बुधबार राति भएको मतदानमा चार जना रिपब्लिकन सांसदहरू डेमोक्र्याटहरूसँग मिलेर प्रस्तावको पक्षमा उभिएपछि यो २१५–२०८ मतले पारित भएको हो।
काठमाडौँ — अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको स्वीकृतिबिना इरानमाथि सैन्य आक्रमण गर्ने अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको छ।
बुधबार राति भएको मतदानमा चार जना रिपब्लिकन सांसदहरू डेमोक्र्याटहरूसँग मिलेर प्रस्तावको पक्षमा उभिएपछि यो २१५–२०८ मतले पारित भएको हो।
यो प्रस्ताव कानुन बन्ने सम्भावना कम भए पनि फेब्रुअरी २८ मा ट्रम्पले इजरायलसँग मिलेर इरानमाथि आक्रमण गर्ने निर्णयविरुद्धको कडा राजनीतिक सन्देशका रूपमा हेरिएको छ। यो युद्ध शनिबार १००औँ दिनमा प्रवेश गर्नेछ।
ट्रम्पले युद्धका लागि कंग्रेसको स्वीकृति लिएका थिएनन्। उनले यसलाई ‘छोटो अवधिको सैन्य अभियान’ भनेर व्याख्या गर्ने प्रयास गरेका छन्।
विदेशमा सैन्य शक्ति प्रयोग गर्ने ट्रम्पको दोहोरिएको कदमले कंग्रेसका केही सदस्यहरूलाई असन्तुष्ट बनाएको छ। अमेरिकी संविधानअनुसार युद्ध घोषणा गर्ने अधिकार कंग्रेससँग मात्र छ।
यस वर्ष प्रतिनिधिसभाले ट्रम्पलाई इरानविरुद्धका सैन्य कारबाहीका लागि कंग्रेसको समर्थन लिन बाध्य पार्ने युद्ध अधिकारसम्बन्धी प्रस्तावमा मतदान गरेको यो चौथो पटक हो।
तर पहिलोपटक उक्त प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको हो। यसअघि रिपब्लिकन नेतृत्वले प्रस्ताव रोक्न प्रयास गरेको आरोपसमेत लागेको थियो।
