अमेरिकाले पछिल्ला विकासक्रमबारे तत्कालै कुनै टिप्पणी गरेको छैन
काठमाडौँ — इरानले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य बेसहरूमा आक्रमण गरेको छ । हर्मुज जलमार्गका इरानी बन्दरगाह र टापुहरूमा अमेरिकाले गरेको हमलाको जवाफमा प्रत्याक्रमण गरिएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) को दाबी छ ।
यसमा अमेरिकी पाँचौं फ्लिट , कुवेतको अली अल सलेम एयरबेस, जोर्डनको अजराकस्थित एयरबेसलगायत पर्छन् । अल सलेममा ड्रोन तथा अजराकमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरिएको आइआरजीसीले जनाएको छ ।
अमेरिकी सेनाका २१ वटा ठेगानामा निशाना लगाइएको र त्यसमध्ये चारवटा क्षेत्र ध्वस्त गरिएको आइआरजीसीको दाबी छ । जोर्डनको आधारमा रहेको एफ-३५ लडाकु विमानको मर्मत तथा भण्डारण स्टेशनलाई ध्वस्त गरिएको आइआरजीसीको दाबी छ ।
त्यस्तै, इरानी सहर जामको आकाशमा एउटा अमेरिकी एमक्यू-९ ड्रोन खसालिएको दाबी आइआरजीसीको छ ।
मंगलबार बिहान अमेरिकी सेनाले हर्मुज जलमार्गमा रहेका केश्म टापु र इरानी तटवर्ती बन्दरगाहहरूमा आक्रमण गरेको थियो । इरानमाथि आफ्नो अपाचे हेलिकप्टर खसालेको आरोप लगाउँदै अमेरिकाले यो आक्रमण गरेको थियो ।
उक्त आक्रमणले सिरिक सहरको एउटा दूरसञ्चार टावरमा क्षति पुगेको इरानी सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै, त्यहाँका दुईवटा पानीका ट्याङ्कीहरू पनि ध्वस्त भएका थिए ।
अमेरिकाले पछिल्ला विकासक्रमबारे तत्कालै कुनै टिप्पणी गरेको छैन । यसअघि मंगलबार सामाजिक सञ्जाल ट्र्थ सोशलमा पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता एक-दुई दिनभित्रै टुंगोमा पुग्ने बताएका थिए ।
