तालिबान सरकारका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानले अफगानिस्तानको हवाई क्षेत्रको उल्लंघन गरेको बताएका छन् ।
काठमाडौँ — पाकिस्तानले मंगलबार राति अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । तालिबान सरकारका अनुसार उक्त आक्रमणमा १३ जना मारिएका छन् । मर्नेहरुमा ११ बालबालिका, एक महिला र एक वृद्ध रहेका छन् । १४ जना महिला घाइते भएका छन् ।
तालिबान सरकारका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानले अफगानिस्तानको हवाई क्षेत्रको उल्लंघन गरेको बताएका छन् । पाकिस्तानी सेनाले कुनार, खोस्त र पत्तिका प्रान्तमा आम मानिसका घरलाई निशाना बनाएर बमबारी गरेको आरोप लगाएका छन् । उनले घाइतेहरुको तस्बिरसमेत सार्वजनिक गरेका छन् ।
यद्यपि पाकिस्तानले अहिलेसम्म यस आक्रमणबारे आधिकारिक जानकारी दिएको छैन । पाकिस्तान र अफगानिस्तान सरकारबीचको सम्बन्ध तनावपूर्ण चलिरहेका बेला यो आक्रमण भएको छ । पछिल्ला केही महिनायता दुवै देशका सीमा क्षेत्रमा लगातार गोलीबारी भइरहेका छन् ।
मंगलबार नै पाकिस्तानको खैबर पख्तुनख्वामा सीमा चौकीमा भएको आक्रमणमा ६ जना पाकिस्तानी सुरक्षाकर्मी मारिएका थिए । पाकिस्तानी अधिकारीका अनुसार आक्रमणका क्रममा आठ जना विद्रोही पनि मारिएका छन् । आक्रमणकारीले चौकी कब्जा गर्न खोजेको अधिकारीले बताएका छन् ।
