् । तर इरानलाई पारवहन शुल्क उठाउने अनुमति नहुने उनको दाबी छ । जबकि, इरानका विदेशमन्त्री अब्बास अराग्चीले शुक्रबार हर्मुज प्रयोग गरेबापत इरानले व्यावसायिक जहाजहरूसँग सेवा शुल्क लिने बताएका थिए।

सम्झौतामा इरानले आणविक हतियार प्राप्त नगर्ने प्रतिबद्धता उल्लेख रहेको अमेरिकी कूटनीतिज्ञले सीएनएनलाई बताएका छन् । इरानको आणविक सामग्री नष्ट गरिने वा हटाइने दाबी ती अमेरिकी अधिकारीहरूको छ ।

इरानको अर्ध–सरकारी तास्निम न्युजले युद्धको समयमा भएको क्षतिको मुआब्जा इरानले प्राप्त गर्ने दाबी गरेको छ । तर, अमेरिकी अधिकारी र कूटनीतिज्ञहरूले सम्झौतामा यस्ता प्रावधान उल्लेख नरहेको बताएका छन् ।

यस वार्तामा इजरायल वा हिजबुल्लाह प्रत्यक्ष रूपमा संलग्न छैनन् । तर तास्निम न्युजले लेबनानलगायत सबै मोर्चामा युद्धको अन्त्य गर्ने विषय सम्झौतामा उल्लेख रहेको उल्लेख गरेको छ । यद्यपि, इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार लेबनानमा कब्जा गरेका भूभागबाट आफ्नो सेना नफर्कने चेतावनी दिएका थिए । आइतबार मात्रै इजरायलले लेबनानको राजधानी बेरुतमा मिसाइल प्रहार गरेको छ ।

इरान र अमेरिका दुवैले युद्ध अन्त्य गर्ने विषयमा सहमति भइसकेको बताए पनि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने मितिबारे भने फरक–फरक दाबी गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत २४ घण्टाभित्र इरान–अमेरिकाबीच शान्ति वार्तामा हस्ताक्षर हुने अपेक्षा गरिएको बताएका थिए। ट्रम्पले शहबाजको ट्वीटलाई रिपोस्ट गर्दै आइतबार सम्झौतामा हस्ताक्षर हुने संकेत गरेका थिए । उनले ट्रुथ सोसलमा लेखेका थिए, ‘हामीलाई आशा छ, यो प्रक्रियाले निकै चाँडै र सहज रूपमा काम गर्नेछ । तर, यदि गरेन भने पनि हामीसँग विकल्प छ।’

तर, सम्झौताका बुँदाहरूमा अन्तिम निर्णय हुन बाँकी नै रहेको इरानी अधिकारीहरूले बताएका छन् । यस सम्झौताको राजनीतिक, कानुनी र प्राविधिक औचित्यलाई लिएर विज्ञ र नीति–निर्माताबीच छलफल चलिरहेको एक वरिष्ठ इरानी अधिकारीले फार्स न्युज एजेन्सीसँग बताए।

इरानको सैन्य दस्ता ‘इस्लामिक रिभोलुशनरी गार्ड कोप्र्स’ (आईआरजीसी) ले आइतबारै सम्झौता गर्नुपर्ने ट्रम्पको अडान अस्वाभाविक रहेको दाबी गरेको छ ।

‘इरानका मध्यस्थकर्ताहरूले सम्झौताको टुंगो लाग्न अझै बाँकी रहेको बताइरहेका बेला आइतबारै सम्झौता हुने ट्रम्पको जिद्दी अस्वाभाविक छ । आइतबार ट्रम्पको ८० औं जन्मदिन पनि हो । उनले उक्त मितिमा हस्ताक्षर गराएर शान्ति वार्तालाई आफ्नो राजनीतिक तथा प्रचारमुखी उपलब्धिको रूपमा प्रस्तुत गर्न खोजेको अनुमान विश्लेषकहरूले गरेका छन् । तर इरानी अधिकारीहरूले सम्झौता अझै अन्तिम चरणमा नपुगेको स्पष्ट पारिसकेका छन्,' आईआरजीसीको सञ्चार विभागले टेलिग्राममा सेयर गरेको विज्ञप्तिमा उल्लेख छ, 'यस्ता प्रचारमुखी गतिविधिबारे इरानको वार्ता टोली सचेत छ र उनीहरूले यस्तो दबाबलाई सहजै स्वीकार गर्ने सम्भावना कम छ । ’ 

लेबनानको राजधानीमा इजरायलको आक्रमण

अमेरिका–इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तयारी चलिरहेका बेला लेबनानको राजधानी बेरुतमा इजरायलले मिसाइल आक्रमण गर्दा कम्तिमा ३ जनाको मृत्यु भएको छ ।

दुईवटा इजरायली विमानले चारवटा मिसाइल खसालेको इजरायली अधिकारीहरुले बताएका छन्। आक्रमणपछि भग्नावशेषबाट तीन जनाको शव निकालिएको र कम्तीमा १५ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा हिजबुल्लाहको आधार इलाका मानिने दहियेह जिल्लामा आक्रमण गरिएको दाबी गरिएको छ । हिजबुल्लाहले इजरायली भूभागमा गरेको फायरिङको जवाफमा प्रत्याक्रमण गरिएको दाबी कार्यालयको छ ।

यसअघि हिजबुल्लाहले उत्तरी इजरायलतर्फ तीनवटा प्रोजेक्टाइल प्रहार गरेर युद्धविराम उल्लंघन गरेको दाबी इजरायली सेनाले गरेको थियो । इजरायली सेनाले आक्रमणपछि ध्वस्त भएका पूर्वाधारहरूको तस्बिर पनि सार्वजनिक गरेको छ, जसमा व्यस्त बजारको एक अपार्टमेन्ट सेन्टर आक्रमणबाट क्षतिग्रस्त भएको देखिन्छ । 

कान्तिपुर

Link copied successfully