न्यायाधीश एमी लीले ३० नोभेम्बर २०२४ मा नर्थ क्यारोलिना राज्यको शार्लोट सहरमा भएको सामूहिक गोलीकाण्डमा १७ वर्षको उमेरमा ज्यान गुमाएका लेभी मेन्डेज माल्डोनाडोलाई अमेरिकाबाट निष्कासनको फैसला सुनाएकी हुन् ।
अमेरिका — अमेरिकी अदालतले नौलो फैसला सुनाएको छ । सुन्दा नौलो लाग्ने अदालतको फैसला अहिले अमेरिकाभर चर्चाको विषय बनेको छ । नर्थ क्यारोलिना राज्यको चारलोट सहरको अदालतले मे २१ मा २ वर्षअघि नै मृत्यु भइसकेका एक पुरुषलाई अमेरिकाबाट निष्कासनको आदेश सुनाएको हो ।
न्यायाधीश एमी लीले ३० नोभेम्बर २०२४ मा नर्थ क्यारोलिना राज्यको शार्लोट सहरमा भएको सामूहिक गोलीकाण्डमा १७ वर्षको उमेरमा ज्यान गुमाएका लेभी मेन्डेज माल्डोनाडोलाई अमेरिकाबाट निष्कासनको फैसला सुनाएकी हुन् । २०२४ मै मृत्यु भइसकेको माल्डोनाडो अदालतमा उपस्थित नभएको भन्दै न्यायाधीश एमीले निष्कासनको आदेश सुनाएकी थिइन् ।
होन्डुरस नागरिक माल्डोनाडो १७ वर्षको उमेरमा एक्लै अमेरिका आएका थिए । माल्डोनाडोले शरणार्थीका रूपमा अमेरिकामा बसोबासको माग गर्दै अदालतमा एसाइलम फाइल गरेका थिए । उनको मुद्दा अदालतमा विचाराधीन थियो । उनको मुद्दाको प्रक्रियाका क्रममा अदालतले उपस्थितका लागि बोलाउँदा नआएको भन्दै मृत्यु भइसकेको जानकारी पाएकै अवस्थामा निष्कासनको फैसला सुनाएको द गार्जियनले उल्लेख गरेको छ । माल्डोनाडो पेसाले मेकानिक र एक सन्तानका पिता थिए ।
अध्यागमन नियम २३९(२) बमोजिम आवेदकको मृत्यु भएको खण्डमा मुद्दा स्वतः खारेज गर्न सकिने स्पष्ट प्रावधान छ । तर न्यायाधीश एमीले फैसलामा ‘लिखित सूचना दिँदादिँदै पनि प्रतिवादी अदालतमा उपस्थित नभएको र अनुपस्थित हुनुको कुनै विशेष कारण पनि पेस नगरिएकाले अदालतले उनको अनुपस्थितिमै सुनुवाइ प्रक्रिया पूरा गरेको हो’ भन्दै निष्कासनको आदेश सुनाएको द गार्जियनले लेखेको छ ।
