मिडिया र पत्रकारप्रति ट्रम्पको यतिसम्मको घृणा किन ?

बीबीसीको ‘पानोरामा’ श्रृंखलाले उत्पादन गरेको ‘ट्रम्पः अ सेकेन्ड चान्स ?’ नामक ‘डकुमेन्ट्री’मा ‘मिसलिड’ हुने गरी ट्रम्पको भाषण काटछाँट गरेको आरोप लागेपछि महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले राजीनामा दिए। सो घटनापछि ट्रम्पले बीबीसीसँग १ अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

कार्तिक २७, २०८२

दया दुदराज

Why does Trump have such hatred for the media and journalists?

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण तोडमोड गरेको आरोप लागेपछि गत आइतबार ब्रिटिस ब्रोडकाष्टिङ कर्पोरेसन (बीबीसी) का दुई पत्रकारले राजीनामा दिए । बीबीसीको ‘पानोरामा’ श्रृंखलाले उत्पादन गरेको ‘ट्रम्पः अ सेकेन्ड चान्स ?’ नामक ‘डकुमेन्ट्री’मा ‘मिसलिड’ हुनेगरी ट्रम्पको भाषण काटछाँट गरेको आरोप लागेपछि महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका हुन् ।

सोही डकुमेन्ट्रीलाई लिएर ट्रम्पले बीबीसीसँग १ अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

यो डकुमेन्ट्री सन् २०२४ मा भएको अमेरिकी चुनावको एक साताअघि प्रसारण भएको थियो। ६ जनवरी २०२१ मा ट्रम्पले वासिङ्टन डीसीमा गरेको भाषणमा भनेका थिए, ‘हामी क्यापिटलतिर जाने छौँ। अनि हाम्रा साहसी सिनेटरहरू र कंग्रेसमेन/वुमनको हौसला बढाउने छौँ।’ तर डकुमेन्ट्रीमा भिडियोको सिलसिला भंग गरेर एकैपटक अन्त्यतिरको अंश जोडिएको छ।

ट्रम्पले ‘हामी क्यापिटलतिर जाने छौं, त्यहाँ म तपाईँहरूसँगै हुनेछु, अनि हामी लडाँइ गर्छौँ, हामी बेस्सरी लडाँइ गर्छौं,’ भनेको डकुमेन्ट्रीमा देखाइएको छ। उक्त भिडियोमा मिसलिड गरिएको भन्दै गत साता बेलायती पत्रिका टेलिग्राफले समाचार सार्वजनिक गरेको थियो।

बीबीसीद्वारा ट्रम्पको भाषणलाई हेरफेर’ शिर्षकमा गत ३ नोभेम्बरमा टेलिग्राफले समाचार प्रकाशित गरेपछि डकुमेन्ट्रीबारे खुलासा भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार गत सोमबार ट्रम्पले भ्रामक हुनेगरी भिडियो सम्पादन गरिएको भन्दै बीबीसीलाई धम्कीपूर्ण कानुनी पत्र पठाएर चेतावनी दिएका छन्। उनले कम्तीमा १ अर्ब डलर क्षतिपूर्तिको माग गरेका छन्।

ट्रम्पले बीबीसीका पत्रकारलाई ‘भ्रष्ट’ भन्दै टेलिग्राफको उक्त समाचार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’मा पनि सेयर गरेका छन्। उनले लेखेका छन्, ‘यी भ्रष्ट पत्रकारहरूलाई पर्दाफास गरेकोमा टेलिग्राफलाई धन्यवाद। यी धेरै बेइमान मानिसहरू हुन्, जसले राष्ट्रपति चुनावको तराजुमा पाइला टेक्न खोजेका थिए। लोकतन्त्रको लागि कस्तो भयानक कुरा भाषिक तुच्छता र पत्रकारको अपमान।’

बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखले गल्ती स्वीकार्दै राजिनामा दिँदा पनि ट्रम्पले देखाएको हर्कतका कारण पत्रकारिता जगत त्रासमा छ। राजीनामा दिइसकेका डेभीले ट्रम्पको यो कदमप्रति संसय व्यक्त गर्दै पत्रकारिताका लागि लड्न आग्रह समेत गरेका छन्।

भाषिक तुच्छता र अपमान

बीबीसीले गल्ती गरेको स्वीकार गर्दै दुई प्रमुख व्यक्तिले राजीनामा दिँदा पनि ट्रम्प आफ्नो अडानबाट पछि हटेका छैनन्। यसको एउटै कारण हो—मिडियाप्रतिको घृणा। ट्रम्पले सञ्चारमाध्यमविरुद्ध बयानबाजी गरेको वा दुःख दिएको यो पहिलो घटना भने होइन।

ट्रम्पले विगतमा पनि सञ्चारमाध्यम र पत्रकारविरुद्ध तुच्छ टिप्पणी गर्दै आएका थिए। पत्रकार सम्मेलनमा आएका पत्रकारलाई तुच्छ खालको व्यवहार गर्ने, प्रश्न गर्न नदिने, पत्रकारको विश्वसनियतामाथि उल्टै प्रश्न गर्ने व्यवहारका कारण पनि ट्रम्प आलोचित हुँदै आएका थिए।

उहाँले मिडिया वा रिपोर्टरहरूलाई बारम्बार ‘फेक न्युज’, ‘सिटिजन्स एनिमि’, ‘भ्रष्ट’, ‘लो लेभल रिपोर्टर’, ‘ब्याड पिपुल’, ‘डर्टी पिपुल’ जस्ता अपमानजनक शब्दहरू प्रयोग गरेर टिप्पणी गर्छन्। कमिटी टू प्रोटेक्ट जर्नालिस्ट्सले २०२० को रिपोर्टमा पनि ट्रम्पले नियमित रूपमा मिडियालाई यस्तो तुच्छ टिप्पणी गर्ने गरेको उल्लेख गरेको छ।

ट्रम्प आफै खसी हुनका लागि र मिडियाको विश्वसनियतालाई नकारात्मक देखाउन यस्ता तुच्छ टिप्पणी गर्छन्। ट्रम्प मिडियालाई नकारात्मक र अविश्वसनीय बनाउन यस्तो टिप्पणी गर्ने आफैँले स्वीकारेका छन्।

उनले २०१८ मा पत्रकारसँग एक वार्तामा पत्रकार र मिडियालाई बदनाम गर्न र अपमान गर्न तुच्छ टिप्पणी गरेको बताएका थिए। लेस्ली स्टाहलसँगको वार्तामा उनले भनेका छन्- ‘म यो किन गर्छु थाहा छ? म यो तपाई सबैलाई बदनाम गर्न र अपमान गर्न गर्छु ताकि जब तपाईं मेरो बारेमा नकारात्मक समाचार लेख्नुहुन्छ, कसैले पनि विश्वास गर्दैन।’

ट्रम्पले यसअघि पनि विभिन्न सञ्चारमाध्यमहरूलाई आरोप लगाउँदै मुद्दा चलाएर दुःख दिने काम गरेका छन्। ट्रम्पले अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्ससहित दुई संवाददाताविरुद्ध गत सेप्टेम्बर १५ मा १५ बिलियन अमेरिकी डलर (२१ खर्ब २४ अर्ब नेपाली रुपैयाँ) क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए।

न्यूयोर्क टाइम्सका दुई संवाददाताले लिखित पुस्तकमा २०२४ को चुनावका क्रममा आफूविरुद्ध ‘गलत, भ्रमक र अपमानजनक’ विषय लेखेको भन्दै ट्रम्पले फ्लोरिडास्थित संघीय अदालतमा मुद्दा दायर गरेका हुन्। ट्रम्पले मुद्दा दायर गर्नुको कारण थियो २०२४ मा प्रकाशित पुस्तक ‘लकी लुजरः हाउ डोनाल्ड ट्रम्प स्क्वान्डर्ड हिज फादर्स फर्च्युन एण्ड क्रिएटेड द इल्युजन अफ सक्सेस’।

यो पुस्तकमा ट्रम्पको व्यवसाय र व्यक्तिगत प्रतिष्ठालाई हानि पुर्‍याएको भन्दै उनले आफ्नो ब्रान्ड मूल्यमा ठुलो आर्थिक क्षति भएको बताएका थिए।टाइम्स रिपोर्टरहरूले लेखेको यो पुस्तक र रिपोर्टिङमा आफुविरुद्ध ‘झूटा र अपमानजनक सामग्री फैलाएको’ ट्रम्पले आरोप लगाएका थिए।

पुस्तक प्रकाशन गृह ‘पेङ्गुइन प्रेस’माथि पनि ट्रम्पले मुद्दा दायर गरेका थिए। सो समयमा ट्रम्पले चुनावका क्रममा टाइम्स डेमोक्र्याटिक पार्टीको ‘मुखपत्र’ बनेको आरोप समेत लगाएका थिए। त्यस्तै, न्यूयोर्क टाइम्सले यौन दुराचारी जेफ्री एपस्टाइनसँगको सम्बन्धबारे लेखेको थियो। २०१९ मा न्यूयोर्क जेल सेलमा आत्महत्या गरेर मृत्यु भएका अपमानित फाइनान्सर र यौन दुराचारी एपस्टाइनलाई दिइएको नोट र सम्बन्धबारे रिपोर्टिङमा गरेको थियो।

ट्रम्पले टाइम्सविरुद्ध दायर गरेको मुद्दा अमेरिकी अदालतका न्यायाधीश स्टीवन मेरीडेले सेप्टेम्बर १९ मा खारेज गरेका थिए। तर न्यायलाई चुनौती दिँदै उनले टाइम्सविरुद्ध अक्टोबर १६ मा दोस्रो पटक मुद्दा दायर गरेका छन्। यो मुद्दा अझै विचाराधीन छ।

न्यूयोर्क टाइम्समा मुद्दा दायर गर्नुअघि ट्रम्पले अमेरिकाकै अर्को प्रतिष्ठित सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलविरुद्ध पनि मुद्दा दायर गरेका थिए। ट्रम्पले आफुविरुद्ध ‘अपमानजनक’ सामग्री प्रकाशन गरेको भन्दै गत जुलाई १८ मा जर्नलविरुद्ध १० बिलियन अमेरिकी डलर (१४ खर्ब १६ अर्ब नेपाली रुपैयाँ) को मागसहित मुद्दा दायर गरेका हुन्।

जर्नलले १७ जुलाईमा यौन दुराचारी जेफ्री एपस्टाइनसँग ट्रम्पको सम्बन्धबारे समाचार प्रकाशन गरेको थियो। सो समाचारमा यौन दुराचारी एपस्टाइनलाई बर्थडेको दिन ट्रम्पले जन्मदिनको शुभकामना पत्र पठाएको लेखिएको थियो। तर आफूले सो पत्र नलेखेको भन्दै ट्रम्पले १८ जुलाईमा मुद्दा दायर गरेका थिए। यद्यपि ट्रम्पको मुद्दा निराधार रहेको बताइँदै आएको छ। हाल यो मुद्दा अदालतमा विचाराधीन छ।

३१ अक्टोबर २०२४ मा ट्रम्पले कोलम्बिया ब्रोडकास्टिङ सिस्टम (सीबीएस)विरुद्ध १० बिलियन अमेरिकी डलर बराबरको मागदावीसहित मुद्दा दायर गरेका थिए। ट्रम्पको पछिल्लो कार्यकालको चुनावी प्रचारको अन्त्यतिर कमला ह्यारिससँगको अन्तर्वार्तालाई छलछाम गरी सम्पादन गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको हो।

सीबीएसको ‘६० मिनेट्स’ कार्यक्रममा कमला ह्यारिससँगको अन्तर्वार्ता प्रसारण भएको थियो। अन्तर्वार्तामा ह्यारिसले इस्राइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको बारेमा प्रश्नको लामो उत्तर दिएकी थिइन् तर क्लिपहरूमा ती उत्तरका २१ सेकेन्ड र ७ सेकेन्डको अंश मात्र देखाइएपछि ट्रम्पले आपत्ति जनाएका थिए।

सो अन्तर्वार्तामा ह्यारिसको अन्तर्वार्ता तोडमोड गरेर चुनाव लक्षित बनाएको ट्रम्पले आरोप लगाएका थिए। तर सिबिएस यसको मातृ संस्था प्यारामाउन्टले ट्रम्पको आरोप निराधार रहेको बताएको थियो। यद्यपि ट्रम्पले आफ्नो अडान छाडेका छैनन्। १ जुलाई २०२५ मा प्यारामाउन्टले ट्रम्पसँग मुद्दा सुल्झाउन १६ मिलियन अमेरिकी डलर तिर्न सहमति गरेको छ। यद्यपि सीबीएसले गल्ती स्वीकार गरेको छैन।

ट्रम्पले १८ मार्च २०२४ मा अमेरिकन ब्रोडकास्टिङ कम्पनीज (एबिसी) र सोका एंकर जर्ज स्टेफानोपालसविरुद्ध मुद्दा दायर गरेका थिए। रिपब्लिकन राजनीतिज्ञ न्याँसी मेससँगको अन्तर्वार्तामा स्टेफानोपालसको भनाइलाई लिएर ट्रम्पले मुद्दा दायर गरेका हुन्।

स्टेफानोपालसले न्याँसीसँग यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका जीन क्यारोलसँग जोडेर अप्रत्यक्ष रुपमा बारम्बार ट्रम्पलाई जोडेका थिए। स्टेफानोपालसले क्यारोललाई बलात्कारमा दोषी ठहर भएका बताएका थिए। तर उनी यौन दुर्व्यवहारमा मात्रै दोषी ठहर भएका थिए। ट्रम्पले सोही विषयलाई आधार बनाएर मुद्दा दायर गरेका थिए।

यो मुद्दा लामो समयसम्म चलेन। एबिसीले ट्रम्पको भविष्यको राष्ट्रपति पुस्तकालय र संग्रहालयको लागि १५ मिलियन अमेरिकी डलर दान गर्ने, १ मिलियन ट्रम्पलाई तिर्ने र अन्तर्वार्तासँग सम्बन्धित एक सम्पादकीय टिप्पणी पनि प्रकाशित गर्ने सम्झौतापछि मुद्दा टुंगियो। तर सीबीएसले माफी मागेन। यद्यपि ट्रम्पले बनाउने पुस्तकालयमा दान गर्ने सहमति कायमै छ।

३ अक्टोबर २०२२ मा ट्रम्पले सिएनएनविरुद्ध मुद्दा दायर गरेका थिए। मिडिया प्रभावको दुरुपयोग गर्दै आफ्नो राजनीतिक भविष्य र इमेजलाई नष्ट गर्न प्रयास गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका हुन्। सिएनएनले पाँच विषयलाई ट्रम्पको चुनावी दाबीलाई ‘द बिग लाइ’ भनेर सामग्री बनाएको थियो। ट्रम्पले ‘द बिग लाइ’ शब्दप्रति आपत्ति जनाउँदै मुद्दा दायर गरेका थिए।

सिएनएनले जानाजानी यस्तो शब्द प्रयोग गरेर उनलाई नाजी प्रोपगान्डासँग जोड्न प्रयास गरेको भन्दै ट्रम्पले आपत्ति जनाएका थिए। ट्रम्पले ४७५ मिलियन अमेरिकी डलर मागदावी सहित मुद्दा दायर गरेका थिए। तर अदालतले मुद्दा खारेज गरेपछि यो पैसा वा कुनै अन्य क्षतिपूर्ति ट्रम्पले पाएनन्।

ट्रम्पको पुरानै आदत

ट्रम्पले ३९ वर्षअघि अर्थात् सन् १९८४ अक्टोबरमा पनि मिडियाविरुद्ध मुद्दा दायर गरेका थिए। ट्रम्पले ‘दि शिकागो ट्रिब्यून’मा छापिएको एउटा स्तम्भलाई लिएर मुद्दा दायर गरेका थिए। ट्रम्पले स्तम्भका लेखक पल ग्याप र ‘दि शिकागो ट्रिब्यून’विरुद्ध ५०० मिलियन अमेरिकी डलर माग दावी सहित मुद्दा दायर गरेका थिए।

ट्रम्पले न्यूयोर्कमा संसारको सबैभन्दा अग्लो भवन अर्थात १५० तलाको स्काइस्क्रेपर निर्माण योजना बनाएका थिए। पलले स्तम्भमा उक्त निर्माण योजना ‘व्यवहारिक रुपमा असम्भव’ भन्दै आलोचना गरेका थिए। त्यसैविरुद्ध ट्रम्पले मानहनीको मुद्दा दायर गरेका थिए।

तर न्यायाधीश इडवार्ड विनफिल्डले मुद्दा खारेज गरिदिएका थिए। पलको लेख व्यक्तिगत विचारमा आधारित भएको भन्दै मुद्दा खारेज भएको थियो। अमेरिकी संविधान अनुसार पलको यो लेख स्वतन्त्र अभिव्यक्ति अधिकारअन्तर्गत आएको ठहर भयो। ट्रम्पले ५०० मिलियन अमेरिकी डलर माग गरेका थिए, तर अदालतले मुद्दा खारेज गरेपछि कुनै क्षतिपूर्ति प्राप्त भएन।

(एजेन्सीको सहयोगमा)

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully