वार्ता छाडेर आक्रमण–प्रत्याक्रमणमा उत्रिए अमेरिका–इरान

इरान युद्धमा अहिलेसम्म ७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले तीन सातामै युद्ध सकिने दाबी गरेका थिए । त्यसविपरीत युद्ध सुरु भएको साढे तीन महिना बितेको छ ।

जेष्ठ २७, २०८३

एजेन्सी

America and Iran abandon talks and engage in counterattacks

What you should know

वासिङ्टन — करिब साढे तीन महिनादेखि जारी इरान युद्ध अन्त्य गर्न अप्रत्यक्ष शान्ति वार्तामा रहेका अमेरिका र इरान पुनः आक्रमण–प्रत्याक्रमणमा उत्रिएका छन् । इरानले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य आधार इलाकामा आक्रमण गरेको छ ।

 हर्मुज जलमार्गका इरानी बन्दरगाह र टापुहरूमा अमेरिकाले गरेको हमलाको जवाफमा प्रत्याक्रमण गरिएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को दाबी छ । यसमा अमेरिकी पाँचौं फ्लिट, कुवेतको अली अल सलेम एयरबेस, जोर्डनको अजराकस्थित एयरबेसलगायत पर्छन् । अल सलेममा ड्रोन तथा अजराकमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरिएको आईआरजीसीले जनाएको छ ।

अमेरिकी सेनाका २१ वटा ठेगानामा निसाना लगाइएको र त्यसमध्ये चार वटा ध्वस्त भएको आईआरजीसीले जनाएको छ । जोर्डनको सैन्य बेसमा रहेको एफ–३५ लडाकु विमानको मर्मत तथा भण्डारण स्टेसनलाई नष्ट गरेको आईआरजीसीको दाबी छ ।

त्यस्तै, इरानी सहर जामको आकाशमा एउटा अमेरिकी एमक्यू–९ ड्रोन खसालिएको दाबी आईआरजीसीको छ । मंगलबार बिहान अमेरिकी सेनाले हर्मुज जलमार्गमा रहेका केश्म टापु र इरानी तटवर्ती बन्दरगाहहरूमा आक्रमण गरेको थियो । इरानले आफ्नो अपाचे हेलिकोप्टर खसालेको आरोप लगाउँदै अमेरिकाले आक्रमण गरेको थियो । तर इरानले अहिलेसम्म अपाचे हेलिकोप्टर खसालेको विषयमा कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकी आक्रमणले सिरिक सहरको एउटा दूरसञ्चार टावरमा क्षति पुगेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै, त्यहाँका दुई वटा पानीका ट्यांकीहरू पनि ध्वस्त भएका थिए ।

मंगलबार बिहानै अमेरिकाको सहयोगी इजरायलले पनि लेबनानको टायर सहरमा आक्रमण गरेको छ । प्यालेस्टिनी शरणार्थीहरू बस्दै आएको एक शिविरमा पनि यस क्रममा आक्रमण भएको छ । जवाफमा हिजबुल्लाहले पनि इजरायलमाथि आक्रमण गरेको छ । दक्षिण–पश्चिम मोर्चाको बायदा सहरमा इजरायली सैनिकहरूलाई लक्षित गरेर आक्रमण गरिएको हिजबुल्लाहले जनाएको छ । त्यस्तै नाबाटीय सहरमा नयाँ सैन्य कारबाही सुरु गरिएको बताएको छ । केही दिनअघि मात्रै इजरायलले यस सहरको ब्युफोर्ट क्यासल कब्जा गरेको थियो । इजरायली सेनाले लिटानी नदीको उत्तरमा रहेको निहामा पनि आक्रमणलाई तीव्र पारेको छ । उसले थप भूभाग कब्जा गर्ने प्रायः गरिरहेको छ । ।

इरान युद्धमा अहिलेसम्म ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । २८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि संयुक्त आक्रमण गर्दा पहिलो निसानामै सर्वोच्च नेता अली खामेनेईसहित शीर्ष कमान्डरहरू मारिएका थिए । इरान युद्ध तीन साताभित्रै सकिने दाबी अमेरिकी राष्ट्रपति ट्रम्पको थियो । त्यसविपरीत युद्ध सुरु भएको साढे तीन महिनाभन्दा बढी नाघिसकेको छ । युद्धका कारण पश्चिम एसियामा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा इरानले ठूलो क्षति पुर्‍याइरहेको छ । त्यस्तै, हर्मुजको जलमार्गमा नियन्त्रण कायम राख्दा विश्वव्यापी रूपमा कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यवृद्धि तथा संकट गहिरिएको छ । वासिङ्टन र तेहरानबीच अप्रिलमा युद्धविराम गर्ने सहमति भएको थियो । ११ र १२ अप्रिलमा दुई देश पाकिस्तानको इस्लामाबादमा प्रत्यक्ष रूपमा वार्ताको टेबलमा बसे । तर, उक्त वार्ता सफल हुन सकेन । त्यसयता, शान्ति सम्झौताका लागि लगातार प्रयास हुँदै आए पनि यसले सार्थकता पाउन सकेको छैन ।

अमेरिकाले पछिल्ला घटनाक्रमबारे कुनै टिप्पणी गरेको छैन । यसअघि मंगलबार सामाजिक सञ्जाल ट्रुर्थ सोसलमा पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता एक–दुई दिनभित्रै टुंगोमा पुग्ने बताएका थिए । उनले युद्धको वातावरण नबिगार्न तथा इरान र लेबनानमा भइरहेका आक्रमण रोक्न पनि इजरायललाई सचेत गराएका थिए ।

पहिल्यैदेखि कमजोर अवस्थामा रहेको अमेरिका–इरान युद्धविरामलाई पछिल्ला आक्रमण र प्रत्याक्रमणहरूले बिथोल्न सक्ने जोखिम देखिएको छ । यसअघि मंगलबार इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईलाई उद्धृत गर्दै इरानको स्टुडेन्ट न्युज नेटवर्कले अमेरिकासँगको वार्ताको ‘पुनरावलोकन’ भइरहेको बताएको थियो । अमेरिकाले इरानका बन्दरगाहहरूमा आक्रमण गरेको केही समयमै उनले यस्तो प्रतिक्रिया दिएका थिए । बगाईले अमेरिका र इजरायलमाथि बारम्बार युद्धविराम उल्लंघन गरेको आरोप लगाएका थिए । त्यसको केही समयमै इरानले पनि पश्चिम एसियाभर आक्रमण गर्‍यो ।

पश्चिम एसियाका देशहरूले इरानको पछिल्लो आक्रमणको आलोचना गरेका छन् । इजिप्टको विदेश मन्त्रालयले बुधबार जोर्डन, बहराइन र कुवेतविरुद्ध इरानले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । ‘यी आक्रमणहरूले हाम्रा राष्ट्रहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको खुला उल्लंघन गरेका छन् । सम्पूर्ण क्षेत्रको सुरक्षा र स्थिरतालाई खतरामा पार्ने खतरा पैदा गरेका छन्,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । यूएईको विदेश मन्त्रालयले बहराइन, कुवेत र जोर्डनप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको जनाएको छ । कतारको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनका नियमहरूको खुला उल्लंघन गर्दै इरानले आक्रमण गरेको जनाएको छ ।

उता, अमेरिका र इजरायलले विभिन्न जलाशयहरूमा आक्रमण गर्दा २० हजार इरानीहरू पिउने पानीबाट वञ्चित भएको आरोप इरानले लगाएको छ । बुधबार एक अधिकारीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमले दुई वटा जलाशयमा प्रहार हुँदा कम्तीमा २० हजार इरानीहरू पिउने पानीबाट वञ्चित भएको जनाएको छ । स्थानीय अधिकारी हम्जेहपुरका अनुसार ती जलाशयहरूले कोहेस्तक सहर र वरपरका १० गाउँहरूमा पिउने पानी उपलब्ध गराउँदै आएका थिए ।

आक्रमणका कारण झन्डै १४० बिलियन टोमन वा ७ लाख ९५ हजार अमेरिकी डलर बराबरको क्षति पुर्‍याएको अनुमान अधिकारीहरूले गरेका छन् । अहिले ट्यांकर ट्रकबाट पानी आपूर्ति, अस्थायी पम्पिङ प्रणालीको प्रयोगलगायत आपत्कालीन उपायहरू सञ्चालन गरिएको समाचारमा उल्लेख छ ।

विश्लेषक एलिज्या मग्नियरले अलजजिरासँगको कुराकानीमा पछिल्लो मुठभेडका बाबजुद दुवै देशबीच ठूलो हुने सम्भावना कम रहेको विश्लेषण गरेका छन् । ‘अमेरिकाले आ–आफ्ना सेनाहरूलाई जोगाउन र आवागमनको स्वतन्त्रता पुनःस्थापना गर्न चाहन्छ । त्यसैले आफ्नो प्रभुत्व देखाउनका लागि आक्रमण गरिरहेको छ । अर्कोतर्फ, इरानले आफूमाथि गरिने प्रत्येक आक्रमणको मूल्य चुकाउनुपर्नेछ भन्ने सन्देश दिन खोजेको छ,’ उनले भने, ‘तर खर्च ठूलो हुने भएकाले दुवै पक्षले असीमित र ठूलो परिमाणको युद्ध चाहेको देखिँदैन । युद्धले खाडीको ऊर्जा, सुरक्षा र विश्व बजारलाई नै प्रभावित गरेकाले यसको खर्च अहिल्यै ठूलो भइसकेको छ । त्यही कारण पनि दुवै पक्ष युद्ध गर्न चाहन्नन् ।’

एजेन्सी

Link copied successfully