अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताबारे आफू आशावादी रहेको बताउँदै आएका छन् ।
What you should know
दुबई — अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेको आइतबार १०० औं दिन भएको छ । आइतबार नै अमेरिकाले हर्मुज जलमार्गमा दुई वटा इरानी ड्रोन खसालेको घोषणा गरेको छ । यसअघि इरानले शनिबार बहराइन र कुवेतमा आक्रमण गरेको थियो ।
यद्यपि, दुई पक्षबीच अप्रत्यक्ष वार्ताहरू जारी छन् । तत्काल लडाइँ रोक्ने र इरानको आणविक कार्यक्रमका विषयमा भविष्यमा सम्झौता गर्न दुवै पक्ष सहमत भएको अलजजिराको समाचारमा उल्लेख छ । आइतबार पाकिस्तानका गृहमन्त्री मोसिन नक्वीले इरानको राजधानी तेहरानको भ्रमण गरेका छन् । उनले इरानी सर्वोच्च नेता मोज्ताबा खोमेनेईलाई अमेरिकाको सन्देश सुनाएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताबारे आफू आशावादी रहेको बताउँदै आएका छन् । इरानका विदेशमन्त्री अब्बास अराग्चीले पनि दुई देशबीच सञ्चार खुला रहेको बताएका छन् । तर, अप्रत्यक्ष वार्तामा ठोस प्रगति हुन सकेको छैन । इरानले लेबनानसहित सबै मोर्चामा शत्रुताको अन्त्य, रोक्का गरिएको अर्बौं डलरको सम्पत्तिमा पहुँच, कच्चा तेल निर्यातमा पश्चिमा देशहरूले लगाएको प्रतिबन्ध फुकुवा, अमेरिकाले आफ्ना बन्दरगाहमा लगाएको नाकाबन्दी खुला गर्नुपर्नेलगायत माग राखेको छ । इरानले आणविक कार्यक्रम स्थगित गर्नुपर्ने, उच्च संवर्द्धित युरेनियमलाई देशबाहिर पठाउन सहमत हुनुपर्ने, हर्मुजको जलमार्ग खुला गर्नुपर्नेलगायत माग अमेरिकाको छ ।
इरान युद्धमा अहिलेसम्म ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । २८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि संयुक्त आक्रमण गर्दा पहिलो निसानामै सर्वोच्च नेता अली खामेनेईसहित शीर्ष कमान्डरहरू मारिएका थिए । इरान युद्ध तीन साताभित्रै सकिने दाबी अमेरिकी राष्ट्रपति ट्रम्पको थियो । त्यसविपरीत आक्रमण–प्रत्याक्रमणको शृंखला १ सयौं दिनसम्म पनि चलिरहेको छ । पश्चिम एसियामा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा इरानले ठूलो क्षति पुर्याइरहेको छ । त्यस्तै, हर्मुजको जलमार्गमा नियन्त्रण कायम राख्दा विश्वव्यापी रूपमा कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यवृद्धि तथा संकट गहिरिएको छ । वासिङ्टन र तेहरानबीच अप्रिलमा युद्धविराम गर्ने सहमति भएको थियो । ११ र १२ अप्रिलमा दुई देश पाकिस्तानको इस्लामाबादमा प्रत्यक्ष रूपमा वार्ताको टेबुलमा बसे । तर, उक्त वार्ता सफल हुन सकेन । त्यसयता, शान्ति सम्झौताका लागि लगातार प्रयास हुँदै आए पनि यसले सार्थकता पाउन सकेको छैन ।
इरानभन्दा धेरै जनता लेबनानमा मारिएका छन् । इरानमाथि भएको आक्रमणको विरोधमा २ मार्चमा लेबनानको विद्रोही संगठन हिजबुल्लाहले इजरायलविरुद्ध युद्ध सुरु भएको घोषणा गर्दै मिसाइल प्रहार गरेको थियो । त्यसयता, इजरायलले लेबनानमा लगातार आक्रमण गरिरहेको छ । प्रारम्भिक आँकडाअनुसार अहिलेसम्म लेबनानमा कम्तीमा ३ हजार ५ सय ९३, इरानमा ३ हजार ४ सय ६८, खाडी देशमा २९ जना, इजरायलमा २६ जना र १३ अमेरिकी सैनिकले युद्धमा ज्यान गुमाइसकेका छन् ।
अवस्था परिवर्तन भइरहेको, आक्रमण–प्रत्याक्रमणको शृंखला चलिरहेको र नयाँ–नयाँ जानकारी बाहिरिरहेको अवस्थामा यो तथ्याङ्कमा फेरबदल हुन सक्छ । विशेषगरी, दक्षिण लेबनानमा इजरायलले लगातार सार्वजनिक पूर्वाधार र सर्वसाधारण बस्ने घरहरूमा आक्रमण गरिरहेको छ । लेबनानको झन्डै २० प्रतिशत भूभाग उसले कब्जा गरिसकेको छ । १७ अप्रिलमा लेबनान–इजरायलबीच लागू भएको युद्धविराम व्यवहारमा कार्यान्वयन भएको छैन ।
झन्डै १० लाख मानिस लेबनानबाट विस्थापित भइसकेका छन् । १ जुनमा इजरायली फौज दक्षिण लेबनानको दक्षिणी नाबाटिय सहरसम्म पुगेको थियो । उनीहरूले ब्युफोर्ट किल्ला कब्जा गरे । जो, विगत २५ वर्षयताकै इजरायलको सबैभन्दा ठूलो भूमि कब्जा हो । युद्धको प्रारम्भिक दुई साताभित्र अमेरिकी–इजरायली आक्रमण र बम वर्षाका कारण कम्तीमा ३० लाखभन्दा बढी इरानी जनता आन्तरिक रूपमा विस्थापित भएका थिए ।
हर्मुजमा इरानले नियन्त्रण कायम गरेकाले ठूलो संख्यामा जहाजहरू अलपत्र परे । २८ फेब्रुअरीदेखि मे ३१ को अवधिमा प्रतिदिन औसतमा ७ वटा जहाज मात्रै यहाँबाट निस्कन पाए । जबकि, युद्धअघि यहाँबाट दैनिक १ सय जहाज बाहिरिने गरेका थिए । १२ अप्रिलमा वार्ता असफल भएपछि अमेरिकाले पनि इरानको तेल निर्यातलाई प्रभावित पार्ने गरी यहाँ नाकाबन्दी लगाएको छ । इरानका बन्दरगाहनजिक ठूलो संख्यामा अमेरिकी सैनिक तैनाथ छन् ।
विश्वको झन्डै २० प्रतिशत कच्चा तेल तथा प्राकृतिक ग्यास बाहिरिने क्षेत्रमा भएको यो अवरोधका कारण विश्वका १ सय ४६ देशमा पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार अहिलेको अवरोध इतिहासकै सबैभन्दा ठूलो ऊmर्जा संकट हो । युद्ध सुरु हुनअघि ब्रेन्ट त्रुड (पेट्रोलको मूल्यको अन्तर्राष्ट्रिय बेन्चमार्क ) झन्डै ७० डलर प्रतिब्यारेल आसपास कारोबार भइरहेको थियो । युद्ध सुरु भएको एक सातापछि मूल्य प्रतिब्यारेल १ सय डलर नाघ्यो । अप्रिलको अन्त्यमा उच्च बिन्दुमा १ सय २६ डलर प्रतिब्यारेलसम्म कारोबार भयो । अहिले ९३ डलर आसपास कारोबार भइरहेको छ । यस अवधिमा ट्रम्पले सामाजिक सञ्जालमार्फत शान्तिवार्ता सफल हुने संकेत गर्नासाथ मूल्य घट्ने र थप आक्रमणको घोषणा गर्नासाथ मूल्यवृद्धि हुने गरेको देखियो । हर्मुज हुँदै आउने तेलमा एसियाली देशहरू सबैभन्दा धेरै निर्भर छन् । त्यहीकारण सबैभन्दा ठूलो इन्धन संकट यही क्षेत्रमा देखियो ।
यसैबीच, अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाएको छ । यो घटनालाई पश्चिम एसियामा जारी तनाव र कमजोर हुँदै गएको युद्धविरामको बीचमा भएको थप ठूलो तनावको रूपमा हेरिएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल ‘एक्स’ मा दिएको जानकारीअनुसार शुक्रबार अमेरिकी सेनाले इरानतर्फ प्रक्षेपण गरिएका चारवटा एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालेको थियो । ती ड्रोनले होर्मुज जलडमरू क्षेत्रमा रहेको समुद्री यातायातका लागि तत्काल खतरा उत्पन्न गरेको दाबी गरिएको छ ।
सेन्टकमका अनुसार उक्त घटनापछि अमेरिकी सेनाले इरानको गोरेक र क्वाश्म टापुमा रहेका तटीय निगरानी रडार साइटहरूलाई निसाना बनाएर आक्रमण गरेको हो । अमेरिकी पक्षले यो कदम सम्भावित थप आक्रमण रोक्न गरिएको बताएको छ । यसैबीच, इरानका सर्वोच्च नेता आयातुल्लाह अली खोमेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले एक अन्तर्वार्तामा अमेरिका–इरानबीचको सम्भावित शान्ति सम्झौता अहिले स्थगित अवस्थामा रहेको बताएका छन् । उनका अनुसार अमेरिका सरकारले करिब २४ अर्ब अमेरिकी डलर बराबरको इरानको सम्पत्ति फुकुवा गर्नुपर्ने विषयले वार्तालाई प्रभावित बनाएको छ ।
रेजाईले वार्ता अवरुद्ध भएमा स्थिति अझ गम्भीर हुने चेतावनी दिएका छन् । वार्ता पुनः अघि बढाउन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहल गर्नुपर्ने उनले बताएका छन् । अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले एनबीसी न्यूजसँगको अन्तर्वार्तामा इरानी नेतृत्वसँग युद्ध अन्त्य गर्ने कुनै सहमति नभएको बताएका छन् । उनले इरानसँग विकल्प सीमित रहेकाले अन्ततः वार्ताको टेबुलमा आउने दाबी गरे । यसैबीच, ट्रम्पले युद्ध सुरु भएयता इरानसँग रहेका मिसाइल क्षमताको करिब २१ देखि २२ प्रतिशत मात्र बाँकी रहेको विश्वास व्यक्त गरेका छन् ।
