ट्रम्पको चेतावनीपछि पनि रोकिएन दक्षिण लेबनानमा इजरायलको आक्रमण

दक्षिण लेबनानमा इजरायलको ड्रोन आक्रमणमा मंगलबार आठजनाको मृत्यु भएको छ । एकै परिवारका तीनजना (बाबु, छोरा र छोरी) यस आक्रमणमा मारिएका छन् ।

जेष्ठ १९, २०८३

एजेन्सी

Israel's attack on South Lebanon continues despite Trump's warning

काठमाडौँ — दक्षिण लेबनानमा इजरायलको ड्रोन आक्रमणमा मंगलबार आठजनाको मृत्यु भएको छ । एकै परिवारका तीनजना (बाबु, छोरा र छोरी) यस आक्रमणमा मारिएका छन् ।

यसअघि सोमबार इजरायलले बेरुतका दक्षिण क्षेत्रहरुमा आक्रमण गर्ने चेतावनी दिएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग टेलिफोनमार्फत कुराकानी गर्दै आक्रमण रोक्न दबाब दिएका थिए । त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमा बेरुतमाथि कुनै आक्रमण नहुने बताएका थिए । 

‘नेतान्याहूसँग मेरो निकै राम्रो र परिणाममुखी फोन सम्पर्क भएको छ । कोही पनि सैनिक बेरुत जाने छैनन् र  बाटोमा रहेकाहरु पनि फर्कन थालिसकेका छन्,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका थिए । उनले लेबनानी  सशस्त्र समुह हिजबुल्लाहसँग पनि मध्यस्थकर्ताहरूमार्फत अप्रत्यक्ष कुराकानी गरेका थिए ।  नेतान्याहुले ट्रम्पसँग यस विषयमा संवाद भएको पुष्टि गरेका थिए । तर, हिजबुल्लाहले आक्रमण नरोकेमा बेरुतमाथि अझै कडा आक्रमण गर्ने चेतावनी ट्रम्पसँगको टेलिफोन वार्तामा  दिइएको बताएका थिए ।

इजरायली सेनाले दक्षिणी लेबनानमा योजना अनुसार नै आफ्नो कारबाही जारी राख्ने पनि नेतान्याहुले बताएका थिए । हिजबुल्लाहले भने यस विषयमा तत्कालै कुनै प्रतिक्रिया दिएको छैन । लेबनान र इजरायलबीच मंगलबार र बुधबार वासिङ्टनमा वार्ता समेत तय भइसकेको छ । तर, यी सबै परिस्थितिका बाबजुद इजरायलले लेबनानमाथिको आक्रमण र घुसपैठ बन्द गरेको छैन ।

मंगलबार दक्षिण बेरुतबाट ठूलो संख्यामा मानिसहरु एकैपटक बाहिरिदाँ सडक लामो समय जाम भएको थियो । २३ वर्षका मोहम्मद फार्हतले आफ्ना दाजु र आमा–बुबासँगै हरेत ह्रिकबाट उत्तरतर्फको छिमेकी गाउँमा बसाईँ  सरेको बताए । 

लेबनानमा इजरायली सेनाले गरेको २६ वर्षयताकै ठूलो घुसपैठका क्रममा झन्डै १२ लाख मानिस बिस्थापित भइसकेका छन् ।  अहिलेसम्म ३३ सयभन्दा धेरैले इजरायलको आक्रमणमा ज्यान गुमाइसकेका छन् । आइतबार इजरायली सेनाले ब्युफोर्ट क्यासल कब्जा गरेको थियो ।  यसको चौतर्फी विरोध भइरहेको छ । 

इजरायलको बढ्दो आक्रमणले लेबनानमा मानवीय आपत्काल बढ्नसक्ने चेतावनी सोमबार विश्व खाद्य कार्यक्रमले दिएको छ । संयुक्त राष्ट्रसंघले अवस्था निकै खतरापूर्ण रहेको जनाएको छ । 

‘दक्षिण लेबनान र आसपासका क्षेत्रमा बढिरहेको सैन्य गतिविधिले हामीलाई चिन्नित बनाएको छ,’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसका प्रवक्ता स्टेफाने डुजार्रिकले सोमबार भने,‘ हामी सबै पक्षलाई  थप लडाँइ हुन नदिनका लागि  शत्रुता त्याग्न आग्रह गर्दछौं ।’

सोमबार फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोले दक्षिणी लेबनानमा भइरहेको ठूलो तनावलाई कुनै पनि कुराले न्यायोचित ठहर गर्न नसक्ने बताएका थिए । उनले तत्कालै युद्ध अन्त्य गर्न माग गरे । त्यस्तै, बेलायत र जर्मनीका विदेशमन्त्रीले पनि लेबनानमा भइरहेको इजरायली आक्रमणको निन्दा गरेका थिए । 

साउदी अरेबियाको विदेश मन्त्रालयले इजरायललाई लेबनानका भित्री भूभागमा अघि बढ्नबाट रोक्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेको छ ।

इरानले लेबनानमाथि आक्रमण जारी रहेमा अमेरिकासँगको वार्ता प्रक्रिया नै भंग हुने चेतावनी दिएको थियो । त्यस्तै, इजरायलमाथि प्रत्याक्रमण गरिने चेतावनी इरानी संसद्का सभामुख महोम्मद बागर गालिबाफले दिएका छन् । लेबनानमाथिको इजरायली आक्रमणको विरोधस्वरुप मंगलबारका लागि अमेरिकासँग तय भएको उच्चस्तरीय भेट समेत इरानी प्रतिनिधिमण्डलले बहिस्कार गरेको इरानी सरकारी मिडियाहरुले जनाएका थिए । ‘इरानी मध्यस्थकर्ता टोलीले संवादलाई स्थगित गर्नेछ र मध्यस्थतामार्फत पत्रहरु आदनप्रदान पनि रोकिनेछ,’ इरानको अर्धसरकारी तास्निम न्युज एजेन्सीले जनाएको थियो । 

इरानसँगको शान्तिवार्तामै असर गर्ने देखिएपछि ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई फोन गरेर लेबनानमा आक्रमण बन्द गर्न दबाब दिएका थिए । उनले फोनवार्ताका दौरान नेतान्याहूलाई अपशब्द र गालीगलौज गरेको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् । दुई अमेरिकी अधिकारी र उक्त फोन वार्ताबारे जानकारी पाएका तेस्रो स्रोतले यस विषय पुष्टि गरेको अमेरिकी सञ्चारमाध्यम ‘एक्सियोस’ मा उल्लेख छ । 

‘लेबनानमा लगातार आक्रमण गरेर नेतान्याहुले इरानसँग भइरहेको आफ्नो वार्तालाई नै असफल बनाउन खोजेको आरोप ट्रम्पले लगाएका थिए । यस टेलिफोन कुराकानीपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा इरानसँगको वार्तामा द्रूत प्रगति भइरहेको उल्लेख गरेका छन्,’ एक्सियोसमा उल्लेख छ, ‘स्रोतका अनुसार टेलिफोन कुराकानीका क्रममा ट्रम्पले नेतान्याहुलाई पागल र गुन नदेख्ने मानिसको आरोप लगाएका थिए ।’

‘बेरुतमा आक्रमण गर्ने इजरायलको योजनामा पनि उनले ब्रेक लगाइदिए । नेतान्याहुको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा आफूले पुर्‍याएको समर्थन स्मरण गराउँदै ट्रम्पले नेतन्याहुलाई जेल जानबाट जोगाउन सहयोग गरेको  दाबी समेत गरेको दुई स्रोतले एक्सियोसँग बताएका छन् ।’ 

एक अर्का अमेरिकी अधिकारीका अनुसार इजरायलले लेबनानमा ठूलो संख्यामा सर्वसाधारण मारेको विषयलाई लिएर पनि ट्रम्प चिन्तित थिए । हिजबुल्लाहको एउटा कमाण्डरलाई सिध्याउने नाममा  इजरायलीहरूले सिङ्गो भवनहरू नै ढाल्ने गरेको कुरामा उहाँले आपत्ति जनाए । ट्रम्प र नेतन्याहुबीच विगतमा पनि धेरै पटक तनावपूर्ण फोन कुराकानीहरू भएका छन ।  तर, पनि उनीहरूले इरान र अन्य मुद्दाहरूमा सँगै मिलेर काम गरिरहेका छन् । एक अमेरिकी अधिकारीका अनुसार ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएयता नेतान्याहूसँग यति तिक्ततापूर्ण फोन वार्ता भएको थिएन । 

इजरायल र हिजबुल्लाहबीचको तनाव कम गर्ने लक्ष्यले १६ अप्रिलदेखि अमेरिकाको मध्यस्थतामा युद्धविराम भएको थियो । तर दुबै पक्षले युद्धविराम पालना गरेनन् । 

एजेन्सी

Link copied successfully