ट्रम्पको चेतावनीका बाबजुद इजरायलद्धारा लेबनानमा आक्रमण

ट्रम्पले लेबनानमाथि आक्रमण नगर्न इजरायललाई सचेत गराएका थिए ।

जेष्ठ २६, २०८३

एजेन्सी

Israel attacks Lebanon despite Trump's warning

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान तथा लेबनानमा आक्रमण नगर्न इजरायललाई  चेतावनी दिएका थिए ।  यसका बाबजुद मंगलबार इजरायलले लेबनानको टायर शहरमा आक्रमण गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

इजरायलले स्थानीयलाई  शहर छाड्न चेतावनी दिएर बम खसालेको थियो । यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत इरान-इजरायल दुबैलाई आक्रमण बन्द गर्न माग गरेका थिए ।

उनले लेबनानमाथि आक्रमण नगर्न पनि इजरायललाई सचेत गराएका थिए । इजरायलको आक्रमणले इरानसँगको शान्ति वार्ता बिथोलिनसक्नेतर्फ पनि उनले नेतान्याहूलाई सजग गराएका थिए । 

'मैले नेतान्याहुलाई तिमी सचेत हुनुपर्छ, नत्र धेरै चाँडै एक्लो हुनेछौं भनेँ' ट्रम्पले नेतान्याहूसँगको फोन संवादबारे अमेरिकी सञ्चारमाध्यम एक्सियोससँग भने ।

यसअघि उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत इरानसँगको शान्तिवार्ता निकै सकारात्मक रुपमा अघि बढेको र दुई वा तीन दिनभित्र सार्थक परिणाम आउने जानकारी दिएका थिए ।

उता, इरानी संसद्का सभामुख मोहम्मद बेगर गालिबाफले इजरायली आक्रमणका कारण अमेरिकासँगको युद्धविराम कमजोर अवस्थामा पुगेको र कुनै पनि समय बिथोलिनसक्ने चेतावनी दिएका थिए । उनले लेबनानमाथि इजरायलले आक्रमण बन्द नगरेसम्म इरानले पनि आक्रमण जारी राख्‍ने बताएका थिए । 

आइतबार र सोमबार इरान-इजरायलले एकअर्काविरूद्ध मिसाइल प्रहार गरेका थिए । त्यसक्रममा इरानका दुई सैनिकको निधन भएको इरानी सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले शान्ति वार्तापछि इरानले आणविक हतियार कार्यक्रम बन्द गर्ने र हर्मुजको जलमार्ग तत्कालै खुल्ने दाबी सामाजिक सञ्जालमा गरेका छन् । 

११ र १२ अप्रिलमा पाकिस्तानको इस्लामावादमा भएको प्रत्यक्ष वार्ता असफल भएपछि इरान र अमेरिकाले तेस्रो पक्षको मध्यस्थतामा अप्रत्यक्ष वार्ता गर्दै आएका छन् । ट्रम्पले पटक-पटक वार्ता सफल हुन लागेको दाबी गरेपनि सार्थक परिणाम भने अझै निस्किएको छैन । 

एजेन्सी

Link copied successfully