नयाँ दिल्लीस्थित होटलमा आगो लाग्दा कम्तीमा २१ जनाको मृत्यु

मृतकमध्ये १७ जना विदेशी नागरिक हुन् ।

जेष्ठ २०, २०८३

कान्तिपुर संवाददाता

At least 21 dead in New Delhi hotel fire

काठमाडौँ — भारतको नयाँ दिल्लीस्थित एक होटलमा आगो लाग्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ जना विदेशी नागरिक छन् ।

दक्षिण दिल्लीको मालभिया नगरस्थित  फ्लरिस स्टे नामक होटलमा रहेको रेस्टुरेन्टमा बिहान ८:५० मा आगो सल्केको अधिकारीहरुले बताएका छन् । उक्त आगो होटलका कोठासम्मै फैलिएको थियो । यस होटलमा ठूलो संख्यामा विदेशी आउने गर्छन् ।

घटनापछि सार्वजनिक भिडियोमा ज्यान जोगाउनका लागि मानिसहरू तेस्रो र चौथो तलासम्म कुदिरहेको देखिन्छ । यी मानिसहरुलाई जोगाउनका लागि स्थानीयले भुइँमा गद्दा पनि बिछ्याइदिएका छन् । 

४० जनाको उद्धार भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । कतिपयको अवस्था गम्भीर छ ।

दिल्ली अग्‍निनियन्‍त्रक सेवाका अनुसार प्रारम्भिक अनुसन्धानले उक्त आगो भुइँतलामा रहेको भर्याङ नजिकैबाट सुरु भएको हुनसक्ने संकेत गरेको छ । झ्यालहरू बन्द गरिएकाले गर्दा मानिसहरूलाई बाहिर निस्कने बाटोमा समस्या भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले आगलागीको वास्तविक कारण बिस्तृत फरेन्सिक अनुसन्धानपछि मात्र पत्ता लाग्ने बताएका छन् । उद्धार कार्यका क्रममा अग्‍नि नियन्‍त्रकहरूले भवन परिसरमा एलपीजी सिलिन्डरहरू पनि फेला पारेका थिए ।  

कान्तिपुर

Link copied successfully