सात वर्षपछि सी उत्तर कोरिया भ्रमणमा गएका हुन् ।
काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच दुई देशीय सम्बन्धलाई थप सुदृढ बनाउने सहमति भएको छ ।
चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दुई नेताबीच दुई देशीय परम्परागत मित्रतालाई पुस्तौं पुस्तासम्म अघि बढाउने सहमति भएको हो । मंगलबार सी र उनकी पत्नी पेङ लियुआनलाई किम र उनकी पत्नी रि सोल जुले प्योङयाङस्थित चीन–उत्तर कोरिया मैत्री टावरमा घुमाएका थिए ।
सन् १९५० मा चीन र उत्तर कोरियाले मिलेर लडेको सम्झना गर्दै उनीहरुले युद्धमा लड्नेहरुको संझनामा बनाइएका विभिन्न स्मारकहरुको संरक्षण गर्ने, क्रान्तिकारी परम्परा र युवा शिक्षाका लागि पृथक कार्यक्रमहरु सञ्चालन गर्नेलगायत प्रतिवद्धता व्यक्त गरे ।
सात वर्षपछि सी उत्तर कोरिया भ्रमणमा गएका हुन् । यसअघि गत सेप्टेम्बरमा बेइजिङमा उनले किमसँग भेटेका थिए ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सोमबार प्योङयाङको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा सी र उनकी पत्नीलाई उच्च सम्मान दिइएको थियो । उत्तर कोरियाली नेता किम जोङ उनले रातो कार्पेट ओछ्याएर सम्मान गरेका थिए । सीको सम्मानमा सैन्य सलामी पनि दिइएको थियो ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले व्यापार, कृषि, निर्माण, प्रविधि लगायतका विस्तृत क्षेत्रहरूमा सहयोग विस्तार गर्न चीन तयार रहेको सीले बताएका थिए । पछिल्लो समय उत्तर कोरिया रुससँग नजिकिदैं गएको छ ।
युक्रेन युद्धमा उत्तर कोरियाले रुसका तर्फबाट ठूलो संख्यामा सैनिकहरु खटाएको छ । त्यस्तै, उत्तर कोरियाको आणविक हतियार कार्यक्रममा रुसको सहयोग बढ्दो छ ।
उत्तर कोरियाको बढ्दो रुससँगको निकटताबाट झस्किएका सीले दुबै देशले रणनीतिक सहयोगलाई सुदृढ गर्नुपर्ने र आ-आफ्नो सार्वभौमसत्ता र सुरक्षा हितको दृढतापूर्वक रक्षा गर्नुपर्ने बताए ।
