दुईवटा जहाजमा इरानको प्रहार, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले बुधबार जारी वक्तव्यमा इरानको ‘अनुचित र निरन्तर आक्रामक गतिविधि’ को जवाफस्वरूप ‘आत्मरक्षात्मक आक्रमण’ सुरु गरिएको जनाएको छ।

जेष्ठ २८, २०८३

इकान्तिपुर डेस्क

Iran attacks two ships, completely closes Strait of Hormuz

What you should know

काठमाडौँ — अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण सुरु गरेपछि इरानले हर्मुज जलमार्गमा रहेका जहाजहरूलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकी सेनाले इरानमाथि नयाँ श्रृंखलाबद्ध आक्रमण थालेलगत्तै हर्मुज जलमार्गमा रहेका दुईवटा जहाजमा प्रहार गरेको जनाएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि सम्झौता गर्न ढिलाइ गरेको आरोप लगाउँदै उसमाथि थप कडा सैन्य कारबाही गरिने चेतावनी दिएपछि अमेरिकी आक्रमण भएको हो।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले बुधबार जारी वक्तव्यमा इरानको ‘अनुचित र निरन्तर आक्रामक गतिविधि’ को जवाफस्वरूप ‘आत्मरक्षात्मक आक्रमण’ सुरु गरिएको जनाएको छ।

त्यसपछि इरानी सरकारी सञ्चारमाध्यमहरूले आईआरजीसीले हर्मुज जलमार्गमा रहेका दुईवटा जहाजलाई निशाना बनाएको जानकारी दिएका छन्। अप्रिलमा भएको युद्धविराम सम्झौतापछि पनि इरान र अमेरिकाबीच सैन्य तथा निगरानी संरचनालाई लक्षित गर्दै प्रतिआक्रमणको शृङ्खला जारी रहेको छ।

यसबीच, पर्सियन खाडीस्थित केश्म टापुका साथै बन्दर अब्बास र सिरिकलगायतका सहरहरूमा विस्फोटका आवाज सुनिएको जनाइएको छ।

अमेरिकी आक्रमणको प्रतिक्रियास्वरूप इरानी सरकारी सञ्चारमाध्यमहरूले हर्मुज जलमार्ग सबै प्रकारका जहाजका लागि पूर्ण रूपमा बन्द गरिएको दाबी गरेका छन्। तर सेन्टकमले भने व्यावसायिक जहाजहरूको आवतजावत यथावत् रहेको जनाएको छ।

हर्मुज जलमार्ग बन्द गरिएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। विश्वव्यापी मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य एसियाली बजारमा बिहानको कारोबारका क्रममा करिब २ प्रतिशतले वृद्धि हुँदै प्रतिव्यारेल ९५ डलरभन्दा माथि पुगेको छ।

पछिल्लो अमेरिकी आक्रमण हुनुभन्दा केही घण्टा अघि राष्ट्रपति ट्रम्पले ‘हामीले हिजो कडा प्रहार गर्‍यौं र आज फेरि कडा प्रहार गर्नेछौं’ भन्दै इरानलाई चेतावनी दिएका थिए।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानी नेतृत्वले सम्झौताका लागि अत्यधिक ढिलाइ गरेको आरोप लगाएका थिए। त्यसको जवाफमा इरानको विदेश मन्त्रालयले अमेरिकाले परस्परविरोधी सन्देशहरू प्रवाह गरेर कूटनीतिक प्रक्रियालाई कमजोर बनाएको आरोप लगाएको छ।

ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै इरानी राष्ट्रपति मसउद पेजेशकियानले इरान कुनै पनि दबाब वा धम्कीअगाडि नझुक्ने र आफ्नो अडानमा दृढ रहने बताएका छन्।

इकान्तिपुर

Link copied successfully