अन्तर्वार्ता दिँदादिँदै बीचमै उठे ट्रम्प, पत्रकारहरूसँग बारम्बार किन सन्किन्छन् ?

मिडियासँग 'लभ एन्ड हेट' सम्बन्ध ट्रम्पको पुरानै आदत हो । ट्रम्पले मिडिया र पत्रकारप्रति बारम्बार तुच्छ टिप्पणी गर्दै आएका छन् ।

जेष्ठ २५, २०८३

कान्तिपुर संवाददाता

Trump stood up in the middle of an interview, why does he repeatedly get annoyed with reporters?

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प फेरि एकपल्ट पत्रकारको प्रश्नले भड्किएका छन् र बीचमै अन्तर्वार्ता छाडेका छन् । अमेरिकी टेलिभिजन एनबीसीमा क्रिस्टन वेल्करसँग अन्तर्वार्ता दिइरहेका बेला ट्रम्प भड्किएका हुन् । आफूले गरेका दाबीमाथि पत्रकार वेल्करले प्रमाण दिन भनेपछि ट्रम्प रिसाएका हुन् । 

आइतबार प्रसारण भएको कार्यक्रम 'मीट द प्रेस' मा ट्रम्पले क्यालिफोर्नियामा भइरहेको प्राइमरी चुनाव र २०२० को राष्ट्रपति चुनाव 'धाँधलीपूर्ण' भएको दाबी गरेका थिए । त्यसपछि वेल्करले क्यालिफोर्निया चुनावमा धाँधली भएको प्रमाण मागिन् ।

जवाफमा ट्रम्पले भने, 'मलाई केवल हेर्नु र सुन्नु मात्र छ ।' वेल्करले त्यसै छाडिनन्, उनले भनिन्, 'यो त प्रमाण होइन नि ।' त्यसपछि ट्रम्प सन्किएका हुन्, उनले मिडियालाई 'बेइमान' करार गरे । कुराकानी सकिएको भन्दै उनले भने, 'माफ गर्नुहोला, यसलाई यहीँ सकौँ । मेरा लागि धेरै नै भयो ।'

यो अन्तर्वार्ता विस्कन्सिनमा किसानहरूको एक कार्यक्रमका बीच गरिएको थियो । अन्तर्वार्ता एउटा फार्म हाउसको गोदाममा छायांकन गरिएको थियो । मौसमी प्रतिकूलताका बीच अन्तर्वार्ता भएको पनि वेल्करले एक्समार्फत जानकारी दिएकी थिइन् ।

एनबीसीका अनुसार अन्तर्वार्ता सुरू भएको करिब ५० मिनेटपछि ट्रम्पले छाडेका हुन् । अन्तर्वार्तामा मुख्यगरी इरानसँग जारी युद्धकै बारेमा केन्द्रित रहेको थियो । वेल्करको प्रश्नमा ट्रम्पले इरानलाई परमाणु हतियार बनाउनबाट रोक्न पनि कारबाही आवश्यक रहेको दाबी गरे । साथै यो 'अन्तहीन युद्ध' नभएको उनले बताए । उनले भने, 'हामी त्यहाँ केही महिना रहन्छौँ । त्यसपछि धेरै हदसम्म खतरा समाप्त हुनेछ ।'

कुराकानीकै बीच २०२० को चुनावी विषय उठ्यो, जहाँ ट्रम्पले बिनाप्रमाण धाँधली भएको दाबी गर्न थाले । क्यालिफोर्नियामा गभर्नरसहित केही पदका लागि नोभेम्बरमा हुने मध्यावधि चुनावमा को उम्मेदवार हुने भन्ने प्राथमिक चुनावबारे उनले कुरा उठाए । उनले चार दिन बित्दा पनि परिणाण घोषणा नभएको बताए । उनले भने, 'उनीहरू चुनावमा धाँधली गरिरहेका छन् ।'

वेल्करले सोधिन्, 'के तपाईंसँग यसको केही प्रमाण छ त ?'

ट्रम्पको जवाफ थियो, 'मलाई केवल हेर्नु र सुन्नु छ ।' 

वेल्करले फेरि भनिन्, 'यो त कुनै प्रमाण भएन नि !'

बीबीसीका अनुसार क्यालिफोर्नियामा अन्तिम परिणाम घोषणा हुन प्राय: धेरै समय लाग्ने गर्छ । त्यहाँ मेल-इन-ब्यालेटको अत्यधिक प्रयोग हुँदै आएको छ । ट्रम्पले लामो समयदेखि यो प्रणालीको आलोचना पनि गर्दै आएका छन् । 

बीचमै यसैलाई जोड्दै उनले भने, 'उनीहरू बेइमान छन्, ठ्याक्कै तपाईंजस्तै ।' 

वेल्कर पछि हटिनन्, उनले फेरि भनिन्, 'निष्पक्षताको कुरा गर्ने हो भने त म बेइमान होइन, तर कुराकानी जारी राखौँ ।'

त्यसपछि ट्रम्पले भने, 'कि तपाईं बेइमान हुनुहुन्छ कि बेवकुफ ।' 

वेल्करसँगको वादविवादपछि ट्रम्पले भने, 'भयो अब यही सकौँ, मेरा लागि धेरै भयो । थ्यांक यु डार्लिङ, ह्याभ अ गुड टाइम ।' ट्रम्पले प्रेसलाई सुध्रन पनि आग्रह गरे ।  

यद्यपि वेल्करले 'मीट द प्रेस' सँग पुन: कुराकानी गर्न ट्रम्प तयार भएको बताएकी छिन् । 

मिडियासँग 'लभ एन्ड हेट' सम्बन्ध ट्रम्पको पुरानै आदत हो । ट्रम्पले मिडिया र पत्रकारप्रति बारम्बार तुच्छ टिप्पणी गर्दै आएका छन् । 

ट्रम्पले विगतमा पनि सञ्चारमाध्यम र पत्रकारविरुद्ध तुच्छ टिप्पणी गर्दै आएका थिए। पत्रकार सम्मेलनमा आएका पत्रकारलाई तुच्छ खालको व्यवहार गर्ने, प्रश्न गर्न नदिने, पत्रकारको विश्वसनियतामाथि उल्टै प्रश्न गर्ने व्यवहारका कारण पनि ट्रम्प आलोचित हुँदै आएका थिए।

उनले मिडिया वा रिपोर्टरहरूलाई बारम्बार ‘फेक न्युज’, ‘सिटिजन्स एनिमि’, ‘भ्रष्ट’, ‘लो लेभल रिपोर्टर’, ‘ब्याड पिपुल’, ‘डर्टी पिपुल’ जस्ता अपमानजनक शब्दहरू प्रयोग गरेर टिप्पणी गर्छन्। कमिटी टू प्रोटेक्ट जर्नालिस्ट्सले २०२० को रिपोर्टमा पनि ट्रम्पले नियमित रूपमा मिडियालाई यस्तो तुच्छ टिप्पणी गर्ने गरेको उल्लेख गरेको छ।

ट्रम्प आफै खुसी हुनका लागि र मिडियाको विश्वसनीयतालाई नकारात्मक देखाउन यस्ता तुच्छ टिप्पणी गर्छन्। ट्रम्प मिडियालाई नकारात्मक र अविश्वसनीय बनाउन यस्तो टिप्पणी गर्ने आफैँले स्वीकारेका छन्।

उनले २०१८ मा पत्रकारसँग एक वार्तामा पत्रकार र मिडियालाई बदनाम गर्न र अपमान गर्न तुच्छ टिप्पणी गरेको बताएका थिए। लेस्ली स्टाहलसँगको वार्तामा उनले भनेका छन्- ‘म यो किन गर्छु थाहा छ? म यो तपाई सबैलाई बदनाम गर्न र अपमान गर्न गर्छु ताकि जब तपाईं मेरो बारेमा नकारात्मक समाचार लेख्नुहुन्छ, कसैले पनि विश्वास गर्दैन।’

कान्तिपुर

Link copied successfully