मंगलबार प्रदर्शनकारमा उत्रिएकामध्ये धेरैजनाले मुख छोपेका थिए । उनीहरुले शहरको एउटा स्थानमा भेला भएर बस तथा केही कारमा आगो लगाए ।
काठमाडौँ — बेलायतको उत्तरी आयरल्यान्डस्थित बेलफास्ट शहरमा भएको चक्कु आक्रमणको विरोधमा आप्रवासनविरोधी समुहले प्रदर्शन चर्काएको छ । उक्त प्रदर्शनका क्रममा सवारी-साधन र भवनहरूमा आगजनी गरिएको छ ।
चक्कु आक्रमणको अभियोगमा एक सुडानी नागरिक पक्राउ परेका थिए । उनको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका थिए ।
मंगलबार प्रदर्शनकारमा उत्रिएकामध्ये धेरैजनाले मुख छोपेका थिए । उनीहरुले शहरको एउटा स्थानमा भेला भएर बस तथा केही कारमा आगो लगाए ।
सहरको केन्द्र नजिकैको एउटा भवनमा पनि आगजनी गरिएको थियो । स्थानीय बासिन्दाहरूले एएफपी समाचार संस्थालाई बताएअनुसार प्रदर्शनकारीहरूले फोहोरका डस्टबिनमा आगो लगाएर पेट्रोल बमसमेत प्रहार गरेका थिए ।
उत्तरी आयरल्यान्डकी फर्स्ट मिनिस्टर मिशेल ओ निलले प्रदर्शनको कडा आलोचना गर्दै शान्त रहन आग्रह गरेकी छिन् ।
'मुख छोपेका मानिसहरूको समूहले आगजनी गरेर परिवारहरुलाई भाग्न बाध्य गराउनु घृणित कायरताबाहेक केही होइन,' उनले भनिन्, 'रंगभेद, धम्की र हिंसा जहाँ भए पनि गलत हुन् । आज रातिका यी आक्रमणहरूको कुनै बहाना वा औचित्य हुन सक्दैन । हाम्रो सडकमा यस्तो दृश्य कसैले पनि देख्न चाहँदैन, त्यसैले म फेरि शान्तिको अपिल गर्छु ।'
सोमबार राति उत्तरी बेलफास्टमा भएको चक्कु आक्रमणका सन्दिग्धमाथि मंगलबार हत्या प्रयास, सार्वजनिक स्थानमा धारिलो हतियार राखेको तथा ज्यान मार्ने धम्की दिएको अभियोगमा मुद्दा अघि बढाइएको छ ।
प्रहरीका अनुसार आक्रमणबाट घाइते भएका व्यक्तिको आँखामा गम्भीर चोट लागेको छ । घटनास्थलमा भेटिएको भान्साको चक्कुले उनको अनुहार र ढाडमा गहिरा घाउ लागेको थियो ।
हिजो रातिको हत्या प्रयासको घटनाले मानिसहरूमा डरदेखि आक्रोशसम्मका विभिन्न भावना उत्पन्न गराएको छ,' उत्तरी आयरल्यान्डका सहायक प्रमुख प्रहरी अधिकारी रायन हेन्डरसनले पत्रकार सम्मेलनमा भने ।
उनले घटनालाई ‘गम्भीर अवस्था’ घोषणा गरेका थिए । उनले भने, 'यस घटनाप्रति प्रतिक्रिया जनाउँदा शान्त रहन र सबै समुदायको सुरक्षामा ध्यान दिन म अपिल गर्दछु।'
उक्त आक्रमणको भिडियोमा प्रहरी पुग्नुअघि केही सर्वसाधारणले आक्रमणकारीलाई रोक्ने प्रयास गरेको देखिन्छ । वरिष्ठ प्रहरी अधिकारीहरूले उनीहरूकै कारण पीडितको ज्यान जोगिएको बताएका छन् ।
